Comments Add Comment

पत्रकारको बाँकी तलब र दशैँ खर्च उपलब्ध गराउन आग्रह

२ असोज, काठमाडौं । नेपाल पत्रकार महासंघले दशैँ नजिकिरहेको सन्दर्भमा श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराउन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन र दशैँ पेश्की व्यवस्था गर्न सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरेको छ ।

काठमाडौंमा उपलब्ध पदाधिकारी र सदस्यहरुको बुधबार बसेको बैठकले पत्रकारको बाँकी पारिश्रमिक र दशैँ पेश्की उपलब्ध गराउने निर्णय गरेको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए ।

बैठकले श्रमजीवी पत्रकारहरुका लागि श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चार प्रतिष्ठानहरुमा अनुगमन र दबाब दिने निर्णयसमेत गरेको छ । बैठकले अनुगमन र दबाब दिनका लागि उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टको संयोजकत्वमा दुई समिति गठन गरेको छ ।

महासचिव विष्टका अनुसार, दुवै समितिले तत्कालै सञ्चार प्रतिष्ठानमा गएर श्रमजीवी पत्रकारको पक्षमा अनुगमन र दबाव सिर्जना गर्नेछ । बैठकले समाचार संकलनार्थ पत्रकारहरु सिंहदरबार प्रवेश गर्दा थप कडाइ गर्दै झन्झटिलो व्यवस्था गरिएकाले सिंहदरबार प्रवेशमा सहज वातावरण बनाएर प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ ।

यसैगरी बैठकले रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्र दीपायलमा कार्यरत पत्रकार सुनीता रावल, प्रकाश बम र चक्र कुँवरलाई बिनाशर्त तत्काल पुनर्बहाली गर्नसमेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment