Comments Add Comment

नेपालमा जस्तै भारतमा पनि उठ्यो संकटग्रस्त लोकतन्त्रको कुरा

१ असोज, काठमाडौं । नेपालमा सत्तारुढ दलका नेताहरुले लोकतन्त्र र गणतन्त्र संकटमा पार्न खाजिएको बताइरहेको बेला छिमेकी मुलुक भारतमा पनि त्यस्तै कुरा उठेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले दैनिकजसो औपचारिक कार्यक्रमहरुमा नेपालको गणतन्त्र र संघीयताको उपलब्धी उल्टाउन खोजिएको बताउँछन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले चाहिँ सरकारका कारण लोकतान्त्रिक व्यवस्था संकटमा परेको बताउँछन् ।

यहीबीच भारतका गृहमन्त्री एवम् भाजपाका अध्यक्ष अमित शाहले पनि भारतको बहुदलीय लोकतान्त्रिक व्यवस्थामा प्रश्न उठाएका छन् । उनले राजधानी दिल्लीमा आयोजित एक कार्यक्रममा तत्कालीन कांग्रेस नेतृत्वको यूपीए गठबन्धन सरकारको कारण भारतको बहुदलीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रश्न उठेको चर्चा गरेका हुन् ।

अमित शाहले भने, ‘२०१४ भन्दा अगाडि भ्रष्टाचार र असुरक्षित सीमाका कारण जनतालाई लाग्न थाल्यो, बहुदलीय लोकतान्त्रिक व्यवस्था विफल भयो । उनीहरु निराश भए र उनीहरुलाई चिन्ता हुन्थ्यो के देशले आफ्नो लक्ष्य हासिल गर्न सक्ला ?’

भारतीय कांग्रेसलाई निशाना साध्दै अमित शाहले भने, ‘कांग्रेसको शासनकालमा हरेक दिन भ्रष्टाचारका समाचार आउँथे । सीमा असुरक्षित थियो, सैनिकहरु मारिइरहेका थिए, महिलाहरु असुरक्षित महसुस गर्दथे र सडकमा विरोध प्रदर्शन गरिरहन्थे ।’

उनले भने, ‘कांग्रेसको शासनमा देशको हालत यस्तो थियो कि आम जनताले देश कता तिर जाँदैछ भनेर सोच्न सकिरहेका थिएनन् । र, उनीहरुमा प्रश्न उठेको थियो के, नेताहरुले देशलाई यो उथल पुथलबाट निकास दिन सक्लान् ?’

संविधान निर्माताहरुले राष्ट्रको प्रगतिका लागि लोकतान्त्रिक व्यवस्थाको धेरै अध्ययन गरेपछि सबैलाई समान अधिकार र समृद्धि मिलोस् भनेर बहुदलीय लोकतान्त्रिक प्रणाली अपनाए पनि विकृति र विसंगति बढेको भाजपा नेता शाहले बताए ।

कांग्रेसको पालाको राजनीतिक अव्यवस्थाको वर्णन गर्दै उनले भने, ‘सरकार राजनीतिक रुपमा पंगु थियो । कुनै पनि निर्णय लिन सक्दैनथ्यो । पछिल्लो सरकारमा त सबै मन्त्रीहरुले आफूलाई नै मन्त्री ठान्थे । उनीहरुले कसैले पनि प्रधानमन्त्रीलाई प्रधानमन्त्री ठान्दैनथे ।’

देशको बेहाल अवस्थाका कारण आजित भएका जनताबाट सन् २०१४ मा भाजपालाई ऐतिहासिक जनादेश प्राप्त भएको ३० वर्षदेखि शासन गर्दै आएको कांग्रेस नेतृत्वको सरकारको युग समाप्त भएको गृहमन्त्री शाहले बताए ।

भाजपा सत्तामा आएपछि दोस्रो कार्यकालका लागि नरेन्द्र मोदी प्रधानमन्त्री छन् । भाजपा नेताहरुले विगतका सरकारभन्दा मोदी नेतृत्वको सरकार अब्बल भएको दाबी गर्दछन् । तर, मोदी सरकारलाई कांग्रेसलगायतका पार्टीहरुले भने धार्मिक स्वतन्त्रता नष्ट गर्न खोजेको, अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाएको, अधिनायकवाद लाद्न खोजेको लगायतका आरोप लगाउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment