+
+
Shares

गण्डकीका मन्त्री फिर्ता बोलाउने निर्णय अनुमोदन गर्दै एमाले संसदीय दल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते ६:४२

१० भदौ, पोखरा । गण्डकीमा एमाले संसदीय दलको बैठक बसेर आज सरकारमा मन्त्रीहरु फिर्ता बोलाउने निर्णय अनुमोदन गर्दैछ । मंगलबार संसदीय बोर्डको बैठक बसेर मन्त्रीहरुले राजीनामा दिने निर्णय भएको थियो । अहिले बिहान दलको बैठक बसेर समसामयिक एजेण्डामा छलफल गर्ने र सरकारबाट फिर्ता हुने विषयमा निर्णय हुने दलका पदाधिकारीहले जानकारी दिएका छन् ।

बोर्डले मंगलबार नै निर्णय गरेर उपनेता लिलबहादुर थापाको नेतृत्वमा मन्त्रीहरुले मुख्यमन्त्रीलाई भेटेर राजीनामा बुुझाउने तय भएको थियो ।

बुधबार संसदीय दलको बैठक बसेर त्यसको निर्णयपछि मात्रै सरकारबाट पछि हट्नेलगायत अन्य समसामयिक विषयमा निर्णय हुने प्रमुख सचेतक देवका पहारीको भनाइ छ । गण्डकीमा एमालेका ४ जना मन्त्री छन् ।

पछिल्लो पटक मुख्यमन्त्री पाण्डेले वैशाख २ गते मन्त्रिपरिषद् हेरफेर गरेका थिए । एमालेबाट गोविन्द नेपाली भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, भीम कार्की भूमि व्यवस्था कृषि तथा सहकारी, यशोदा रिमाल उद्योग तथा पर्यटन र लक्ष्मण पाण्डे स्वास्थमन्त्री छन् ।

उनीहरुले आजै मुख्यमन्त्रीलाई राजीनामा बुझाउने एमाले संसदीय दलका पदाधिकारीले बताएका छन् । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी मिलेर जाने सहमति गरेपछि गण्डकीमा पनि ढिला गरी सरकारबाट बाहिरिन लागेको हो ।

एमाले र नेकपा मिलेर पनि गण्डकीमा सरकार बन्ने स्थिति छैन । एमाले–नेकपा सरकार बन्न र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मुख्यमन्त्रीमा यथावत रहन दुबैलाई राप्रपा चाहिन्छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभा अहिले ५९ सदस्यीय कायम छ । मनाङबाट स्वतन्त्र रुपमा विजय दीपक मनाङेको पद रिक्त छ ।

सरकार बनाउन बहुमतका लागि ३० चाहिन्छ । तर, एमालेका २२ र नेकपाका ६ सांसद छन् । राप्रपाबिना बहुमत पुग्ने देखिँदैन ।
२ सदस्यीय राप्रपाले अहिलेकै मुख्यमन्त्री सुरेन्द्रराजलाई विश्वासको मत दिएको थियो र समर्थन पनि फिर्ता लिएको छैन ।

तत्कालीन माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटाले पनि मुख्यमन्त्री पाण्डेलाई नै विश्वासको मत दिएका थिए र उनले पनि समर्थन फिर्ता लिएका छन् ।

गण्डकीमा कांग्रेसका २७ सांसद छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे दुई पटकसम्म सर्वोच्च अदालतमा रिट हालेर खगराज नेतृत्वको सरकारलाई पदमुक्त गरेपछि सुरेन्द्रराज २०८१ जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?