+
+
Shares

आजका पत्रिका : ‘चीनतिर ढल्कियो नेकपा’

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ७ गते ६:२२

७ असोज, काठमाडौं । आजका पत्रिकाहरुमा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संयुक्त अन्तर्क्रियाको समाचारले प्राथमिकता पाएको छ । त्यसबाहेक मेडिकल कलेजलाई अतिरिक्त शुल्क फिर्ता नगर्ने मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही हुनेलगायतका समाचार पनि प्राथमिकताका साथ छापिएका छन् ।

अन्नपूर्ण पोष्ट दैनिकमा चिनियाँ कम्युनिष्ट पार्टीले अवलम्बन गर्दै आएको ‘सी चिनफिङ विचारधारा’बारे दुवै देशका कम्युनिष्ट पार्टीले काठमाडौंमा छलफल गरी भाइचारा सम्बन्ध स्थापना गर्ने घोषणा गरेको समाचार छ । चीनतिर ‘ढल्कियो’ नेकपा शीर्षक दिएर लेखिएको समाचारमा दुवै पार्टीले एकअर्काका विचार, सिद्धान्त र प्रयोगलाई बुझ्ने तथा समाजवादको दिशातिर जाने रणनीतिक योजनाबारे छलफल चलाएको उल्लेख छ ।

अन्नपूर्ण थप लेख्छ, ‘कम्युनिष्ट पार्टी स्थापनाको झण्डै १०० वर्ष, जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्ष र चिनियाँ राष्ट्रपतिको हुन लागेको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा दुई पार्टीबीच विकसित भइरहेको सम्बन्धले नेकपा चीनतिर ढल्किएको स्पष्ट हुन्छ ।’

नागरिक दैनिकले चिनियाँ मोडेलको समाजवाद नेपालका लागि प्रेरणा रहेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई मुख्य समाचार बनाएको छ ।

सँगै ललिता निवास प्रकरणमा दर्जनौं उजुरी पर्दासमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको समाचार पनि नागरिकले छापेको छ । नागरिक लेख्छ, ‘ललिता निवासको २ सय ९९ रोपनी सरकारी जग्गा व्यक्तिले हडपेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०५८ सालदेखि नै उजुरी पर्न थालेका थिए । तर तीमाथि छानबिन गर्न अख्तियारले चासो नदेखाएको खुल्न आएको छ ।’

यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणमा सवा अर्ब बोनस बाँड्न चलखेल भएको समाचार पनि छ । ‘एक दशकदेखि अर्थ मन्त्रालयको दबावमा कर्मचारीलाई बोनस रकम बाँड्न नपाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अहिले मन्त्री फेरिएसँगै फेरि सोही प्रयोजनका लागि चलखेल सुरु गरेको छ,’ नागरिकको समाचारमा लेखिएको छ ।

कान्तिपुर दैनिकले नागढुंगा-सिस्नेखोला सुरुङमार्ग ४२ महिनाभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको समाचारलाई मुख्य प्राथमिकता दिएको छ । यस्तै विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता नगर्ने निजी मेडिकल कलेज सञ्चालकलाई ठगी मुद्दामा कारबाही हुने समाचार पनि कान्तिपुरले प्रथम पृष्ठमै एक कोलममा छापेको छ ।

चीनको विदेश नीतिको प्रधानमन्त्री ओलीले प्रशंसा गरेको भनेर मुख्य समाचार बनाएको राजधानी दैनिकले मेडिकल कलेजलाई ४९ करोड अवैध शुल्क फिर्ता गर्न सरकारले ताकेता गरेको समाचार पनि लेखेको छ ।

कारोबार दैनिकले ४२ महिनामा निर्माण सम्पन्न हुने भनिएको नागढुंगा-नौबिसे सुरुङमार्गमा १३ अर्ब लगानी हुने समाचार छापेको छ । यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौंको बाहिरी चक्रपथ निर्माण सार्वजनिक-निजी-साझेदारी (पीपीपी) मोडेलमा निर्माण हुने समाचार पनि कारोबारमा छ ।

नेपाल समाचारपत्र दैनिकमा बैंक अफ काठमाडौंका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ प्रक्राउ प्रकरण र मेडिकल कलेलजाई शुल्क फिर्ता गर्न सरकारले दिएको निर्देशनसँग सम्बन्धित समाचार छन् ।

गोरखापत्र दैनिकमा पनि चिनियाँ र नेपाल कम्युनिष्ट पार्टीबीचको अन्तर्क्रियामा नेताहरुले दिएको अभिव्यक्तिको आधारमा बनाइएको मुख्य समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?