Comments Add Comment

फेसबुकद्वारा दसौं हजार एप निलम्बन

क्याम्ब्रिज एनालिटिका डाटा चोरी काण्डपश्चात् सुरु गरिएको अनुसन्धानका क्रममा फेसबुकले दसौं हजार एपहरु निलम्बित गरेको छ ।

ती एपहरु झण्डै ४ सय एप डेभलपर्ससँग सम्बन्धित रहेको फेसबुकले जनाएको छ । यद्यपि, निलम्बित सबै एपहरुले प्रयोगकर्ताका लागि जोखिमको सिर्जना भने नगरेको समेत फेसबुकले जनाएको छ ।

अनुमतिविनै धेरै प्रयोगकर्ताका डाटाहरुमा राजनीतिक परामर्शसम्बन्धी कम्पनी क्याम्ब्रिज एनालिटिकाले अनधिकृत पहुँच प्राप्त गरेको खुलासा भएसँगै सन् २०१८ मा फेसबुक ठूलो दबावमा परेको थियो ।

प्रयोगकर्ताका ती डाटाहरु राजनीतिक विज्ञापनका लागि प्रयोग गरिएको थियो ।

उपभोक्ताको गोपनीयता उल्लंघन गरेको आरोपमा गत जुलाईमा फेसबुकमाथि अमेरिकी संघीय वाणिज्य आयोगले ५ अर्ब अमेरिकी डलर जरिवानाको फैसला गरेको थियो । गोपनीयता उल्लंघनमा यो अहिलेसम्मकै उच्च जरिवाना हो ।

दशौँ लाख फेसबुक प्रयोगकर्ताका डाटाहरु अनधिकृत रुपमा दुरुपयोग भएको क्याम्ब्रिज एनालिटिका काण्डले फेसबुकलाई ठूलो धक्का पूराउनुका साथै धेरै मुद्दाको सामना पनि गर्नुपरेको छ ।

आफ्नो छवि सुधार्न तथा प्रयोगकर्ताको गोपनीयता तथा डाटाको सुरक्षाका लागि फेसबुकले पछिल्लो समयमा सुरक्षाका उपायहरुमा कडाइ गरिरहेको छ ।

गत मार्चमा फेसबुकले आफ्नो एपमा विद्यमान एपहरुमाथि अनुसन्धान सुरु गरेको थियो । त्यसक्रममा फेसबुकबाट प्रयोगकर्ताका डाटा प्राप्त गरी अनधिकृत रूपमा शेयर गर्ने एपहरुमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । निलम्बन गरिएका कैयन् एपहरु तत्काल प्रतिबन्धमा परेको नभई सुरक्षासँग सम्बन्धित जवाफहरु नदिउन्जेल सम्मका लागि निलम्बन गरिएको बताइएको छ । निलम्बित कतिपय एपहरुले फेसबुकबाट प्राप्त प्रयोगकर्ताका डाटाहरु अनुसन्धानकर्ता तथा कम्पनीहरुलाई समेत प्रदान गर्ने गरेको पाइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment