+
+
Shares
मध्यपूर्व तनाव :

नेपाली व्यवसायी ‘बिलखबन्द’ मा, ९० प्रतिशतसम्म घट्यो व्यापार

विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मानिने दुबईमा पर्यटक आगमन लगभग ठप्पजस्तै भएको छ । यसको प्रत्यक्ष असर होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी तथा ट्याक्सी व्यवसायमा निर्भर नेपालीहरूमा परेको छ ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ चैत ४ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मध्यपूर्वमा इजरायल–अमेरिका र इरानबीचको द्वन्द्वले नेपाली व्यवसायीहरूलाई आर्थिक संकट र डरको अवस्थामा पुर्‍याएको छ।
  • यूएईमा नेपाली व्यवसायीहरूले ९० प्रतिशत व्यापार घटेको र विदेशी लगानीकर्ता र ग्राहकहरू भागिसकेको बताएका छन्।
  • नेपाल सरकार, उद्योग वाणिज्य महासंघ र चेम्बर अफ कमर्सले मध्यपूर्वका नेपाली व्यवसायीको तथ्यांक संकलन गरी समस्या समाधान गर्नुपर्ने व्यवसायीहरूको माग छ।

४ चैत, काठमाडौं । मध्यपूर्व (पश्चिम एसिया) मा इजरायल–अमेरिका र इरानबीचको द्वन्द्वले त्यहाँको जनजीवन मात्र होइन, नेपाली व्यवसायीको अवस्था समेत जटिल बनाएको छ । यूएई, कतार, साउदी अरब लगायतका देशमा व्यापार, व्यवसाय गर्दै आएका नेपाली अहिले डर, अन्योलका साथै आर्थिक संकटको मारमा परिरहेका छन्।

ड्रोन तथा मिसाइल आक्रमणका कारण अमेरिकी सैन्य बेस वरपरको गतिविधि प्रभावित हुँदा श्रमिकलाई कम्पनीले बिदा दिन थालेका छन्, धेरैजसो कामदार त्रासका कारण घरमै बस्न बाध्य भएका छन् ।

पर्यटन क्षेत्र प्रभावित हुँदा यसको सबैभन्दा ठूलो असर दुबईमा देखिएको छ । विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मानिने दुबईमा पर्यटक आगमन लगभग ठप्पजस्तै भएको छ । यसको प्रत्यक्ष असर होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी तथा ट्याक्सी व्यवसायमा निर्भर नेपालीहरूमा परेको छ ।

‘९० प्रतिशत व्यापार घट्यो’ व्यवसायी

यूएईमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका एक नेपाली व्यवसायीले अहिलेको अवस्था ‘मर्नु न बाँच्नु’ जस्तै भएको बताए । ती व्यवसायीका अनुसार धेरै विदेशी लगानीकर्ता र सम्पन्न ग्राहकले यूएई छोडिसकेका छन् । ‘पहिलाको तुलनामा ९० प्रतिशत व्यापार घटिसकेको छ । बजार सुनसान छ,’ उनले भने, ‘जो छन्, उनीहरू पनि डर र त्रासमा छन् ।’

अमेरिका, अष्ट्रेलिया लगायतका देशहरूले आफ्ना नागरिकहरू फिर्ता लगिसकेको र बजार खाली भएको ती व्यवसायीको भनाइ छ । ‘यहाँको व्यवसाय छोडेर नेपाल फर्कन सक्ने स्थिति पनि छैन, ज्यान जोगाउनै संघर्ष गर्नुपरेको अवस्था छ, धेरै पीडादायी छ,’ ती व्यवसायीले भने, ‘मेरो पार्टनर अमेरिकाको सिटिजनसिप वाला मान्छे हो, उहाँ गइसक्नुभयो । लगानीका विषय एम्बेसीमा रेकर्ड राख्न आग्रह गर्नुहुन्छ ।’ आफ्ना नागरिकको पीडामा राज्य बलियो बनेर उभिनुपर्ने बताउँदै ती व्यवसायीले अहिले कुनै पनि निकायबाट केही सहयोग नमिलेको बताए ।

‘यहाँको विषयमा न चेम्बर अफ कमर्सले अहिलेसम्म बोलेको छ, न उद्योग वाणिज्य महासंघले बोलेको छ, सरकारले पनि मतलब गरेको छैन, न यहाँको कुनै सम्बन्धित निकायले हाम्रा आवाजहरू बुलन्द बनाएको छ’ उनले भने ।

ती व्यवसायीले यूएईको उद्यम विकासका लागि स्थापित ‘खलिफा कोष’ लाई पत्र लेखेको बताएका छन् । आफ्नो जीवनभरको कमाइ ‘व्यावसायिक यातना’ मा परिणत भएको उल्लेख गर्दै पत्र पठाएको तर, त्यसको जवाफ नआएको उनले बताए । आफूले यूएईको अर्थ मन्त्रालयलाई समेत मेल पठाएर प्रशासनिक अन्योल र बाह्य द्वन्द्वका कारण आफ्नो लगानी डुब्न लागेकाले उद्धार गरिदिन अपिल गरेका थिए । मन्त्रालयले उक्त मेलको जवाफमा ‘अर्थ मन्त्रालयको दायराभन्दा बाहिरको विषय’ भनेको थियो ।

उनले अन्य विभिन्न सरोकारवाला निकायसँग समेत व्यवसायीहरूले भोग्दै आएको पीडा र समस्याबारे अवगत गराएका थिए । तर, कतैबाट पनि सहयोग नमिलेको उनको भनाइ छ ।

आवाज उठाउन पनि डर

मध्यपूर्वका केही देशमा अभिव्यक्ति स्वतन्त्रता सीमित भएकाले व्यवसायीहरू खुलेर बोल्न समेत डराउने अवस्था रहेको ती देशमा रहेका नेपाली व्यवसायीहरूले बताएका छन् ।

यूएईमा रहेका अरु व्यवसायीले समेत उद्यम तथा व्यापारमा भएको लगानी जोखिममा रहेको बताएका छन् । यूएईमा उद्यम गरिरहेका करिब ४ हजार नेपाली व्यवसायीहरू समस्यामा रहेको अनुमान छ ।

‘उग्र बन्दै, लम्बिँदै गएको खाडी युद्धको विषम् परिस्थितिमा नेपाल सरकारले श्रमिक तथा विद्याथीको मात्र कुरा गरिरहँदा यहाँ उद्यम गरिरहेका करिब ४ हजार उद्यमी र व्यापारीको जिन्दगीभरको लगानी जोखिममा पर्न सक्ने अवस्थालाई कुन रूपमा लिइरहेको होला ?,’ ती व्यवसायीले भने ।

खाडी मुलुकमा सामाजिक सञ्जालमाथि समेत यतिखेर निगरानी बढाइएको छ । यूएईमा सामाजिक सञ्जालमा रहेका नेपाली म्यासेन्जर तथा च्याट ग्रुपहरू समेत बन्द गरिएका छन् । ‘च्याट लक’ गरिएका छन् भने एडमिनबाट समेत बाहिरन भनिएको छ ।

कुनै पनि व्यापार तथा व्यवसायी बोल्न डराउँदै आएका छन् । ‘यहाँ हरेक कुरा सेन्सरमा चल्छ । सरकारविरुद्ध बोले थुनिन्छ । भिडियो हाल्नेहरू समेत पक्राउ परेका छन्,’ एक व्यवसायीले भने । नेपाली व्यवसायीहरूको लगानी सुरक्षा सबैभन्दा ठूलो चुनौती बनेको ती व्यवसायीको भनाइ छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व संयोजक रमेश श्रेष्ठका अनुसार अहिलेको अवस्था अत्यन्तै संवेदनशील र पीडादायी छ । ‘पर्यटक नै नआएपछि होटल–रेस्टुरेन्ट चल्न सकेका छैनन् ।कर्मचारीलाई बेतलबी विदामा राख्नुपरेको छ,’ उनले भने, ‘कतारमा समेत परिवारको दबाबका कारण धेरैजसो फर्किने सोचमा छन् । अब त अफिस नै बन्द गर्नुपर्ने अवस्था आउँदैछ ।’

उनका अनुसार व्यवसाय नियमित नहुँदा नाफा त टाढाको कुरा, दैनिक ठूलो रकमा घाटा बेहोर्नु पर्ने अवस्था सिर्जना भएको छ । एनआरएनएको सम्मेलनमा समेत यस विषयमा छलफल भएको उनले बताए ।
व्यवसायीहरूले नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल चेम्बर अफ कमर्सले मध्यपूर्वमा रहेका नेपाली व्यवसायीको तथ्यांक संकलन गरी समस्या समाधानका लागि पहल गर्नुपर्ने माग गरेका छन् ।

मध्यपूर्वको तनावले नेपाली श्रमिक मात्र होइन, लगानी गरेर बसेका व्यवसायीहरूलाई समेत गम्भीर संकटमा पारेको छ । एकातिर ज्यानको जोखिम, अर्कोतिर व्यापार ठप्प । यी दुबै दबाबले उनीहरूलाई मानसिक र आर्थिक रूपमा थिच्दै लगेको व्यवसायीहरूको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?