+
+
Shares

साधारण प्रकृतिका वैदेशिक रोजगार ठगीका उजुरी अब जिल्लामै दर्ता गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगार ठगीसम्बन्धी साधारण प्रकृतिका उजुरी अब सम्बन्धित जिल्ला प्रशासन कार्यालयमै दर्ता र मिलापत्र गर्न सकिने व्यवस्था विभागले गरेको छ ।
  • वैदेशिक रोजगार विभागले नयाँ अनलाइन प्रणाली सञ्चालनमा ल्याएपछि पीडितले स्वदेश वा विदेशबाटै प्रमाणसहित उजुरी दर्ता गर्ने सुविधा प्राप्त गरेका छन् ।
  • गम्भीर प्रकृतिका ठगीका घटनाको अनुसन्धान विभागले नै गर्नेछ र उजुरीको अवस्थाबारे इमेल तथा एसएमएसमार्फत नियमित जानकारी दिइने व्यवस्था मिलाइएको छ ।

६ साउन, काठमाडौं । साधारण प्रकृतिका वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी अब जिल्ला प्रशासन कार्यालयमै दर्ता गर्न सकिने भएको छ । यस्ता उजुरीमा जिल्ला प्रशासन कार्यालयबाटै मिलापत्र गराउन सकिने भएको हो भने गम्भीर प्रकृतिका ठगीका घटनाको अनुसन्धान वैदेशिक रोजगार विभागले नै गर्नेछ ।

यसका लागि वैदेशिक रोजगार विभागले उजुरी तथा मुद्दा व्यवस्थापनका लागि अनलाइन प्रणाली विकास गरी सञ्चालनमा ल्याएको छ । उक्त प्रणालीमार्फत वैदेशिक रोजगार ठगीका घटनासम्बन्धी उजुरी अनलाइनबाट दर्ता गर्न सकिने व्यवस्था गरिएको हो ।

प्रणालीमार्फत वैदेशिक रोजगार ठगीमा परेका व्यक्तिले आवश्यक प्रमाणसहित उजुरी दर्ता गर्न सक्नेछन् । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम लिएर नपठाएको, तोकिएभन्दा बढी शुल्क असुलेको, राहदानी कब्जामा राखेको, विदेशमा करार सम्झौताअनुसारको काम, तलब वा सेवा–सुविधा नपाएको लगायतका विषयमा स्वदेश वा विदेशबाटै पीडित वा उनका परिवारका सदस्यले उजुरी दिन सक्नेछन् ।

दर्ता भएको उजुरीको अवस्थाबारे सम्बन्धित उजुरीकर्तालाई इमेल र एसएमएसमार्फत नियमित जानकारी दिइने विभागले जनाएको छ ।

विभागका अनुसार प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि वैदेशिक रोजगारसम्बन्धी उजुरी ७७ वटै जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्न सकिनेछ। साथै, उजुरीमाथिको प्रारम्भिक कारबाहीसमेत सम्बन्धित जिल्लाबाटै हुने व्यवस्था मिलाइनेछ। यसबाट उजुरीकर्ताले सामान्य प्रक्रियाका लागि काठमाडौं धाइरहनुपर्ने बाध्यताको अन्त्य हुने विभागको विश्वास छ ।

जिल्लाभित्र भएका साधारण प्रकृतिका ठगीका घटना सम्बन्धित जिल्लामै मिलापत्र गराइनेछ । मिलापत्र हुन नसकेका वा गम्भीर प्रकृतिका ठगीका घटनाको अनुसन्धान भने वैदेशिक रोजगार विभागले गर्नेछ । यसबाट पीडितलाई न्याय दिलाउन, वैदेशिक रोजगारीमा जाने वा गएका श्रमिकलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन तथा अलपत्र परेका श्रमिकको उद्धारमा समेत सहज हुने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?