काठमाडौं । न्युयोर्कमा रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकी सांसदहरूलाई काश्मिर घटनाबारे जानकारी गराएका छन् ।
भारतले काश्मिर बिषयमा लिएको पछिल्लो कदमपछि भारतसँग व्यापारिक कारोबार बन्द गरेका खानले काश्मिरमाथि भारतले अन्याय र अत्याचार गरेको टिप्पणी गरे । कार्यक्रममा अमेरिकी सिनेटको विपक्षी दलका नेता चक स्कुमर र सिनेटको न्यायिक समितिका अध्यक्ष लिन्डसी ग्राहम पनि सहभागी थिए ।
न्युयोर्क पुगेको दोस्रो दिन उनले सांसद र संसदका नेताहरुलाई काश्मिर मामिलामा आफ्नो धारणा राखेका हुन् । पछिल्लो समय आर्थिक सङ्कटबाट ग्रस्त रहेको देशका प्रधानमन्त्री खानले भारत प्रशासित जम्मु काश्मिरलाई केन्द्रीय सरकारको मातहतमा लगिएकोमा सुरुदेखि नै आपत्ति जनाउदै आएका छन् ।
भारतले आफ्नो संविधानको धारा ३७० खारेज गर्दै जम्मु र काश्मिरलाई केन्द्रीय सरकारको मातहतमा ल्याएको घोषणा गरेको थियो । भारतको सो घोषणाका विरुद्धमा पाकिस्तानमा देशव्यापी प्रदर्शनको आयोजना गरी पाकिस्तानी प्रधानमन्त्री खानले काश्मिर मामिलालाई राष्ट्रसंघको महासभामा उठाएर विश्वको ध्यानाकर्षण गराउने बताएका थिए । उनले महासभा भन्दा बाहिर भेटवार्ता गरेका अधिकांश नेतासँग काश्मिर मामिलाका बारेमा ध्यानाकर्षण गरेको बताइएको छ ।
अर्को तर्फ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि महासभाका लागि न्युयोर्कमा नै पुगेका छन् । उनले भारत र अमेरिकाको सम्बन्धलाई थप बलियो बनाउने प्रयासलाई जारी राखेका छन् ।
प्रधानमन्त्री मोदीले न्युयोर्क आइपुगेको पहिलो दिन नै उर्जा क्षेत्रका अगुवाहरूसँग लगानी र सहकार्यका बारेमा छलफल गरेका थिए ।
विश्वको छाता संस्थाको रूपमा रहेको राष्ट्रसंघको महासभामा सहभागी हुन अधिकांश देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरु अहिले न्युयोर्कमा भेला भएका छन् ।
रासस/एएनआई
प्रतिक्रिया 4