News Summary
Generated by OK AI. Editorially reviewed.- पोर्चुगलमा रहेका नेपाली उद्योगी–व्यवसायीको सम्पर्क र समन्वयका लागि लिस्बनस्थित नेपाली राजदूतावासले तीन सदस्यीय समिति गठन गरेको छ।
- समितिमा पूर्णबहादुर हमाल, रोबर्ट लिम्बू र कमल भट्टराई रहेका छन्, र छिट्टै वृहत् भेला आयोजना गर्ने तयारी भएको छ।
- राजदूतावासको आयोजनामा भएको भेलामा ३५ भन्दा बढी उद्योगी–व्यवसायी सहभागी भएका थिए, र पोर्चुगलमा करिब ८० हजार नेपाली बसोबास गरिरहेको अनुमान छ।
२५ भदौ, लिस्बन (पोर्चुगल) । पोर्चुगलमा रहेर विभिन्न उद्योग तथा व्यवसाय सञ्चालन गरिरहेका नेपालीहरूको सम्पर्क तथा समन्वय समिति गठन भएको छ। लिस्बनस्थित नेपाली राजदूतावासको आयोजनामा भएको व्यवसायीहरूको भेलाले तीन सदस्यीय समिति गठन गरेको हो।
समन्वय समितिका सदस्यहरूमा पूर्णबहादुर हमाल, रोबर्ट लिम्बू र कमल भट्टराई रहेका छन्। उक्त समितिले छिट्टै नेपाली व्यवसायीहरूको वृहत् भेला आयोजना गरी सशक्त व्यावसायिक सञ्जाल निर्माण गर्ने राजदूतावासका प्रथम सचिव रामबाबु नेपालले जानकारी दिए।
पोर्चुगलमा उद्यम गरिरहेका नेपालीबीच सहकार्य, व्यावसायिक अनुभव र अवसरहरूको आदानप्रदान गर्न सञ्जालको आवश्यकता महसुस गरी दूतावासले यो पहल गरेको हो। नेपाली व्यवसायी संघ युरोपसँगको सहकार्यमा आयोजित उक्त बैठकमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, संघका सदस्य–सचिव मदन दवाडीसहित ३५ भन्दा बढी उद्योगी–व्यवसायीको सहभागिता थियो।

सञ्जाल सक्रिय भएसँगै नेपाली व्यवसायको प्रवर्द्धन, आपसी सहयोग, नयाँ व्यावसायिक अवसरहरूको पहिचान तथा संस्थागत क्षमता र पहुँचमा अभिवृद्धि हुने समितिका सदस्य हमालले बताए। यसअघि उनकै नेतृत्वमा पोर्चुगलमा ‘ग्लोबल नेप्लिज चेम्बर्स अफ कमर्स’ स्थापना भएको थियो।
सन् ९० को दशकबाट नेपालीहरूले बसोबास सुरु गरेको युरोपेली मुलुक पोर्चुगलमा हाल करिब ८० हजार नेपाली स्थायी तथा अस्थायी रूपमा बसोबास गरिरहेको अनुमान छ। जसमध्ये सयौँ नेपाली तथा नेपालीमूलका नागरिकहरूले पर्यटन, रेस्टुरेन्ट र कृषि क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका छन्।
प्रतिक्रिया 4