Comments Add Comment

चितवनको जलदेवी सामुदायिक वनमा सुरु भयो ‘जीप लाइन’ सफारी

१, असोज, चितवन । चितवनको जलदेवी सामुदायिक वनमा साहासिक मानिने ‘जीप लाइन’ सफारी सुरु भएको छ । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने भरतपुर महानगरपालिका १ आँपटारीमा रहेको यो सामुदायिक वनले जीप लाइन सफारी सुरु गरेको छ ।

प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले बुधबार जीप लाइन सफारीको उद्घाटन गरे । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी जीप लाइन सफारी सञ्चालनको तयारी गरिएको सामुदायिक वनका अध्यक्ष केशव थापा ‘निरु’ले जानकारी दिए ।

पहिलो चरणमा बालबालिकाहरुका लागि खेलाइने सफारी सुरु भएको छ । युवाहरुले खेल्ने सफारीको दुई भाग तयार गरिसकेको छ भने एक भागको काम अन्तिम चरणमा छ । असोज १० गतेबाट युवाहरुले खेल्न मिल्ने गरी सेवा पूर्ण रुपमा सञ्चालनमा ल्याइने अध्यक्ष थापाले बताए । गएको साउन महिनाबाट यसको निर्माण कार्य सुरु भएको थियो ।

बनले वाइल्ड वन्डर्स प्रालिसँगको जीप लाइन सफारी सञ्चालनमा सहकार्य गरेको छ । सामुदायिक वनको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत यसमा लगानी रहेको छ । हालसम्म ७५ लाख रुपैयाँ खर्च भइसकेको वनका अध्यक्ष थापाले बताए ।

यसबाट आउने नाफा बापतको १० प्रतिशत रकम सामुदायिक वनले नै प्रयोग गर्ने अध्यक्ष थापाको भनाइ छ । जीप लाइन सञ्चालन गरेपछि चितवन आउने पर्यटनहरूको बसाई लम्बिने समेत पर्यटन व्यवसायीको भनाइ रहेको छ ।

सामुदायिक वनमा यस प्रकारको जीप लाइन सफारी सञ्चालन पहिलोपटक भएको दावी सञ्चालक संस्थाको छ । बालबालिकाहरुले करीव ५० मिटरको डोरीमा सफारी गर्ने छन् भने युवाहरुले करीव १ हजार मिटर लामो केबलमा । चार बटा ठूल ठूला सालका रुपलाई लिएर केवल टाँगिएका छन् ।

युवाहरुका लागि तयार गरिएको सफारीमा एकपटकमा तीन जनाले घिर्नीको सहयोगमा झुण्डिएर रोमाञ्चकारी यात्रा गर्न सक्ने अध्यक्ष थापाले जानकारी दिए । युवाका लागि पाँच सय र बालवालिकाका लागि एक सय रुपैयाँ शुल्क राखिएको छ । दैनिक तीन सय भन्दा बढीले सेवा लिन सक्ने सञ्चालक संस्थाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment