Comments Add Comment

लालबाबु भन्छन्- मन्त्रीनिवास कति फोहोर छ, गृहमन्त्रीलाई सोधे हुन्छ !

'स्थायी कर्मचारीले मात्र मुलुक चल्दैन, साँचो लिएर ड्राइभर हिँड्छन्'

३० भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित रमाइलो गफ गर्नमा प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा कम छैनन् । सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा स्थायी भर्सेस अस्थायी कर्मचारीहरुबारे भएको छलफलमा मन्त्री पण्डितले निकै रमाइला टुक्का सुनाए ।

निजामति सेवालाई स्थायी सरकारका रुपमा लिइन्छ । तर, स्थायी मानिने निजामति सेवाभित्र अस्थायी कर्मचारी रहने व्यवस्था कति ठीक होला ? सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे गर्मागर्मी बहस चलेको थियो ।

समितिका अधिकांश सांसदहरु सबै अस्थायी कर्मचारीलाई स्थायी बनाउनुपर्ने अडानमा थिए । तर, मन्त्री पण्डितले चाहिँ स्थायी कर्मचारीले मात्र देश नचल्ने बताउँदै पुल्चोकस्थित मन्त्रीनिवासको फोहोर हेर्न जान सांसदहरुलाई आग्रह गरे ।

मन्त्री पण्डितले स्थायी कर्मचारीले मात्रै मुलुक नचल्ने बताउँदै भने, ‘अब मुलुकमा निजामतिमा स्थायी कर्मचारीबाहेक हुँदैन भन्ने हो भने मुलुक अगाडि बढ्ने सम्भावना हुँदैन । मन्त्री क्वार्टरमा कति फोहोर छ, हेर्न गए हुन्छ । त्यहाँ सरसफाइको निरीक्षणका निम्ति मात्रै कतिजना कर्मचारीले तलब खाइरहेका छन ? सरसफाईमा कति खटिएका छन् ? पीडा माननीय गृहमन्त्री ज्युसँग सोध्दा हुन्छ, अवस्था कस्तो छ ।’

स्थायी, अस्थायी, करार आवश्यकता अनुसार लिन सकिने ब्यवस्था ऐनमा राख्नैपर्ने भन्दै मन्त्री पण्डितले वीर अस्पताल र सिभिल अस्पतालको पनि उदाहरण दिए । उनले भने, ‘वीर अस्पतालमा सबै कर्मचारी स्थायी छन्, त्यहाँको सरसफाइको अवस्था हेर्दा हुन्छ । अनि सिभिल अस्पतालमा सबै कर्मचारी करारमा छन्, त्यहाँको सरसफाइको अवस्था हेर्दा हुन्छ ।’

जहाँ करारमा कर्मचारी खटिएका छन्, त्यहाँ सरसफाइ राम्रो भएको र स्थायी कर्मचारी मात्र खटिएका ठाउँमा फोहोर थुपि्रएको मन्त्री पण्डितको आशय थियो ।

मन्त्री पण्डितले समितिको बैठकमा ०४८ सालको पुरानो कथा पनि सुनाए । ड्राइभरले मन्त्रीलाई गाडीमा थुनेको घटना सम्भिmँदै उनले भने, ‘कतिपय ०४८ सालतिरका सांसद पनि हुनुहुन्छ होला, सिनामंगलमा मन्त्रीज्युलाई गाडीमा राखेर साँचो लिएर ड्राइभर हिँडेको सम्झना होला । सिंहदरवार आएपछि उसलाई खोज्न अर्को कर्मचारी भर्ना गर्नुपर्ने स्थिति …।’

सवारी चालक, इलेक्टि्रसियन, प्लम्बर, माली, सरसफाई गर्ने कर्मचारीका सबै पदहरु ०४८ अघिसम्म स्थायी नै रहेको तर अस्थायी कर्मचारीबाट काम लिनै गाह्रो भएपछि अस्थायी, करार र ज्यालादारीमा लिन थालिएको मन्त्री पण्डितले सुनाए ।

अस्थायी, करार, ज्यालादारी र ठेकेदारी सबै कर्मचारीलाई स्वतः स्थायी गर्नुपर्छ भन्ने माग आफूसमक्ष आएको उल्लेख गर्दै मन्त्री पण्डितले मुलुकलाई सफल बनाउने वा असफल बनाउने भन्ने ख्याल गरेर समितिले निर्णय लिनुपर्ने बताए ।

स्थायी कर्मचारीले आफ्नो निजी मोवाइल समेत उठाउन अन्कनाउने गरेको मन्त्री पण्डितले गुनासो पोखे । ‘मोबाइल छ नि ?’ भन्दा कर्मचारीले मेरो मोबाइल तपाईको फोन उठाउनको निम्ति होइन भन्ने जवाफ दिने गरेको मन्त्री पण्डितले सांसदहरुलाई सुनाए ।

सबै अस्थायी कर्मचारीलाई स्थायी बनाउनुपर्ने सांसदहरुको जोड

सवारी चालक, इलेक्टि्रसियन, प्लम्बर, माली, सरसफाई गर्ने कर्मचारी जस्ता निजामतिभित्रकै पदहरु अस्थायी छन् । हालको यो ब्यवस्थालाई सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमार्फत निरन्तरता दिन खोजेको छ । तर, सांसदहरुले यसको विरोध गरेका छन् । हाल सेवारत अस्थायी प्रकृतिका सबै पदहरुलाई स्थायी गर्नुपर्ने सांसदहरुको तर्क र स्थायी कर्मचारीले मात्रै मुलुक नचल्ने सरकारको अडानका कारण राज्य व्यवस्था समिति अनिणिर्त छ ।

सोमबार समितिको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी सांसद पम्फा भुसालले अस्थायी प्रकृतिका पदहरुमा आवश्यकता भन्दा धेरै कर्मचारीहरु रहेको भन्दै त्यसलाई रोक्न सबै पदहरुलाई स्थायी गर्नुपर्ने बताइन् ।

नेपाली कांग्रेसका सांसद दिलेन्ऽप्रसाद बडूले अस्थायी कर्मचारीहरु शोषणमा पर्ने गरेको भन्दै त्यसको अन्त्यका लागि निजामतिमा सबै कर्मचारीलाई स्थायी गरिनुपर्ने धारणा राखे ।

समितिका सदस्यहरु मीना पाण्डे, डिला संग्रौला, रेखा शर्मा, महेश्वरजंग गहतराज, नवराज सिलवाल, छक्कबहादुर लामा लगायतले पनि सरकारी कार्यालयहरुमा श्रेणीबिहीन कर्मचारी करारमा वा अस्थायी पदमा राख्न नहुनेमा जोड दिए ।

नेकपाका सांसद झपट रावलले नासु भन्दा तलका सबै पद खारेज गर्नुपर्ने बताए । उनले भने, ‘नासुभन्दा तलका सबै पद खारेज गरौं, त्यसको काम छैन ।’

पत्रिकामा उल्टो सुल्टो आउँछ – पण्डित

संघीय मामिलामन्त्री पण्डितले सांसदहरुलाई पत्रिकाको समाचार पढेर धारणा नबनाउन सुझाए । सञ्चार माध्यममा कुरै नबुझेरै उल्टासुल्टो लेखिएको हुन सक्ने भन्दै मन्त्री पण्डितले त्यसका आधारमा धारणा नबनाउन र सरकारको कुरा राम्रोसँग सुन्न सुझाए ।

समिति सदस्य डिला संग्रौलाले सरकारले लोकसेवा आयोगलाई छलेर एक हजार कर्मचारी भर्ना गर्न लागेको भन्ने मिडियामा आएको भन्दै प्रश्न गरेकी थिइन् । जवाफमा मन्त्री पण्डितले भने, ‘पत्रिकामा कुरै नबुझेरै उल्टासुल्टा लेखिएको हुन्छ, त्यसका आधारमा धारणा नबनाउनुस्, हाम्रो कुरा राम्रोसँग सुने भइहाल्छ ।’

गत भदौ २२ गते बसेको मन्त्रिपरिषदको बैठकले बिभिन्न मन्त्रालय तथा निकाय अन्तर्गतका आयोजना/परियोजना लागि ८५३ दरबन्दी स्वीकृत गरेको थियो । तर, त्यो विषय नबुझीकन पत्रिकाले नयाँ नियुक्ति भनेर लेखिदिएको मन्त्री पण्डितको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment