Comments Add Comment

गणेशमान सिंहको २२ औं स्मृति मनाइयो

२ असोज, काठमाडौं । नेपाली कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको २२ औँ स्मृति दिवस बिहीबार मनाइएको छ । दिवसको अवसरमा बिहान शोभाभगवतीमा अवस्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।

गणेशमान सिंह फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता एवम् गणेशमान पुत्र प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे ।

मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्वपूर्ण भूमिका रहेको उनले जानकारी दिए । एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन गणेशमानको महत्वपूर्ण योगदान रहेको उनले स्मरण गरे । नेकपा नेतृत्वको दुई तिहाइको वर्तमान सरकारले जनभावनाअनुसार काम गर्न नसकेको भन्दै उनले आलोचना पनि गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, नेपाली कांग्रेस काठमाडौंका नेता कार्यकर्तालगायतले पनि गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए ।

को हुन् गणेशमान ?

काठमाडौंको खानदानी परिवारमा जन्मिएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषदको सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए । भद्रगोल जेल फोडेर भागेपछि भारत प्रवासमा गएको बेला वीपी कोइरालासँग मिलेर उनले २००३ सालमा नेपाली कांग्रेस स्थापना गरेका थिए ।

२००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए । संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा चिनिन्थे ।

पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्रीसमेत बनेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर काराबासको सजायँ भोगे । जेलमा कठोर यातना पाउँदा पनि गोपनियता नखोलेको र आफ्नो लक्ष्यमा दृढ रहेपछि उनलाई ‘लौह पुरुष’ -फलाम जस्तो कठोर मानिस)को उपमा दिइएको हो ।

आठ वर्षे काराबासपछि पुनः प्रवासमा राजनीतिक संगठन विस्तार गरी २०३३ सालमा बीपीसँगै उनी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए । तर, तत्कालीन पञ्चहरूबाट बीपीसँगै उनलाई पनि मृत्युदण्डको सजायँ सुनाएको थियो । उनले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

बीपीको निधनपछि कांग्रेसको सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन सुरु गरेका थिए । १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका धनी गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

जनआन्दोलन पश्चात तत्कालीन राजा वीरेन्द्र शाहले गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए । तर उनले प्रधानमन्त्री बन्न अस्वीकार गरी आफ्नो साथी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment