Comments Add Comment

जिदानको पद धरापमा !

काठमाडौं । छमहिना अगाडि रियल मड्रिडको प्रशिक्षकमा फर्किएपछि जिनेदान जिदानले हाँस्दै भनको थिए, ‘घर फर्किँदा खुसी छु ।’

तर अहिले उनको त्यो खुसी हराएको छ । सिजनको सुरुवातमा रियल मड्रिडले गर्नु परेको संघर्षका कारण दबावमा छन् ।

बेर्नाबाउमा रियल भायडलेडसँग बराबरीमा रोकिएको मड्रिडले ला लिगामा भिल्लारियलसँग पनि बराबरी खेल्यो । च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग ३-० को हार व्यहोर्‍यो ।

सन् २०१६ देखि २०१८ सम्म लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि जिताएपछि जिदान ‘बुलेटफ्रुज’ जस्तै देखिएका थिए । उनी अहिले खतरामा छन् ?

गत सिजनको अन्त्यमा स्पेनको राजधानी फर्किएका जिदानको जितको दर ५० प्रतिशतभन्दा कम छ । जिदानको दोस्रो सिजनमा रियलले ला लिगा र च्याम्पियन्स लिगमा १६ मध्ये ७ खेल मात्र जितेको छ । चार बराबरी र ५ हार व्यहोर्‍यो ।

स्पेनिस फुटबल विज्ञ गेलेम बालाग्वे बीबीसी रेडियो फाइभ भन्छन्, ‘तपाईले क्लबको तापक्रम जाँच्न सुरु गरे हुन्छ ।’

उनले अघि भने, ‘फ्लोरेन्टिना परेज (क्लब अध्यक्ष) निकट पत्रकारहरुलाई सुन्नुस् । र, यदि उनीहरुले जिदान जानुपर्छ भन्न थालेका छन् भने बुझ्नुस्, ढोका खुला छ ।’

फ्रान्सका फुटबल विज्ञ जुलियन लोरेन्स भने ‘जिदानले राजीनामा दिने विश्वास गर्दैनन् र १९९८ का विश्वकप विजेता फ्रान्सम्यानलाई अवस्था सही ठाउँमा ल्याउन के गर्नुपर्छ भन्ने थाहा छ’ भन्न मान्छन् ।

जिदानलाई टिमको कमजोरी थाहा भएको र त्यो मिडफिल्ड शीर्ष क्लबको स्तरको नहुने भएको भन्दै उनले भने, ‘उनलाई विश्वास छ कि सुरुङको अन्त्यमा उज्यालो छ ।’

क्रिसमससम्म प्रशिक्षक रहलान् ?

जब रियल मड्रिडलाई लाग्छ कि कुनै परिर्वतन गर्नुपर्छ, त्यो भइछाड्छ ।

क्लबले जुलेन लोपेटेगीलाई बर्खास्त गर्न अक्टोबरसम्म पर्खियो । स्पेनका पूर्व प्रशिक्षक समेत रहेका उनी मात्र साढे चार महिना बेर्नाबाउको प्रशिक्षक रहे ।

उनको स्थानमा आएका सान्टिएगो सोलारी पनि पाँच महिनाभन्दा कम समय पदमा रहे । उनले रिदानलाई मार्चमा रियल मड्रिड फर्किने बाटो खुला गरेका थिए ।

फुटबल विज्ञ बालाग्वे भन्छन्, ‘यदि उनी भाग्यमानी रहेछन् मात्र सिजनको अन्त्यसम्म रहनेछन् ।’

तर सर्जिओ रामोस, मार्सेलो र लुका मोडरिक फर्किएपछि पनि टिमको प्रदर्शन कमजोर रहृयो भने क्रिसमसम्म क्लबमा रहिरहन जिदानलाई गाह्रो हुने उनको बुझाइ छ ।

विकल्प माउरिन्हो ?

यदि जिदान बर्खास्त भएमा रियल मड्रिडको प्रशिक्षकमा सबभन्दा प्रमुख दावेदार जोसे माउरिन्हो हुनेछन् । उनले २०१३ मा रियल मड्रिड छाडेका थिए । गत डिसेम्बरमा म्यानचेष्टर युनाइटेडले बर्खास्त गरेपछि उनी क्लबबिहीन छन् ।

स्पेनिस अनलाइन मार्काले भने मासिमिलियानो एलेग्री र रियलका लेजेन्ड राउललाई पनि बैकल्पिक उम्मेदवारका रुपमा राखेको छ । २०१८ मा जिदानले छाडेपछि युभेन्टसका पूर्व प्रशिक्षक एलेग्री सम्भावित प्रशिक्षकको सूचीमा थिए ।

यस्तै जसरी जिदान खेलाडी हुँदै प्रशिक्षक भएका थिए, राउल पनि जिदानको पथमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment