Comments Add Comment

नेकपा सांसद नन्दलाल भन्छन्- मलाई खपिनसक्नु भो !

'कांग्रेस सभापतिको हात पोहोरै भाँचिएको हो'

३० भदौ, काठमाडौं । उमेरले ७० कटेका सत्तारुढ नेकपाका सांसद नन्दलाल रोकायले ढ्याप ढ्यापे समयमा बोलेपछि मंगलबार सुचारु हुनै लागेको प्रतिनिधिसभा बैठक पुनः अवरुद्ध भयो । बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद रोकायाले खजुरा घटनामा प्रतिपक्षले लगाएका आरोपको खण्डन गर्दै कांग्रेस कार्यकर्ताबीचको झगडामा नेकपालाई मुछिएको भन्नासाथ विपक्षले रोष्टम घेराउ गरे ।

सोझा सांसद किन एकाएक आक्रोशमा आए त ? अनि दलहरुसँगको सहमति अनुरुप सभामुख कृष्णबहादुरले सरकारलाई रुलिङ गर्नुअघि नै सत्तापक्षका सांसदलाई किन बोल्न दिए ? यी प्रश्न अनुत्तरित नै छन् । तर, प्रतिनिधिसभाको अवरोध खुलाउने सभामुखसहित सत्ता र प्रतिपक्षको सहमति भने वयोवृद्ध सांसदले बोलेकै कारण भाँडियो ।

बाँकेबाट निर्वाचित नेकपाका सांसदहरु महेश्वर गहतराज र नन्दलाल रोकायले कांग्रेसले बाँके घटनालाई लिएर संसद अवरोध गरेकै दिनदेखि बोल्न चाहेका थिए । कांग्रेस सांसदहरुले पालैपालो बाँकेको जागरणसभामा नेकपाले आक्रमण गरेर जिल्ला सभापतिको हात भाँचेको विषय उठाउँदा उनीहरुले आफू पनि बोल्न पाउनुपर्ने माग गरेका थिए ।

तर, प्रतिपक्षले बिरोध गरिरहेका बेला सभामुखले सत्तापक्षका सांसदलाई बोल्न दिएनन् । मंगलबार बाँके घटनामा कांग्रेसले आरोपित गरेका वडाध्यक्ष सहितका नेकपा कार्यकर्ताविरुद्ध किटानी जाहेरी दर्ता गर्न सभामुखले सरकारलाई रुलिङ गरेपछि संसद सुचारु हुने सहमतिअनुरुप बैठक अघि बढेको थियो ।

कांग्रेस सांसद पुष्पा भुसालले बोलेपछि सभामुखको रुलिङ आउनुपर्नेमा बेला एकाएक सभामुखले नेकपाका सांसद रोकायलाई बोल्न समय दिएपछि सहमति भाँडियो ।

नेकपा सांसद रोकायले पार्टीलाई पूर्वजानकारी दिएर बोलेका थिए ? सहमति भाँडिने गरी बोल्दा पार्टीले उनलाई केही भनेन ? नेकपाका ५ नम्बर प्रदेश कमिटी तथा सदस्य बाँकेका पूर्वएमाले जिल्ला अध्यक्ष समेत रहेका रोकायालाई हामीले यिनै प्रश्न सोध्यौं ।

आज तपाईले बोलेकै कारण संसदमा नाराबाजी भयो, सहमति विपरीत तपाईले किन बाँके घटनाबारे विपक्षलाई भड्काउने भाषण गर्नुभयो ?

मैले भड्काउने भाषण गरेको होइन, सत्य कुरा बताउन खोजेको थिएँ । तर, बीचमै उनीहरुले होहल्ला गरेपछि पूरा कुरा भन्न पाएको छैन, मैले संसदमा भन्न नपाएको कुरा सभामुखलाई लिखतरुपमा दिएको छु ।

त्यसदिन बाँकेको खजुरामा कांग्रेसको जागरणसभामा जे घटना भयो भनिएको छ, त्यो कांग्रेसले बनाएको कथा हो । मैले यथार्थ कुरा सदनलाई जानकारी गराउन खोज्दा बोल्न दिइएन ।

तर, तपाईले बीचमै बोलेका कारण संसद पुनः अवरोध भयो, पार्टीले तपाईलाई केही भनेको छैन ?

संसद त अवरोध भयो, हिजो पनि भएकै हो । मलाई पार्टीले केही पनि भनेको छैन । सहमतिबारे पनि मलाई केही भनिएको थिएन । सहमति भए पनि सत्य कुरा त मैले जनतालाई जानकारी गराउनैपर्छ नि ।

होइन, पार्टीले तपाईलाई आज बोल्नु भनेको थियो त ?

पार्टीले बोल्नु भनेको थिएन । तर, मलाई खपिनसक्नु भयो । कांग्रेसका सांसदहरुका झूठा र काल्पनिक कुरा सुन्दासुन्दै मलाई खरो भयो । कांग्रेसीहरुले लगातार झूठो कुुरा गरिरहने, अनि हामीले चुपचाप सुनिदिनुपर्ने ? यो त कसरी हुन्छ ?

आज पनि उनीहरुले त्यही झूठो कुरा गरेपछि मैले ढ्याप ढ्याप गरेर समय पाएको हो । मलाई जिल्लाबाट जनता र कार्यकर्ताले पनि त दबाब दिइरहेका छन् । गलत कुराको भ्रम चिर्न मैले बोलेको हो ।

तपाईलाई खपि नसक्नुचाहिँ के कुराले भएको हो ?

कांग्रेसले लगातार झूठको खेती गर्‍यो । संसदमा उनीहरुलेमात्रै एकलौटी बोलेर यही पो सत्य हो कि भन्ने भ्रम पार्न थालेपछि खपिनसक्नु भयो ।

कांग्रेसका जिल्ला सभापतिको हात भाँचिने गरी भएको घटना पनि झूठो हो त ?

यो सबै कुरा गलत हो । जुन जागरण कार्यक्रम भनेर कांग्रेसले गरेको थियो, त्यहाँ दुईसय जना थिए । त्यसमा तीनजना व्यक्तिले आक्रमण गरे भनिएको छ । खासमा त्यो झगडा कांग्रेसका दुईजना कार्यकर्ताबीचको थियो ।

भुवनसिंह थापा भन्ने कांग्रेस कार्यकर्ताले असलम भाट भन्ने अर्को कांग्रेस कार्यकर्ता विरुद्ध प्रहरीमा जाहेरी दिएको रहेछ । असलमलाई प्रहरीले छलफलमा बोलाउँदा पनि आएको थिएन । जागरणसभामा असलमले फेसबुक लाइभ गरिरहेको देखेपछि भुवनसिंह ऊसँग कुरा गर्न असईलाई लिएर गएको हो ।

भुवनसिंह भन्ने कांग्रेस कार्यकर्ता भए पनि उसले आग्रह गरेकाले हामीलाई भोट हाल्ने तीनजना नेकपा समर्थक भाइहरु पनि प्रहरीसहित त्यहाँ असलमसँग कुरा गर्न गएका हुन् । उनीहरु नेकपाका कार्यकर्ताचाहिँ होइनन्, समर्थक मात्र हुन् ।

कांग्रेस कार्यकर्ताहरुबीच विवाद भएको हो । छिमेकीको नाताले भुवनसिंहसँग गएका हाम्रा समर्थक भाइहरुको कुनै दोष छैन । उनीहरुसँग प्रहरीका असई पनि गएका छन् । दुईसयको सभामा तीनजनाले कहिँ कुट्न सक्छन् ? यो त पूरै बनावटी घटना हो ।

ठीक छ, घटना बनावटी भए पनि कांग्रेस जिल्ला सभापति किरण कोइरालाको हात भाँचिएको कुरा त बनावटी होइन होला नि ?

मैले थाहा पाएअनुसार पाँच/सात वर्षअघि उहाँको हात भाँचिएको थियो । अहिले उहाँको हात भाँचिएको भन्ने कुरा बहाना पनि हुन सक्छ । उहाँलाई त्यसदिन कसैले छोएको छैन, किनकि त्यहाँ झगडा गर्ने दुवैजना कांग्रेसकै कार्यकर्ता थिए र उनीहरुको व्यक्तिगत झगडा हो ।

उहाँ कांग्रेस सभापति किरण कोइरालालाई इलाका प्रहरी कार्यालयका इन्सपेक्टर आएर नेपालगन्जको पार्टी कार्यालयमा छाडेका छन् । सभापतिजी केही भएको छ कि भनेर सोध्दा मलाई केही भएको छैन, तपाईहरु जानुस भनेर धन्यवाद दिएर पठाउनुभएको छ ।

त्यसपछि एकाएक हातमा पट्टी बाँधेर घटनालाई राजनीतिकरण गरिएको हो ।

यो घटनालाई राजनीतिकरण गर्दा कांग्रेसलाई के फाइदा ?

नेकपाले चुनाव जित्नु नै उहाँहरुका लागि ठूलो इगो भएको थियो । कांग्रेस सत्ता बाहिर बस्नै सक्दो रहेन छ । आफूलाई प्रजातन्त्रको मसिहा भन्छ । तर, ५ वर्ष सत्ता बाहिर बस्नुपर्ने भएपछि यस्ता प्रोपोगाण्डा गरेर छटपटी पोख्छ । यनीहरुसँग पर्खिने धैर्य पनि छैन । त्यही प्रकट भएको हो ।

तर, नेकपाबाट निर्वाचित वडाध्यक्षकै निर्देशनमा घटना भएको भनेर किटानी जाहेरी दर्ता गर्ने सहमति नै भएको होइन र ?

पहिलो कुरा मलाई सहमतिबारे थाहा छैन । दोस्रो कुरा, वडाध्यक्ष बिचरा निर्दोष छ । उसलाई त्यो घटनाबारे थाहा पनि थिएन । खासमा ऊ अति लोकपि्रय र विकासवादी नेता भएकाले त्यहाँ जनताको अत्यधिक मतले चुनाव जित्छ । आफ्नो घरको पैसाले गरिव दुःखीलाई सहयोग गर्छ । उसको लोकपि्रयता देखेर कांग्रेसका स्थानीय नेता आत्तिएका थिए । उनीहरुले आफू विस्थापित हुने भएपछि यही हो मौका भनेर यो घटनालाई अर्कोतिर मोडेका हुन् ।

जिल्लामा यो कुरा सबैलाई प्रष्ट छ । तर, कांग्रेसका नेताहरुले संसदमा ठूलो इस्यु बनाएर बाँके भन्दा बाहिरका जनतालाई भ्रमित पार्न खोेजेकाले मैले यथार्थ जानकारी दिनमात्र चाहेको हुँ ।

निर्दोषलाई मुद्दामा फसाएर जेल हाल्ने र आफूले रजाइँ गर्ने कसैले सोचेको छ भने हामी त्यो पूरा हुन दिदैनौं । आन्दोलन गर्न हामीले पनि जानेका छौं ।

तर, तपाईकै कारणले संसद अवरोध लम्बिँदा पार्टी र सरकारलाई त अप्ठेरो पर्‍यो नि होइन ?

संसद अवरोध हुन्छ । असत्य कुरा भँजाएर कांग्रेसले त्यसैलाई सत्य हो भन्छ भने सहन सकिन्न । मैले त सत्य के हो भनेर जानकारी दिएको हुँ । मेरा निर्दोष जनता र कार्यकर्तालाई सताउने ? झूठा मुद्दामा फसाउने ? मैले जनतालाई सेफ गर्नु पर्दैन ? मैले जे गरेको छु, सत्यको पक्षमा गरेको छु । म ७० वर्ष कटेको बुढो मान्छेले असत्य कुरा गरेर ढाकछोप गर्नु छैन ।

जहाँसम्म समस्याको कुरा छ, जिल्लामा समस्या छैन । यो कांग्रेस कांग्रेसबीचको आन्तरिक झगडा हो भन्ने सबैले बुझेका छन् । समस्या त संसदमा मात्र छ । संसदमा असत्य कुरा सयपटक बोलेर सत्य बनाउन खोजिन्छ भने म एकपटक होइन, पटक-पटक सत्य बोल्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment