Comments Add Comment

विकास नयाँ जुत्ताजस्तै हो, एकैदिनमा हुँदैनः अर्थमन्त्री खतिवडा

४ असोज, पोखरा । अर्थमन्त्री डा युवराज खतिवडाले नयाँ अर्थतन्त्रको परिणाम तत्काल नदेखिने बताएका छन् ।

विकास सुस्त भइरहेको भन्दै नकारात्मक कुरा बाहिर आइरहेको भएपनि हतोत्साही नहुन आग्रह गरे । ‘नयाँ जुत्ता लगाउँदा सुरुमा खुट्टा दुखाउँछ । तर लगाउँदै गएपछि कम्फर्टेबल हुन्छ । कहिल्यै नच्यातियोस् भन्ने हुन्छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘विकास भनेको त्यस्तै हो । यसको गति विस्तारै हुन्छ ।’

पोखरा उद्योग वाणिज्य संघको ६५ औं अधिवेशन कार्यक्रममा अर्थमन्त्री राजश्व चुहावटमा भुलचुक हुने तर त्यसको प्रकृति हेरिने बताए । उनले करछली गर्नेलाई जेल हाल्ने भनेर आफू नबालेको भन्दै उनले भने ‘राजश्व चुहावटमा जेल नहाल्ने भनेरै आर्थिक दण्ड धेरै बनाइएको हो र मेरै पालामा कर छली गर्नेलाई जेल सजाय कम गर्न व्यवस्था गरेको हुँ । जेल हाल्ने भनेर कराउनेचाहिँ तपाईंहरु ?’

भ्रष्टाचार आर्थिक विकासको बाधक भएकाले त्यसमा एकले अर्कालाई दोष थोपर्नुभन्दा आफैंदेखि सुधार गर्नुपर्ने बताए । उनले भने, ‘करछली र भ्रष्टाचार अमान्य कुरा हो । सबैले ऐनामा आफैं हेर्दै सुधार गर्नुपर्छ ।’

व्यवसायीले प्यान नम्बर प्रणालीबाट तर्सिएकोबारे भन्दै उनले असन्तुष्टि जनाए । आर्थिक पारदर्शिताका लागि प्यान नम्बर तथा भिसिटिएस प्रणाली लागू गरिएको अर्थमन्त्री खतिवडाले बताए ।

‘व्यवसायी मित्रहरुले एक दिनमा एक हजार श्रमिकलाई दिन्छौं । कसरी प्यान नम्बर माग्न सक्छौं भन्नुभएको छ । दिनको एक हजार तलब दिने व्यवसायी अगाडि आउनुस्, फूलमाला लगाउन तयार छु,’ उनले भने ।

‘प्यान नम्बर भनेको आर्थिक आम्दानी गर्नेको नागरिकताजस्तै हो । प्यान नम्बर लिँदैमा कर तिर्नुपर्छ भन्ने होइन ।’

‘बसमा ट्रयापिङ सिस्टम लागू गर्‍यौं । यसमा २ महिनाभित्रै २ लाखभन्दा बढी बस व्यवसायी जोडिनु भएको छ,’ खतिवडाले भने, ‘व्यवसायीलाई समस्या छैन । तर, राजनीति गर्नेलाई समस्या छ ।’ उनले सुरुमा परीक्षण गरिरहेको र देखिएका समस्याको हल गर्दै लगिइरहेको सुनाए ।

उनले ऐन, कानुन ल्याउँदा छलफल नगरेको उद्योगी व्यवसायीको आरोप पनि खण्डन गरेका छन् । ‘हामीले सम्बन्धित संस्थाका प्रमखुसँग छलफलपछि संस्थागत निर्णय गरिरहेका छौं,’ उनले भने, ‘सरकार व्यक्तिव्यक्तिसँग छलफल गर्न सक्दैन । र सधैंभरि छलफलमै रहिरहन सक्दैन ।’

उद्योगी व्यवसायी आफैं बैंकका सेयर होल्डर भएर बस्ने र आफैं ब्याज बढयो भनेर भन्नु अमिल्दो कुरा भएको बताए । ‘बैंकको ब्याज निश्चित हुनुपर्छ भन्ने पक्षमा सरकार पनि छ । बैंकरसँग छलफल पनि भइरहेको छ । तर यहाँ अधिकांश व्यवसायी बैंकर छन् । आफैं बैंकर हुने आफैं ब्याज बढयो भन्ने ?’ उनले प्रश्न गरे ।

बैंक नियमन गर्न खोज्दा अधिनायकवाद लागु गर्न खोजेको भन्ने आरोप आउने गरेकोसमेत उनले सुनाए । कार्यक्रममा नेपाल उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पर्यटन वर्ष मनाउन नेपाल सक्षम नभइसकेको बताए ।

उनले पर्यटनल वर्ष २०२० मनाउँदै गर्दा धेरै चुनौती पनि सँगै उभिएको सुनाए । ‘हामीसँग पूर्वाधार पर्याप्त बनिसकेका छैनन् । पर्यटन वर्ष मनाउन तयारी पूरा गरिसकेका छौं त ?’ उनले प्रश्न गरे ।

गोल्छाले नेपालमा पछिल्लो समय पर्यटकको आगमन बढेपनि उनीहरुको खर्च घटेको सुनाए । ‘पर्यटक बढेका छन् । तर, उनीहरुले गर्ने खर्च आधाभन्दा बढी घटेको छ,’ उनले भने, ‘हामी सधैं झोले पर्यटकमै रमाउने हो कि पि्रमियम पर्यटक पनि डाक्ने वातावरण बनाउने हो ?’ उनले नेपालको व्यापारघाटा बढिरहेको र रेमिटयान्सले धानिरहेको चिन्तालाग्दो विषय भएको विचार राखे । उनले निजी क्षेत्र निराशातर्फ गइरहेकाले सरकारले उनीहरुका समस्याबारे छलफल गर्नुपर्ने माग राखे ।
उवासंंघले हरेक २ वर्षमा प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार भरत कोइरालालाई प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment