Comments Add Comment

जब डेजी बराइलीकै अघि विमोचनाले ‘छोरा चाही हे माया’ गाइन्…

४४ बर्ष अगाडि गायिका डेजी बराइलीले ‘छोरा चाही हे माया’ बोलको गीत रेकर्ड गराएकी थिइन् । यो गीत विश्वभरका नेपालीले मन पराए । आज पनि यो गीतलाई मन पराउने श्रोताको संख्या उस्तै छ । तर, यही गीत ४४ बर्षपछि ‘दि भ्वाइस अफ नेपाल’को स्टेजमा गुञ्जिएको छ । गायिका डेजी बराइलीले यो गीत स्टेजमा फेरि प्रस्तुत गर्दा दर्शक र यो शोका कोचहरु विगतमा फर्किए ।

डेजी बराइलीकी छोरी विमोचना लोम्जेलले ‘दि भ्वाइस अफ नेपाल’को स्टेजमा यो गीत गाएकी थिइन् । यो गीत गाउँदा चारै जना कोचले कुर्सी घुमाएका छन् । स्टेजमा डेजी बराइली आफैले पनि यो गीत गाएकी थिइन् । ४ जना कोचले नै स्वर मन पराउँदा विमोचना भावूक बनिन् । उनका आँखा रसाएका थिए । ‘दि भ्वाइस अफ नेपाल’को दशौं भागमा सहभागी भएकी विमोचनाले कोच प्रमोदलाई रोजेकी छिन् ।

यस्तै, ‘दि भ्वाइस अफ नेपाल–२’को दशौं भागमा धरानबाट सहभागी भएका अमित राइले कोच प्रमोदलाई रोजेका छन् । यस्तै, झापाबाट सहभागी भएका बलबहादुर राजवंशीले पनि प्रमोदलाई नै कोचका रुपमा रोजेका छन् ।

सिन्धुपाल्चोकबाट आएकी संझना तामाङले भने कोच राजु लामालाई आफ्नो कोचको रुपमा रोजेकी छिन् । यस्तै, नुवाकोटबाट सहभागी भएका पृथ्वी खनालले दीप श्रेष्ठलाई कोचको रुपमा रोजेका छन् । सानेपाका अनिष महर्जनका लागि भने कोच आस्था राउतले मात्रै कुर्सी घुमाएकी थिइन् ।

अहिले ‘दि भ्वाइस अफ नेपाल’को ब्लाइन्ड अडिसन चलिरहेको छ । ब्लाइन्ड अडिसन रोमान्चक बन्दै जाँदा राम्रा प्रतिस्पर्धीलाई आफूतिर आकर्षित गर्न कोचहरु पनि लागिपरेका छन् । ‘दि भ्वाइस अफ नेपाल’मा यसपटक कोचको रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत छन् ।

हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजे यो शो प्रशारण भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment