
५ असोज, लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको अध्यक्षमा पुनम गुरुङ विजयी भएकी छन् । एनआरएनका सबैभन्दा धेरै सदस्य रहेको मुलुक बेलायतमा अध्यक्ष जित्ने पुनम पहिलो महिला हुन् ।
प्रतिस्पर्धी शेर बहादुर सुनारलाई २ सय ३ मतको अन्तरले हराउँदै पुनमले जित निकालेकी हुन् । आइतबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार पुनमले ४ हजार ५५१ मत प्राप्त गरेर अध्यक्ष जित्दा सुनार ४ हजार ३४८ मतमा रोकिए ।
एनआरएन युकेको महासचिवमा पनि पुनम प्यानलकै फणिन्द्र भट्टराई फराकिलो मतान्तरमा निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा प्रेम गाहा र सुलिबाबु खड्का तथा महिला उपाध्यक्षमा पुनम प्यानलकै रोजिना प्रधान राई विजयी भएका छन् ।
सचिवमा जित रानाभाट र कोशलेश्वर ढकाल निर्वाचित हुँदा महिला सचिवमा रन्जिता मल्लले बाजी मारेकी छन् । त्यस्तै, कोषाध्यक्षमा तेजेन्द्र रोक्का र सहकोषाध्यक्षमा सकुन्तला गुरुङ विजयी भएका छन् ।
एनआरएन युकेको युवा संयोजकमा नवीन गुरुङ र महिला संयोजकमा प्रसुना कँडेलले जितेका छन् । त्यस्तै, सदस्यहरुमा सरस्वती केसी, अमृता गिरी, गोमा पौडेल, प्रकाश कँडेल, कोपिला वनेम, लालवहादुर गुरुङ, कृष्णप्रसाद खरेल, डा.सुनीलकुमार शाह, हेम लिम्बु, चन्द्रकला लिम्बु,तारामैया गुरुङ र ज्ञानेन्द्र आलेमगर निर्वाचित भएका छन् ।
एनआरएन आईसीसी सदस्यमा बेलायतबाट लिलादेवी गुरुङ, सुशीला राई, योगकुमार फगामी, दयानिधी सापकोटा, ललित न्यौपाने, अर्कराज तिम्सिना र सुरोज मास्के निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया 4