News Summary
Generated by OK AI. Editorially reviewed.- एप्पलले सेप्टेम्बर ९ मा क्यालिफोर्नियामा आईफोन १८ सिरिज र पहिलो फोल्डेबल आईफोन डुओ सार्वजनिक गरेको छ।
- त्यही बेला कङ्गोबाट #BoycottiPhone18 अभियान सुरु भई ग्रेटा थनबर्गको इन्स्टाग्राम सेयरपछि लाखौंसम्म पुगेको छ।
- कङ्गोले एप्पलका युरोपेली एकाइविरुद्ध दर्ता गरेको उजुरी फ्रान्समा खारेज भएको छ भने बेल्जियममा अनुसन्धान जारी छ।
२५ भदौ, काठमाडौं । सेप्टेम्बर ९ तारिखमा एप्पलले क्यालिफोर्नियामा धुमधामका साथ नयाँ आईफोन १८ सिरिज (प्रो र प्रो म्याक्स) र कम्पनीको पहिलो फोल्डेबल फोन आईफोन डुओ सार्वजनिक गर्यो।
मञ्चमा नयाँ प्रमुख कार्यकारी अधिकृत जोन टर्नस नयाँ प्रविधिका कुरा गर्दै थिए। संसारभरका प्रविधिप्रेमीहरू नयाँ फोनका फिचर हेर्न व्यस्त थिए।
तर यही समयमा इन्टरनेटको अर्को कुनामा नयाँ ट्रेन्ड चलिरहेको थियो- बहिष्कार आईफोन १८ !
#BoycottiPhone18 ह्यासट्याग सामाजिक सञ्जालमा फैलिन थालेको थियो। यो अभियान क्यालिफोर्नियाबाट निकै दूरीमा रहेको देश कङ्गोबाट चलिरहेको थियो। यता नयाँ प्रडक्ट लन्च हुँदा उता भने आपत्ति जनाइँदै थियो।
यसको सुरुवात भने प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा मानवीय तथा सामाजिक मुद्दामा काम गर्दै आएको एउटा सानो सङ्गठन ‘टिम कङ्गो’ बाट भएको थियो।
सङ्गठनले इन्स्टाग्राममा ‘ह्वाइ बोइकट आईफोन १८’ शीर्षकको एउटा पोस्ट राखेको थियो। सामान्यतया यस्ता पोस्टहरू सीमित दर्शकसम्म मात्र पुगेर हराउन सक्थे। तर, यसपटक भने जलवायु तथा मानवअधिकार अभियन्ता ग्रेटा थनबर्गले उक्त पोस्टलाई आफ्नो इन्स्टाग्राममा सेयर गरिदिइन्।
टिम कङ्गोसहित ५ जनाबीच यो पोस्ट कोल्याब गरिएको देखिन्छ।
पोस्ट भएको केही घण्टाभित्रै यो विषय लाखौं मानिससम्म पुग्यो र धेरै सञ्चारमाध्यमहरूले यसलाई शीर्षक बनाए। यो रिपोर्ट तयार पार्दासम्म पोस्टमा १ लाख ३ हजार (१०३ हजार) रियाक्ट आएको छ भने १६ हजार ९ सय (१६.९ हजार) पटक रिपोस्ट गरिएको छ। १३ घण्टाअगाडिको यो पोस्ट फैलँदो क्रममा देखिन्छ।
यहाँ स्पष्ट पार्नुपर्ने कुरा के छ भने थनबर्गले आफैं एप्पल वा आईफोनविरुद्ध कुनै छुट्टै औपचारिक वक्तव्य जारी गरेकी भने छैनन्। उनले अरूले सुरु गरेको आवाजलाई आफ्ना फलोअर्ससम्म पुर्याइदिएकी हुन्। थनबर्गको त्यही सानो सेयरले एउटा सानो सङ्गठनको पोस्टलाई विश्वव्यापी बहसमा परिणत गरिदियो।
‘टिम कङ्गो’ को यो अभियान आईफोन १८ नकिन्नमा मात्र सीमित छैन। सङ्गठनले उपभोक्ताहरूलाई केही अन्य कुराहरू गर्न पनि आग्रह गरेको छ।
जस्तै- आफूसँग भएको पुरानो फोन सकेसम्म लामो समयसम्म चलाउने, नयाँ फोन किन्नुको साटो प्रयोग गरिएका वा रिफर्बिस्ड फोनहरू रोज्ने, नयाँ फोन किन्नुअघि साँच्चै आवश्यक छ कि छैन भनेर आफैंलाई सोध्ने र प्रविधि उत्पादनमा प्रयोग हुने खनिजहरू कहाँबाट आउँछन् भनेर प्रश्न गर्ने बानी बसाल्ने।
सङ्गठनले ‘कङ्गो अकाउन्टेबिलिटी नेटवर्क’ नामक अर्को अभियानलाई पनि यसमा साथ दिन आह्वान गरेको देखिन्छ। अहिले उक्त संस्थाको इन्स्टाग्राममा पनि उक्त पोस्ट देखिन्छ।
साथै, सङ्गठनले कङ्गोमा विगत तीन दशकको द्वन्द्वमा १ करोड ५० लाख (१५ मिलियन) भन्दा बढी मानिसको ज्यान गएको दाबी पनि गरेको छ। यसबारे पनि यस सङ्गठनले आईफोन बहिष्कार अभियानकै पोस्टमा उल्लेख गरेको छ। यद्यपि यो तथ्याङ्कलाई कुनै स्वतन्त्र अन्तर्राष्ट्रिय निकायले अझै पुष्टि गरेको भने छैन।
त्यति टाढाको कङ्गोसँग यो स्मार्टफोनको के सम्बन्ध ? यसको जवाफ हामीले प्रयोग गरेकै फोनभित्र भेटिन्छ। यसभित्र प्रयोग हुने खनिज र त्यसको उत्पादनसँग यो अभियानको मुख्य चासो रहेको देखिन्छ।
कारण- हरेक स्मार्टफोनको ब्याट्री र चिपभित्र कोबाल्ट, ट्यान्टालम (जुन कोल्टानबाट निस्कन्छ), टिन र टङ्गस्टेनजस्ता खनिजहरू आवश्यक पर्छन्। यी खनिजहरूको विश्वकै सबैभन्दा ठूलो भण्डार कङ्गोमा नै छ।
कङ्गो विश्वकै सबैभन्दा ठूलो कोबाल्ट उत्पादक देश हो। तर यही प्राकृतिक सम्पदाले कङ्गोलाई वरदानभन्दा बढी अभिशाप बनाइदिएको त्यहाँका स्थानीय बताउँछन्। किनभने त्यहाँका धेरै खानीहरूमा बालश्रम, असुरक्षित कार्यस्थिति, अवैध व्यापार र स्थानीय सशस्त्र विद्रोही समूहहरूको प्रत्यक्ष नियन्त्रण रहेको दाबी गरिएको छ।
संयुक्त राष्ट्रसङ्घ र विभिन्न मानवअधिकारवादी संस्थाहरूका अनुसार यी खानीहरूमा भइरहेको हिंसा, सामूहिक बलात्कार र लुटपाटका घटनाहरूसँग यी खनिजहरूको व्यापार प्रत्यक्ष रूपमा जोडिएको छ। यही कारणले यिनलाई ‘द्वन्द्वग्रस्त खनिज’ भनिन्छ।
र, प्रविधि कम्पनीहरूले यही क्षेत्रबाट खनिज ल्याउने गरेको भन्दै मानवअधिकारवादी संस्थाहरूले वर्षौंदेखि प्रश्न उठाउँदै आएका छन्।
अहिले ट्रेन्डमा देखिएको यो अभियान नयाँ भने होइन। यो प्रत्येक वर्ष नयाँ आईफोन लन्चसँगै दोहोरिने एउटा चक्र बनिसकेको छ। हरेक वर्ष यी कुराहरूलाई उठाइएका उदाहरणहरू छन्।
सन् २०२४ मा आईफोन १६ सार्वजनिक हुँदा पनि ‘टिम कङ्गो’ ले यस्तै बहिष्कारको आह्वान गरेको थियो।
एक वर्षपछि, सन् २०२५ मा आईफोन १७ लन्च हुने बेलामा त झन् सडक नै तात्यो। लन्डनको एप्पल स्टोरअगाडि कङ्गोका पक्षधर सङ्गठनहरू जम्मा भई प्रत्यक्ष विरोध प्रदर्शन नै गरेका थिए।
यसरी हेर्दा, हरेक सेप्टेम्बरमा नयाँ आईफोन आउनेबित्तिकै यो बहस फेरि उठ्ने र केही हप्तापछि सेलाउने गरेको देखिन्छ।
यद्यपि, यो विषय सामाजिक सञ्जालको बहसमा मात्र सीमित छैन। अदालतसम्मै यसको विवाद पुगिसकेको छ।
डिसेम्बर २०२४ मा कङ्गो सरकारले आफ्ना अन्तर्राष्ट्रिय वकिलहरूमार्फत एप्पलका युरोपेली एकाइहरू (एप्पल फ्रान्स, एप्पल रिटेल फ्रान्स र एप्पल रिटेल बेल्जियम) विरुद्ध फ्रान्स र बेल्जियमका अदालतहरूमा आपराधिक उजुरी दर्ता गरेको थियो।
उजुरीमा एप्पलमाथि पूर्वी कङ्गोमा सशस्त्र समूहले नियन्त्रण गरेका खानीबाट लुटिएका खनिजहरू अन्तर्राष्ट्रिय बजारमार्फत छिराइएको दाबी गरिएको थियो। त्यसरी आपराधिक गतिविधिबाट कब्जामा लिइएका खनिज ठूला कम्पनीहरूले आफ्ना उत्पादनमा प्रयोग गरेको र उपभोक्तालाई झुक्याइएको आरोप लगाइएको थियो।
तर फेब्रुअरी २०२५ मा फ्रान्सका अभियोजकहरूले यी आरोपहरू ‘पर्याप्त आधार नभएको’ भन्दै खारेज गरिदिए; जबकि बेल्जियमको उजुरी भने अझै अनुसन्धानको चरणमै छ।
यसबाहेक, नोभेम्बर २०२५ मा अमेरिकास्थित मानवअधिकार संस्था इन्टरनेसनल राइट्स एड्भोकेट्सले पनि बालश्रम र सशस्त्र समूहसँग जोडिएका खनिजहरू आपूर्ति शृङ्खलामा प्रवेश गरेको आरोप लगाउँदै एप्पलविरुद्ध छुट्टै मुद्दा दायर गरेको थियो।
एप्पलले भने यी सबै आरोपहरूलाई निरन्तर अस्वीकार गर्दै आएको छ।
कम्पनीका अनुसार आफूले कहिल्यै सिधै खानीबाट खनिज खरिद गर्दैन। बरु आपूर्तिकर्ताहरूको नियमित लेखापरीक्षण गर्छ, आफ्ना निर्णयहरू सार्वजनिक गर्छ र खनिज पहिचानमा काम गर्ने संस्थाहरूलाई आर्थिक सहयोग पनि गर्छ।
सन् २०२४ को मध्यतिर पूर्वी कङ्गोमा द्वन्द्व चर्किएपछि आफूले सबै आपूर्तिकर्तालाई कङ्गो र छिमेकी रुवान्डाबाट टिन, ट्यान्टालम, टङ्गस्टेन र सुन खरिद गर्न बन्द गर्न निर्देशन दिएको एप्पलले बताएको छ।
कम्पनीका अनुसार स्वतन्त्र लेखापरीक्षकहरूले चाहेजस्तो उचित जाँच गर्न नसक्ने अवस्था बनेकाले नै यो कदम चालिएको हो। साथै, आफ्ना उत्पादनमा प्रयोग हुने अधिकांश खनिज अहिले रिसाइकल गरिएको स्रोतबाट आउने पनि कम्पनीको दाबी छ।
यद्यपि सम्पूर्ण आपूर्ति शृङ्खलाको हरेक ‘लुपहोल’ लाई पूर्ण रूपमा ट्र्याक गर्नु अझै ठूलो चुनौती रहेको कुरा भने कम्पनी आफैंले स्वीकार गर्दै आएको छ।
यसले अहिले कङ्गोबाट उठेको ट्रेन्ड वर्षौंदेखि सुल्झन नसकेको प्रश्नको पुनरावृत्ति देखिन्छ।
(एजेन्सीको सहयोगमा)
प्रतिक्रिया 4