Comments Add Comment

यु–१८ च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग बराबरीमा रोकियो

३ असोज, काठमाडौं । यू–१८ साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा साविक विजेता नेपाल बराबरीमा रोकिएको छ ।

हलचोकस्थित एपीएफको खेल मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । समूह ‘ए’ मा रहेको नेपालले पूरै खेल अवधिभर दबाबमा राखे पनि खेल जित्न सकेन ।

खेलको दोस्रो मिनेटमा नै ब्रिजेश चौधरीले गरेको गोललाई रेफ्रीले अफसाइड दिएका थिए । १३औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै माल्दिभ्सले खेलमा अग्रता लिए । उसका लागि कप्तान हसन नाजिमले गोल गरे ।

१–० ले पछि परेको नेपालले खेल बराबरी गर्न एक घण्टा भन्दा बढी समय कुर्नुप¥यो । ७४ औं मिनेटमा भने मनिष डाँगीले ब्रिजेश चौधरीको पासलाई हेडमार्फत गोल गरे ।
२० औं मिनेटमा ब्रिजेस वान भर्सेस वानको स्थितिमा चुक्दा फेरि नेपालले अग्रता बनाउने मौका गुमाएको थियो । ४१ औं मिनेटमा मनिष डाँगीले प्रहार गरेको बल माल्दिभ्सका किपर हसन अलिफले बचाएका थिए ।

दोस्रो हाफमा पनि नेपालले गरेको एकपछि अर्को आक्रमण गोलमा परिणत हुन सकेन । ६३ औं मिनेटमा कप्तान जय गुरुङले प्रहार गरेको बल माल्दिभ्सका किपर अलिफले बचाएका थिए भने खेलको ७१ औं मिनेटमा नितिन थापाले प्रहार गरेको बल बारमा लागेर फर्किएको थियो ।

नेपालले अब आफ्नो समूहको अन्तिम खेलमा भुटानसँग आइतबार खेल्दैछ । यसअघि लगातार दुई पटक उपाधि जितेको नेपाल तेस्रो संस्करणको पनि उपाधि जित्दै ह्याट्रिक गर्ने लक्ष्यमा छ ।

प्रतियोगिताअन्तर्गत शनिबार भने बंगलादेशले श्रीलंकाको सामना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment