Comments Add Comment

पर्यटनका लागि सिनेमा : इलाम खोज्दै फिल्मकर्मी

माया-पिरतीको कथामा मार्धुय धुन भरेर श्रव्यदृश्यमा उतार्न माहिर निर्देशक सुदर्शन थापा यतिबेला प्रेमकै कथा बोकेर इलाम पुगेका छन् । बार्दलीसहितको मझौला आकारको काठे घर, लस्करै उभिएका धुपीका बोट, गलैंचा विच्छ्याए झै चिया बगानलाई पृष्टभूमीमा राखेर उनले एक सांगीतिक प्रेमकथा उतार्दैछन् । चलचित्र हो, म यस्तो गीत गाउँछु-२ ।

यो म्युजिकल लभस्टोरीमा अभिनेता पल शाह र पूजा शर्माको मूख्य भूमिका छ । पल र पूजासहित हरिहर शर्मा लगायतका कलाकर्मीको पनि यतिबेला इलाममा जमघट छ ।

उत्तरी बस्ती जसबीरेलाई आधारथलो बनाएर फिल्मको छायांकन इलामका विभन्न स्थानमा हुने निर्माण टिमले जनाएको छ । शरद ऋतुको यो याममा फिल्म छायांकनका लागि मौसमले भने त्यती साथ दिएको छैन । यद्यपि इलामको विशेषता के भने, क्षणमै भूँइकुहिराले ढम्म ढाकिने, क्षणमै आकास खुल्ने । भूँइकुहिरोको यो लुकामारीबीच निर्देशक थापाले संगीतिक प्रेमकथालाई श्रव्यदृश्यमा उतार्दैछन् ।

त्यसो त केही बर्षयता नेपाली चलचित्रहरुमा इलामको मनोरम चिया बगानलाई समेट्दै आइरहेको छ । कुनैबेला भेट्रान निर्देशक तुलसी घिमिरेले पूर्वी पहाडकै रहनसहनसँग मिल्दो परिवेशलाई चलचित्रमा देखाउने गर्थे । यद्यपि ति परिवेश भने दार्जिलिङ, कालेबुङतिर छायांकन गरिएको हुन्थ्यो ।

त्यसपछिका लामो कालखण्ड नेपाली चलचित्र काठमाडौंकै सेरोफेरोमा घुमिरह्यो । रानीबारीको डाँडा र चोभारको गल्छी पार गरेर बाहिर जाने हिम्मत गरेन । त्यसैले नेपाली चलचित्र काठमाडौं काँठ क्षेत्र वा धुलिखेल, नगरकोटमै फन्को लगाइरह्यो । यसरी नेपाली चलचित्र पट्यारलाग्दोगरी उही परिवेश, उही रहनसहन, उही भूगोलबाट उम्कन सकेन ।

पछिल्लो समय भने चलचित्रले देशका विभिन्न भेगबाट आफ्नो कथा उठान गर्न थालेको छ । मनाङ-मुस्ताङको चित्ताकर्षक भू-सतहदेखि तराईका मनोरम फाँटहरुलाई नेपाली चलचित्रले पृष्टभूमीमा सजाउँदै आएको छ । मुस्ताङको थकाली भान्सादेखि तराईका झुप्राभित्र नेपाली चलचित्र प्रवेश गरेका छन् । चलचित्रले विभिन्न भेगको रहनसहन, वेशभूषा, रीतिथिती, खानपान, लवजलाई समेट्दै लगेको छ ।

खासमा चलचित्र एक यस्तो दस्तावेज हो, जसले एउटा युगलाई संग्रहित गर्छ । नेपाली चलचित्रले पनि अहिले देशभरका रहनसहन, चालचलनलाई संग्रहित गर्न थालेको छ ।

इलाम खोज्दै फिल्मकर्मी

निर्देशक विकास राज आचार्यले इलामकै सेरोफेरोमा ‘नाई नभन्नु ल-५’ को कथा बुने । अशोक शर्माले पनि ‘जय भोले’मा इलामका चिया वगानलाई समेटे । ‘प्रेम दिवस’ चलचित्रले इलामको ग्रामिण भेगलाई पर्दामा उजागर गरिदियो ।

‘लभ स्टेशन’को दृश्यहरुमा पनि इलाम समेटिए । दयाहाङ राई स्टारर चलचित्र ‘आप्पा’ले इलामको लेकाली भेग सन्दकपुरको दृश्यलाई पर्दामा उतारिदियो । वितेका दुई बर्षयता चलचित्रकर्मीको रोज्जा गन्तव्य बन्दैछ, इलाम । र, यसका लागि स्थानियस्तरबाट पहल भइरहेको छ ।

जिल्लामै मन्जरी कला केन्द्र स्थापना गरेर कला-संस्कृतिको उत्थानमा लागिपरेका केवल तामाङ भन्छन्, ‘इलामलाई चिनाउनका लागि हामीले चलचित्रलाई माध्याम बनाएका छौं । हामीले नै विभिन्न फिल्मकर्मीसँग समन्वय गरेर इलाममा चलचित्रको छायांकन गराइरहेका छौं ।’

खासगरी चलचित्र-पर्यटनलाई बढाव दिनका लागि यस किसिमको पहल गरेको उनको भनाई छ । चलचित्र उद्योगमै कार्यरत तामाङ भन्छन्, ‘यसरी इलाममै चलचित्र छायांकन गराउँदा यहाँको पर्यटन प्रवर्द्धन त हुन्छ नै, साथसाथै हाम्रा भाईवहिनीले पनि चलचित्रमा काम गर्ने अवसर पाउँछन् ।’

इलामकै हरि गुरुङ पनि इलामको पर्यटनलाई चलचित्रसँग जोड्ने कसरतमा जुटेका छन् । फोटोग्राफर समेत रहेका गुरुङ भन्छन्, ‘हामीले लामो समयदेखि इलामको पर्यटनलाई कसरी बढाव दिने भनेर सोचिरहेका छौं । अहिले चलचित्रले यसमा राम्रो टेवा पुर्‍याईरहेको छ ।’

सिनेमा र पर्यटन

चलचित्रको यो फैलावटले खासगरी स्थानिय पर्यटनमा राम्रो टेवा पुग्छ । जब कुनै क्षेत्र/भेगको पर्यटन प्रवर्द्धन हुन्छ, त्यहाँ स्वत समृद्धि भित्रिन्छ ।

पर्यटन प्रवर्द्धनका लागि चलचित्र जस्तो शक्तिशाली र प्रभावकारी माध्याम अरु हुँदैन । उत्सव-महोत्सव, पोस्टर-पर्चा आदिले पर्यटन प्रवर्द्धनमा जुन भूमिका खेल्छ, त्यो भन्दा कैयौं गुणा प्रभावकारी भूमिका चलचित्रले खेल्छ । त्यसैले पर्यटनमा आधारित विश्वका कतिपय मुलुकले आफ्नो थलोमा चलचित्र छायांकनका आमन्त्रण गर्ने गर्छ ।

केही बर्ष अघि नेपाली चलचित्रको एक अवार्ड समारोह सिक्किममा आयोजना गरिएको थियो । उक्त अवसरमा तत्कालिन मूख्यमन्त्री पवन चाम्लिङले नेपाली फिल्मकर्मीलाई लक्षित गर्दै भनेका थिए, ‘तपाईंहरु सिक्किममा आएर यहाँको दृश्यहरु समेटेर चलचित्र बनाउनुहोस् । यहाँको संस्कृतिलाई चलचित्रमा देखाउनुहोस् । चलचित्र निर्माणमा लाग्ने कुल खर्चको आधा रकम सिक्किम सरकारले व्यहोर्नेछ ।’

वास्तवमा चाम्लिङले चलचित्रका शक्ति बुझेरै यसो भनेका थिए । खासगरी पर्यटन प्रवर्द्धन र संस्कृतिको उत्थानमा चलचित्रले कति प्रभावकारी भूमिका खेल्छ भन्ने कुरा सायद उनलाई बोध थियो ।

आगमी वर्ष सरकारले नेपाल पर्यटन वर्ष मनाउने तयारी गरिरहेको छ । नेपाललाई विश्वमै चिनाउने र पर्यटकका लागि उर्वर थलो बनाउने यो पहलमा सबैभन्दा प्रभावकारी माध्याम बन्नसक्छ, चलचित्र । यता चलचित्र विकास बोर्डले छायांकनका लागि देशभरका संभाव्य गन्तव्यको खोजी गरिरहेको छ ।

तस्वीर : मिलन मुखिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment