Comments Add Comment

शान्ति वार्ता गर्न हुथी विद्रोहीको प्रस्ताव, राष्ट्रसंघद्वारा स्वागत

५ असोज, काठमाडौं । यमन र इरानको समर्थनप्राप्त हुथी विद्रोहीले शान्ति वार्ताको प्रस्ताव गरेको छ । प्रस्तावको संयुक्त राष्ट्र संघले स्वागत गरेको छ ।

साउदी अरबको तेल कम्पनीमाथि ड्रोन र मिसाइल आक्रमणको एक सातापछि हुथी विद्रोहीले साउदी अरेबियामा आक्रमण नगर्ने घोषणा गर्दै शान्ति वार्ताको प्रस्ताव गरेको हो ।

एक टेलिभिजन घोषणामा हुथीका सर्वोच्च राजनीतिक परिषद् अध्यक्ष महदी अल-मसातले आफ्नो समूहले साउदी अरेबियामाथिको सबै आक्रमण अन्त्य गर्ने बताएका छन् ।

‘यदि कसैले हाम्रो पहलमा प्रतिक्रिया दिएनन् भने यो मामलामा फेरि र्फकने र जवाफ दिने अधिकार सुरक्षित छ’, वृहत राष्ट्रिय मेलमिलापका लागि आह्वान गर्दै मसातले भनेका छन् ।

हुथीले राखेको शान्ति वार्ताको प्रस्तावको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत मार्टिन गि्रफिथ्सले समस्याको राजनीतिक समाधान खोज्न आहृवान गरेका छन् ।

हुथी विद्रोहीले साउदी अरबमाथि आफूले आक्रमण गरेको दाबी गर्दै आए पनि अमेरिका र साउदी अरबले अस्वीकार गर्दै आएका छन् । आक्रमणमा इरान संलग्न भएको उनीहरूको आरोप छ । तर इरानले आक्रमणको आफ्नो संलग्नताबारे इन्कार गर्दै आइरहेको छ ।

संयुक्त राष्ट्र संघले हुथीको घोषणापछि एक विज्ञप्ति जारी गर्दे यसले युद्ध अन्त्यका लागि सन्देश प्रवाह गर्ने बताएको छ ।

यमनको नागरिक युद्धले पछिल्ला केही वर्षदेखि संकट उत्पन्न गराउँदै आएको छ । यो युद्धबाट हालसम्म १० हजारको मृत्यु भइसकेको छ भने लाखौंलाई भोकमरीमा धकेलेको छ । यसलाई विश्वकै मानवीय प्रकोप ठान्ने गरिएको छ ।

हुथीहरूले खाडी राष्ट्रहरूमा असंख्य मिसाइल र रकेट आक्रमण गर्दै आइरहेका छन् । एक साताअघि १४ सेप्टेम्बरमा मात्रै हुथीले साउदी अरेबियाको अबक्वेक तेल फ्यासिलिटी र खुरइस तेल प्रशोधन केन्द्रमा आफूले आक्रमण गरेको दाबी गरेको थियो । जसको प्रभाव विश्वभरको इन्धन बजारमा परेको छ ।

यसैबीच साउदी अरबका तेल खानी र प्रशोधन केन्द्रहरुमा आक्रमण भएपछि अमेरिकाले प्रतिरक्षा स्वरुप त्यहाँ सेना पठाउने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment