Comments Add Comment

के तपाईंको पनि घाँटी खसखस गर्छ ?

मनसुन र गर्मीको बीचको मौसमले हाम्रो स्वास्थमा नकारात्मक प्रभाव पार्छ । मौसम परिवर्तन हुने क्रममा हामीलाई घाँटी दुख्नु, चिसो लाग्नु सामान्य कुरा हो, तर रुघा-खोकी नै लाग्यो भने चाहिँ तपाईंले चाँडोभन्दा चाँडो त्यसको उपचार गराउनु नै उचित हुनेछ । आज हामी तपाईंहरुलाई घाँटीमा हुने खस-खसलाई कसरी हटाउने भन्ने बारेमा जानकारी दिँदैछौं ।

घाँटीलाई तातो बनाउने

औषधी पसलहरुमा उपलब्ध हुने हिट प्याडमार्फत अथवा तातो पानीमा टाबेल भिजाएर आफ्नो घाँटीमा राख्नु पर्छ । यसले तपाईंको घाँटीले तातो पाउँछ र घाँटीमा जम्मा भएको कफ बाहिर आउँछ । यसले तपाईंलाई केही समयमै आराम दिनेछ ।

अदुवा हो अचूक औषधी

अदुवाले चिसोसँग सम्बन्धित धेरै प्रकारका समस्याबाट छुटकारा दिलाउँछ । अदुवालाई कुटेर मुखमा राखेर चुसिरहनु पर्छ । अदुवाको रसले पनि घाँटी खस-खस गर्ने समस्याबाट मुक्ति मिल्छ ।

काँडाको प्रयोग

एक कप पानीमा ४-५ मरिच तथा तुलसीका केही पत्ताहरुलाई उमाल्ने र काँडा बनाउने । उक्त काँडालाई दिनमा दुई पटक सेवन गर्ने । यसले पनि घाँटीको समस्या समाधानमा सहयोग पुर्‍याउँछ ।

मरिच र महको मिश्रण

मरिचको धुलोमा मह मिसाएर खानु पर्छ । यसले घाँटीको खस-खस मात्र होइन खोकी लागेको बेलासमेत राहत मिल्छ र तपाईंको घाँटीले आराम पाउँछ ।

बोझोको छैन विकल्प

घाँटीसँग सम्बन्धित प्रायः सबै समस्याका लागि बोझो रामवाण नै मानिन्छ । यसको प्रयोग गायक-गायिकाहरुले आफ्नो आवाजलाई सुमधुर बनाउनका लागि गरिरहेका हुन्छन् । बोझो मुखमा राखेर चुसिरहनु पर्छ । यसको रसले तपाईंको घाँटीलाई आराम दिन्छ ।

घाँटीलाई आराम दिने ट्याब्लेट

केहीँ राम्रा ब्राण्डका घरेलु ट्याब्लेटहरु बजारमा पाइन्छन्, जुन अदुवा, बोझो, मरिचको मिश्रणबाट बनाइन्छ । उक्त ट्याब्लेट चुसिरहनाले पनि तपाईंलाई फाइदा हुन सक्छ । तर, यस्ता औषधीहरु केवल राम्रो आयुर्वेदिक ब्राण्डको मात्र किन्नु पर्छ ।

कुल्ला गर्न नबिर्सौं

मनतातो पानीमा थोरै नुन मिसाएर त्यसले कुल्ला गर्नु पर्छ । त्यसले तपाईंको घाँटीमा रहेका किटाणुहरुलाई भगाउँछ । कुल्ला गरेपछि तपाईंले निकै राहत महसुस गर्नु हुनेछ ।

मुख बार्नु पनि अनिवार्य

घाँटी खस-खस गरेको बेला अमिलो र फ्रिजमा राखेको चिसो खानेकुरा खानै हुँदैन । तेल-मसला भएका खानेकुरा खानु हुँदैन । खानेकुरामा ध्यान नदिँदा तपाईंको घाँटीको समस्या झन्-झन् बढ्न सक्छ ।

यति गर्दा पनि तपाईंको घाँटीको खस-खस तथा अन्य समस्याहरु समाधान भएन भने तपाईंले नाक, कान, घाँटी विशेषज्ञ चिकित्सकलाई भेट्नु पर्छ । किनभने यसको सही तरिकाले उपचार गरिएन भने झन् ठूलो समस्या निम्तिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment