Comments Add Comment

मन्त्री भट्टराईको ढिलाइ एक घन्टा कि १५ मिनेट ?

विमानस्थल प्रमुख भन्छन्ः अचम्ममा परेँ

२९ भदौ, काठमाडौं । शनिबार राती एकाएक एउटा भिडियो सार्वजनिक भयो । भिडियोमा जहाजको सीटमा बसेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि केही युवाहरुले आक्रोस व्यक्त गरिरहेको देखिन्छ ।

यो नेपालगञ्ज एयरपोर्टबाट उड्न ठिक परेको बुद्ध एयरको विमानभित्रको दृष्य हो । मन्त्री भट्टराईका कारण १ घण्टा जहाजमा कुर्नुपरेको भन्दै युवाहरुले हंगामा मच्याएका थिए । मन्त्री भट्टराई काठमाडौं आइसकेपछि सामाजिक सञ्जालमा स्पष्टिकरण दिए । आफ्नो कारणले १५ मिनेट ढिलाइ भएको भन्दै उनले क्षमा मागेका छन् ।

भिडियोमा १ घण्टा कुराएको आरोप लगाइएको छ भने मन्त्री भट्टराईले भने आफू १५ मिनेट मात्र ढिला आइपुगेको बताएका छन् । यसको वास्तविकता के हो त ? बुद्ध एयरले यसबारे औपचारिक रुपमा केही बोलेको छैन । हामीले नेपालगन्ज विमानस्थलका प्रमुख र बुद्ध एयरसँग यसबारे बुझ्ने कोसिस गरेका छौं ।

नेपालगन्ज विमानस्थल प्रमुख प्रेम ठाकुरले अनलाइनखबरसँग बुद्ध एयर अवतरणदेखि नेपालगन्जबाट उडेको समयसम्म उपलब्ध गराए । त्यसअनुसार नेपालगन्जमा बुद्ध एयरको जहाज साँझ ६ः११ मा अवतरण गरेको थियो । जहाज अवतरण गरिसकेपछि करीव ३०–३५ मिनेट जहाजमा भएका यात्रु झर्न, तेल राख्न र जहाज भित्र सरसफाईमा लाग्ने गर्छ । त्यसपछि यात्रु चढाउने काम सुरु हुन्छ ।

ठाकुरका अनुसार ६ः४८ मिनेट जाँदा सबै यात्रु जहाजमा चढेका थिए । त्यतिन्जेल मन्त्रीसहितको टोली विमानस्थल प्रवेश गरेको थियो । विमानस्थलको प्रक्रिया पूरा गर्दा केही ढिला भयो ।

यात्रु चढिसकेपछि करीव १०/१२ जनाको समूह जवर्जस्ती जहाजबाट बाहिर निस्किएर नाराबाजी गर्न लागे । बुद्ध एयर र नेपालगन्ज विमानस्थलका कर्मचारीले मन्त्री विमानस्थलभित्र आइसकेको भन्दै सबैलाई जहाजभित्र जान आग्रह गर्दा ‘मन्त्रीको चम्चा धेरै नबोल’ भन्दै उनीहरुले कर्मचारीलाई थर्काएका थिए । १०/१२ जना मानिस बाहिर झरेपछि उनीहरु भित्र पस्दा करीव ५/७ मिनेट लागेको ठाकुरले जानकारी दिए ।

उनका अनुसार ६ः५८ मा मन्त्री भट्टराईसहितको टोली सरासर जहाज भित्र छिरेको थियो । यसरी विशुद्ध मन्त्रीका कारणले चाहिँ करिब १० मिनेट मात्रै ढिलाई भएको विमान कम्पनीको दावी छ ।

६ः४८ मा यात्रुहरु चढिसकेपछि त्यसको पाँच–सात मिनेटमा जहाज उड्थ्यो, तर मन्त्री आउन ढिलाई र हुलहुज्जतले गर्दा ७ः०६ मा मात्रै उड्यो ।

ठाकुरको भनाइ अनुसार बुद्ध एयरको जहाज नेपालगन्जमा अवतरण गरी, इन्धन भरेर, सरसफाई गरेर, यात्रु ओरालेर, चढाएर सबै काम सकाउँदा पनि कूल १ घण्टा समय लागेको छैन ।

यो पनि पढ्नुहोस नेपालगञ्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईमाथि गालीगलौज

‘हामीले मन्त्री विमानस्थलभित्र आइसकेको भन्दा उल्टो तँ मन्त्रीको चम्चा भन्दै अपमानित गरियो । नियोजित रुपमा फँसाउन खोजेको देखिन्छ । हामीसँग समयको एक–एक रेकर्ड छ । प्लेनको भ्वाइस रेकर्ड छ । भोली अनुसन्धान भयो भने स–प्रमाण देखाउन सक्छौं,’ उनले भने ।

बुद्ध एयर के भन्छ ?

हामीले नेपालगन्जमा के भएको थियो भनेर बुद्ध एयरसँग बुझ्ने कोसिस ग¥यौं । नाम नबताउने शर्तमा कम्पनीका एक अधिकारीले भने, ‘बुद्ध एयर किन केही नबोलेको भनेर आइरहेको छ, हामीले जे बोल्नु पर्ने थियो, त्यो मन्त्रीज्यूको भनाईमा आइसकेको छ । हिजो १०–१५ मिनेट मन्त्री ज्यूको टोली जहाजभित्र छिर्न ढिला भएको हो । तर, त्यो पूर्वसूचना अनुसार थियो ।’

तर, यसअघि बुद्ध एयरले नै सञ्चारमन्त्री गोकुल बास्कोटा विमानस्थल आउन केही बेर ढिला हुँदा उनलाई छोडेर उडेको थियो । त्यतिबेला समयमा सम्झौता गर्न नमानेको बुद्ध एयर अहिले चाहिँ किन लचिलो भयो ?

यस विषयमा ती अधिकारीले भने, ‘त्यसदिन एक त मिसकम्यूनिकेशन भएको थियो, मन्त्रीज्यू काठमाडौं फर्कने वा भैरहवामै बस्ने स्पष्ट थिएन । त्यसमाथि मौसम खराब थियो, कारणवशः हामी बेलैमा उड्न सकेनौं भने जहाज भैरहवामै रोकिनु पर्ने अवस्था थियो । यसपालिको अवस्था त्यस्तो होइन ।

सुरक्षाकर्मी किन चुप ?

शनिबार योगेश भट्टराईपछिको उडानमा कांग्रेस सभापति शेरबहादुर देउवा थिए । उनी श्री एयरलाइन्सको जहाजबाट काठमाडौं आएका थिए । बुद्ध एयरमा केही यात्रुले नाराबाजी गरिरहँदा श्री एयरलाइन्स उक्त उडानपछि उड्ने लाइनमा थियो ।

सो घटनामा मन्त्रीका कारण सुरक्षाकर्मीले पनि संयमता अपनाएको विमानस्थल प्रमुख ठाकुर बताउँछन् ।

‘लगातार दुई उडानमा भिआइपीको सवारी थियो, सानो घटनाले पनि उग्ररुप लिन्छ भनेर मन्त्रीज्यूले संयमता अपनाउन आग्रह गर्नु भएको हो,’ उनले भने । मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाइका अनुसार मन्त्रीको सुरक्षामा खटिएका निजी सुरक्षाकर्मीले समेत होहल्ला गर्नेहरुलाई सम्झाउने प्रयास गरेका थिए । तर, उनीहरु सुन्ने पक्षमा भने थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment