Comments Add Comment

एक महिनामा मोरङमा १५ प्रहरी कारबाहीमा

६ असोज, विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले एक महिनामा प्रहरी सहायक निरीक्षकसहित १५ जनालाई कारबाही गरेको छ भने १८ जना प्रहरीलाई पुरस्कृत गरेको छ । भदौ महिनामा प्रहरी आचरण विपरित काम गर्ने एक जना प्रहरी सहायक निरीक्षकसहित १५ जनालाई कारबाही गरेको हो ।

भदौ महिनामाप्रहरी आचरण विपरित काम गर्ने एकजना सहायक प्रहरी निरीक्षक, ६ जना प्रहरी हवल्दार ६ र ८ जना प्रहरी जवानलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । कारबाहीमा परेकाहरुलाई ग्रेट घटुवा, नसिहत दिने र सचेत गराइएको अधिकारीले बताए ।

उनका अनुसार भदौ महिनामा एकजना प्रहरी निरीक्षकसहित १८ जना प्रहरीलाई पुरस्कृत गरिएको छ । भदौ महिनामा प्रहरी नायव निरीक्षक २, प्रहरी सहायक निरीक्षक २, प्रहरी हवल्दार ४ र ९ जना प्रहरी जवान गरी १८ जनालाई पुरस्कृत गरिएको हो । भदौ महिनाकालागि प्रहरी जवान चण्डिमान राईलाई पुलिस अफ द मन्थको उपाधि प्रदान गरिएको छ ।

दशैंमा साढे नौ सय प्रहरी

दशैंको सुरक्षाकालागि मोरङ प्रहरीले ‘दशै लक्षित सुरक्षा योजना’ लागू गरेको छ । विराटनगर महानगरपालिकासहित जिल्ला भरकालागि दशैं लक्षित सुरक्षा योजना लागू गरेको हो । योजना लागू भएपछि नौ सय ६० प्रहरी परिचालन भएको मोरङका प्रहरी उपरीक्षक अधिकारीले बताए ।
अधिकारीका अनुसार मोरङ प्रहरीले सुरक्षा योजना अनुसार भारतीयसँग सिमा जोडिएको क्षेत्र रानी, विराटनगर बसपार्क र विराट चोकमा नागरिक सहायत केन्द्र सञ्चालन गरिने छ ।

राजमार्ग र सहायक मार्गमा सडक सुशासन कायम गराउन, किनमेल गर्ने ग्राहक र पसलहरुको सुरक्षा गर्ने, बैंक बित्तिय संस्था, मठमन्दिर , पुजा स्थल, सुनपसलको सुरक्षाकालागि छुट्टा छुट्टै युनिट खटाइने छ ।

अपराधिक गतिविधि नियन्त्रणकालागि स्वीप अप्रेशन सञ्चालन गर्नेको कार्यलाई निरन्तरता दिने अधिकारीले बताए । प्रहरीले भदौमा मात्र स्वीप अप्रेशन अन्तरगत संकास्पद ३ सय १६ जनामाथि अनुसन्धान गरेको थियो ।

दशैं सुरक्षाकालागि प्रहरी कार्यालयहरुले मोवाइल , पिकेट , पैदल , साइकल, मोटरसाइकल र सादा पोशाकको गस्ति खटाउनेदेखि, सिमा नाका , होटल लज , यातायात चेकजाँचका लागि जिल्ला भर दैनिक ९ सय ६० जना प्रहरी परिचालन गरिएको उनले बताए ।

अधिकारीले प्रदेश १ को राजधानी विराटनगरमा छुट्टै सुरक्षा योजना लागू गरेको जानकारी दिए । महानगरपालि सर्वसाधरणको भिडभाड हुने स्थान, आर्थिक कारोवार हुने स्थान र आपराधिक गतिविधि हुन सक्ने स्थानको पहिचान गरी मोवाइल टोली, सादा पोशाक, सिआरभी, प्रहरीको पिकेट, पैदल, साइकल गस्ती सुुरु गरिएको अधिकारीले बताए ।

मापसेमा तीन पटक फेल भए प्रहरीले सिकाउने

दशैंमा मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइए तत्काल कारबाहीको दायरामा ल्याउने प्रहरी उपरीक्षक अधिकारीले बताए ।

मापसे गरी सवारी चलानेहरुमाथि कारबाही गर्न मोरङ प्रहरीले मापसे परीक्षा सञ्चालन गर्दै आएको छ । सफ्टवेर निर्माण गरी मापसे चेकजाँच र परीक्षा सञ्चालन गरेको प्रहरीले दशैं नजिकिएपछि मापसे चेकजाँचमा कडाइ गरेको हो ।

दैनिक १०–१२ जना मापसे परीक्षाकालागि जिल्ला प्रहरी कार्यालय पुग्ने गरेका छन् । मापसे परीक्षामा सहभागीहरुलाई प्रहरीले ट्राफिक सुरक्षा र सडक सुशासन सम्बन्धी प्रश्न पत्र तयार गरी दिने गरेको छ । तीन पटकसम्म परीक्षा पास नगर्नेहरुलाई प्रहरीले आफै सिकाउने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताए । ‘प्रहरीको नियत जनतालाई दुःख दिने होइन् ’ उनले भने ‘ मापसे चेकजाँचमा परेकाहरुलाई परीक्षा दिदा तिन पटक फेल प्रहरीले नै सिकाएर पास गराउछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment