Comments Add Comment

कतारपछि दुबईमा नेपालको हरियो तरकारी बेच्दै कल्याण

२ असोज, काठमाडौं । व्यक्तिगत पहलमा नेपाली तरकारी र फलफूलको दुबईमा बिक्री सुरु भएको छ । काठमाडौंबाट कतारको दोहामा हरियो तरकारीको व्यापार गर्दै आएका व्यवसायी कल्याण घिमिरेले दुबईमा पनि निर्यात थालेका हुन् ।

नेपालबाट पहिलोपटक दुबईको सफारी मलका लागि ३२ सय किलो फलफूल तथा तरकारी गत सेप्टेम्बर ४ मा उडाइएको घिमिरेले जानकारी दिए । यस्तै, सेप्टेम्बर १० मा १७ सय किलो हरियो तरकारी तथा फलफूल उनले दुबई पठाए । हरेक साताको मंगलबार वा बुधबार नेपालबाट दुवईका लागि तरकारी तथा फलफूल पठाउने गरिएको छ ।

दुबईमा डल्ले खुर्सानी, तामा, टाटेसिमी, लौका, करेला, कांक्रो, मुला, घिउसिमी, लाम्चो खुर्सानी र हरियो मकै अहिले पठाइँदै आएको छ । व्यवसायी घिमिरेका अनुसार डल्ले खुर्सानीको मूल्य प्रतिकिलो दुबईमा २५ दिराम पर्छ । यस्तै तामा १८ दिराम र टाटेसिमिको मूल्य ७ दिराम तोकिएको छ ।

दुबईको सफारी मलमा नेपालबाट आएको गुन्द्रुकको प्रतिकिलो औसत मूल्य ३५ दिराम, हरियो खुर्सानी प्रतिकिलो ११, करेला १०, घिउसिमी १२, सेतो मुला १२, र काँक्रोको मूल्य १० दिराम छ । दुबईमा नेपाली फलफूल तथा तरकारीको माग बढेको घिमिरेको भनाइ छ ।
यो पनि पढ्नुहोस फिल्म फ्लप भएर के भो ? कतारमा गुन्द्रुक बिक्न थाल्यो !

हाल सफारी मलमा मात्रै बिक्री भइरहेको तरकारी तथा फलफूल त्यहाँँको स्थानीय बजारमा बिक्री–वितरणका लागि थप गृहकार्य भइरहेको घिमिरे बताउँछन् ।

तत्कालका लागि ती गन्तव्यहरुमा भएको तरकारीको व्यापार नाफाका लागि भन्दा पनि बजार हिस्सा ओगट्न र स्वादमा बानी पार्नका लागि मात्रै भएको उनले बताए ।

नेपालबाट तरकारीहरु आफूले लैजान थालेपछि दुबईका मलहरुमा हर्लिक्सको बट्टामा राखेर लगिएको डल्ले खुर्सानी सस्तोमा बिक्री गरिएको भन्दै घिमिरेले चित्त दुखाए ।

‘दुबईमा हरिया डल्ले खुर्सानीको माग अत्यधिक छ, प्रतिकिलो २५ दिराम पर्ने खुर्सानीलाई अवैध तरिकाले लगेर बिक्री थालिदिँदा अप्ठ्यारो हुन थालेको छ,’ घिमिरेले भने ।

घिमिरेले ‘अलसमन इन्टरनेसनल’ कम्पनी स्थापना गरी दुबईमा तरकारी व्यापार सुरु गरेका हुन् । सोही कम्पनीको नेपाल शाखा अलसमन इन्टरनेसनले नेपालमा उत्पादित हरियो तरकारी तथा फलफूल कतार र दुबई निर्यात गर्ने गर्दछ । बजारबाट संकलित तरकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्वारेन्टाइन परीक्षण पछि ती मुलुकमा पठाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment