Comments Add Comment

वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक प्यानल विजयी

Photo Credit : Bishnu Gaire/Facebook

८ असोज, काठमाडौं । वैदेशिक रोजगार व्यावसायी संघको अध्यक्षमा कांग्रेस निकट विष्णुप्रसाद गैरे विजयी भएका छन् । प्रमुख सत्तारुढ नेकपा निकट संयुक्त व्यावसायी समूहका सरोज कुमार पोखरेललाई ४७ मत अन्तरले हराउँदै गैरे अध्यक्षमा विजयी भएका हुन् ।

यसअघि निवर्तमान नेतृत्व वामपन्थी निकटको थियो । तर टानको निर्वाचनमा जस्तै वैदेशिक रोजगार व्यवसायी संघको चुनावमा पनि कांग्रेससँग नेकपा पराजित भएको छ ।

मंगलबार काठमाडौंको बौद्धस्थित होटल हायातमा भएको साधारणसभामा कुल ६१९ मत खसेकोमा अध्यक्षमा विजयी गैरेले २७० मत पाए । पराजित पोखरेलले २२८ मत पाए ।

संघको पूर्व उपाध्यक्षसमेत रहेका गैरे नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यावसायी फोरमका पूर्वअध्यक्ष एवं अक्सन इन्टरनेशनल प्रालिका सञ्चालक हुन् ।

महासचिवमा सुजित कुमार श्रेष्ठ, कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी

साधारणसभाबाट वैदेशिक रोजगार व्यावसायी संघको प्रथम उपाध्यक्षमा लोकतान्त्रिक समूहकै कमल तामाङ विजयी भएका छन् । तामाङले निकटतम प्रतिस्पर्धी हरिबहादुर पाण्डेलाई १२९ मत अन्तरले पराजित गरे । तामाङले ३१२ र पाण्डेले १८३ मत पाएका छन् ।

द्वितीय उपाध्यक्षमा कमल देव मल्ल र तृतीय उपाध्यक्षमा किशोर कुमार केसी विजयी भएका छन् । द्वितीय उपाध्यक्षमा विजयी मल्लले २५९ र उनका प्रतिस्पर्धी मुक्तिनाथ अधिकारीले २३३ मत पाएका छन् । यस्तै तृतीय उपाध्यक्षमा विजयी केसीले २९८ र उनका प्रतिस्पर्धी अख्तर हुसैनले १९७ मत पाएका छन् ।

यसैगरी महासचिवमा सुजित कुमार श्रेष्ठ ३०९ मतसहित विजयी भएका छन् । अर्का प्रतिस्पर्धी रामचन्द्र गिरीले १८२ मत पाए ।

सचिवमा मेघनाथ भुर्तेल ५० मत अन्तरले विजयी भए । भुर्तेलले २७० मत पाउँदा उनका प्रतिस्पर्धी सन्जु गुरुङले २२० मत पाएकी छन् ।

यसैगरी कोषाध्यक्षमा इन्दिरा गुरुङ सबैभन्दा बढी २९७ मतसहित विजयी भएकी छन् । कोषाध्यक्ष पदका अर्का प्रत्यासी तेजमाया लिम्बुले १९४ मत पाइन् ।

सदस्यहरुमा कर्णराज कटुवाल, दिनेश कुमार राय, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, विजय लामा, बाबुलाल मगर, केशवराज न्यौपाने, छविलाल भट्टराई र लक्ष्मण पौडेल विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment