Comments Add Comment

बालुवाटारको जग्गा सरकारीकरण गर्ने प्रस्ताव थन्कियो

मन्त्रालय भन्छ– सीआईबी र अख्तियारको छानबिनका कारण रोकिएको हो

२ असोज, काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटार अहिले पुनः चर्चामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नयाँ प्रधानमन्त्रीनिवासको शिलान्यास गरेसँगै बालुवाटार चर्चामा आएको हो । तर, प्रधानमन्त्री निवास नयाँ बन्ने चर्चा सुरु हुँदै गर्दा विगतको ‘बालुवाटार जग्गा प्रकरण’ भने सेलाउन थालेको छ ।

बालुवाटारको ललितानिवासले चर्चेको करीव ११४ रोपनी जग्गा व्यक्तिका नामबाट जफत गरी सरकारीकरण गर्ने प्रस्ताव अख्तियारको छानविन नसकिएका कारण भूमि व्यवस्था मन्त्रालयमै थन्किएको छ ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लगिएको ०४७ सालदेखिकै निर्णय प्रक्रियाहरुमा अख्तियारले अनुसन्धान गरिरहेकाले सो प्रस्ताव मन्त्रिपरिषदमा नलगिएको मन्त्रालय स्रोतले जनाएको छ ।
यो पनि पढ्नुहोस बालुवाटार जग्गा प्रकरण : कारबाहीको पहिलो निशानामा राणा परिवार

भूमि व्यवस्था मन्त्रालयले आफ्नोतर्फबाट सबै अनुसन्धान पूरा गरी ललिता निवासको जग्गा सरकारकै ठहर्ने निष्कर्षसहित व्यक्तिका नाममा गइसकेको जग्गा सरकारको नाममा फिर्ता ल्याउने प्रस्ताव तयार पारिसकेको मन्त्रालय स्रोतले बतायो ।

यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालबीच पनि सो विषयमा छलफल भएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीले अख्तियारको छानविन नसकिँदै सरकारले निर्णय गर्दा संवैधानिक निकायको काममा असर पर्ने भन्दै केही समय पर्खिन निर्देशन दिएको स्रोतले जनाएको छ ।
यो पनि पढ्नुहोस बालुवाटारको जग्गा हडप्ने खलपात्र ! कसलाई लाग्दैछ अख्तियार र सीआईबी ?

मन्त्रालयका एक उच्च अधिकारीले भने, बालुवाटारको जग्गा जो जो व्यक्तिका नाममा पास गएको छ, उनीहरुको श्रेस्ता बदर गरी सरकारका नाममा फिर्ता ल्याउने व्यहोराको प्रस्तावमा मन्त्रीले हस्ताक्षर गरिसक्नुभएको छ । तर, यसबीचमा अख्तियार र सीआइबी लगायतले अनुसन्धान गरिरहेकाले मन्त्रिपरिषदमा नलगिएको हो ।

स्रोतका अनुसार मन्त्रालयले मन्त्रिपरिषदमा पारित गर्नका लागि ठीक्क पारेको प्रस्तावमा २०२१ सालको भूमिसुधारपछि नै हदबन्दीभन्दा बढी भएका जफत भएको सुवर्ण शमसेरको जग्गा ०४९ सालमा उनका सन्ततिका नाममा दर्ता गराएदेखिका सबै प्रक्रिया बदर गर्न भनिएको छ ।

यसबीचमा सुवर्ण शमसेरका सन्ततिबाट कथित मोही हँदै विभिन्न व्यक्तिका नाममा रहेका जग्गा सरकारको नाममा दर्ता गर्ने र सो जग्गा दोस्रो वा तेस्रो व्यक्तिबाट खरिद गर्ने जग्गाधनीलाई राणा परिवारबाट क्षतिपूर्ति भराउने गरी प्रस्ताव लैजान तयार पारिएको मन्त्रालय स्रोतले जनाएको छ ।
यो पनि पढ्नुहोस बालुवाटारको जग्गामा भाटभटेनी सञ्चालकको ‘कनेक्सन’

ती अधिकारीले अनलाइनखबरसँग भने, ‘रुक्म शमसेर, हाटक शमसेर लगायत सुवर्णका सन्ततिले जालझेल गरेर सो जग्गा ०४९ सालमा आफ्नो सरकार भएका बेला सरकारी दर्ताबाट आफ्नो नाममा पारेको देखियो । त्यसपछि नक्कली मोही खडा गर्नेदेखि भूमाफिया प्रयोग गरेर जग्गा बेचेको देखिएकाले जसको जग्गा जफत हुन्छ । त्यसैले उनीहरुलाई राणा परिवारबाट क्षतिपूर्ति भराउने प्रस्ताव गरिएको हो ।

बालुवाटारको सरकारी जग्गा राणा परिवारका नाममा ल्याउनेदेखि किनबेच गर्ने प्रक्रियामा भूमाफिया भने शारदा त्रिताल आयोगले भनेका रामकुमार सुवेदी, शोभाकान्त ढकाल बाहेक न्यायपरिषदका पूर्वसदस्य उपेन्द्रकेशरी न्यौपाने, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनवहादुर गुरुङ लगायतको मुख्य संलग्नता देखिएको मन्त्रालयले जनाएको छ ।

सरकारले ०७५ फागुन ८ गते मन्त्रिपरिषद निर्णयबाटै बालुवाटारको ११३ रोपनी ३ आना जग्गाको किनबेच रोक्का गरी छानविनका लागि गृहमन्त्रालयलाई जिम्मा दिएको थियो । गृहमन्त्रालयले सीआइबी मार्फत छानविन गरिरहे पनि पटक–पटक म्याद थप्ने क्रममा पछिल्लो मन्त्रिपरिषद बैठकबाट पुनः म्याद थपिएको छ ।
यो पनि पढ्नुहोस पुरुषोत्तम समशेरको गुनासो : बालुवाटार फिर्ता हुने, बहादुरभवन नहुने ?

बालुवाटारको जग्गामा अख्तियारले पनि छानविन अन्तिम चरणमा पु¥याएको एकजना आयुक्तले बताए । यसबीचमा अख्तियारले बालुवाटारको जग्गामा जोडिएका सबैसँग बयान लिइसकेको छ । बयानमा नआउनेहरुलाई सार्वजनिक सूचना समेत जारी गरिएको छ ।

अख्तियारले भूमाफिया र राणा परिवार तथा कथित मोहीबाट सो जग्गा किनेका जग्गाधनीसँग समेत बयान लिएको छ । उनीहरुले जग्गा सरकारीकरण हुँदा कुनै आपत्ति नरहेको तर आफूहरुले क्षतिपूर्ति कोबाट पाउने भन्ने प्रश्न गरेको अख्तियारका एक अधिकारीले बताए ।

अख्तियारको छानविन सकिएलगत्तै मन्त्रिपरिषद बैठकबाट बालुवाटारको जग्गा सरकारको नाममा ल्याउने तयारी छ । यसबीचमा अख्तियारका प्रमुख आयुक्त नविन घिमिरेले पनि सरकारी अधिकारीहरुलाई आफूहरुले छानविन गरिरहेकाले केही समय पर्खिन आग्रह गरेकाले भूमि व्यवस्था मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा नलगिएको स्रोतले जनाएको छ ।
यो पनि पढ्नुहोस ‘हो, प्रम निवासको जग्गा व्यक्तिको नाममा गइसक्यो’
यो पनि पढ्नुहोस बालुवाटारको जग्गामा माधव नेपालपछि बाबुराम पनि मुछिए
यो पनि पढ्नुहोस बालुवाटारबासीलाई मुआब्जा, सडकबासीलाई लोप्पा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment