Comments Add Comment

कृषि विकास बैंक ह्याकिङ प्रकरण : बैंककै कर्मचारीको संलग्नता !

८ असोज, काठमाडौं । बैंकिङ क्षेत्रमा पछिल्लो समय सिस्टम हृयाकिङको विषय चर्चामा छ । चिनियाँ हृयाकरहरुले एटिएम हृयाक गरेर करोडौं रकम निकालेको विषय सेलाउन नपाउदै पुनः कृषि विकास बैंक ह्याक भएको घटना सार्वजनिक भएको छ ।

कृषि विकास बैंकको सिस्टम हृयाक गरेर ठूलो रकम निकालिएको छ । प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख रुपैयाँ निकालिएको बुझिएको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले सिस्टम हृयाक गरेर रकम निकालिएको पुष्टि गरे ।

उनका अनुसार विगतको भन्दा फरक तरिका अपनाएर रकम निकालिएको छ । यसअघि नेपालमा २ किसिमका हृयाक भएका थिए । पहिलो स्वीफ्ट हृयाक गरेर विदेशबाट ठूलो रकम निकिालएको थियो भने एटीएम हृयाक गरेर चिनियाँ हृयाकरहरुले नेपाल र भारतबाट रकम निकालेका थिए ।

‘कृषि विकास बैंकमा भने विशुद्ध नयाँ शैलीको अपराध छ,’ प्रवक्ता निरौलाले भने, ‘यस विषयमा अनुसन्धान भइरहेको छ ।’

कसरी भयो चोरी ?

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार हृयाकरहरुले ब्यालेन्स सीट नै तल-माथि बनाएका छन् ।

कार्यकारी निर्देशक मिश्रले दिएको जानकारीअनुसार कृषि विकास बैंकको सिरहाको लहान र धनगढी शाखा कार्यालयहरुबाट रकम ट्रान्सफर गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ट्रान्सफर गरिएको रकम केही व्यक्तिको खातामा समेत हालिएको उनले बताए ।

‘नयाँ शैली अपनाएर रकम निकालिएको छ, यहाँ ब्यालेन्स सीट समेत चलाइएको छ,’ कार्यकारी निर्देशक बमबहादुर मिश्रले भने, ‘ट्रान्सफर गरिएको रकम ३/४ जना व्यक्तिको खातामा हालिएको छ ।’

उनले भने, ‘बैंकको ब्यालेन्स सीटबाट केही रकम डेबिट गर्ने अनि नयाँ खाता खोलेर खातामा पठाएको जस्तो देखिएको छ ।’

यो पनि पढ्नुहोस स्पेनबाट भएको थियो नेपालको एटीएम ह्याक

बैंककै कर्मचारीको संलग्नता !

कृषि विकास बैंक सिस्टम हृयाकिङ प्रकरणमा भने बैंककै कर्मचारीको संलग्नता रहेको आशंका गरिएको छ । प्रहरीले यस प्रकरणमा जोडिएको आशंका गर्दै ११ जनालाई विभिन्न ठाउँहरुबाट पक्राउ गरिसकेको छ ।

तर अनुसन्धान प्रक्रिया भर्खरमात्रै शुरु भएको भन्दै प्रहरीले यस बारेमा मुख खोलेको छैन । राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानका क्रममा भने बैंककै कर्मचारीहरुको संलग्नता देखिएको एक अधिकारीले बताए ।

‘यो प्रकरणमा बैंककै कम्प्युटर समेत प्रयोग गरेको देखिएको छ, फेरि बैंकको सिस्टमबारे जानकारले मात्रै यस्तो गर्न सहज छ,’ ती अधिकारीले अनलाइनखबरसँग भने, ‘यसकारण बैंककै कर्मचारीहरुको संलग्नता भएको हो कि भन्ने शंका छ ।’

प्रहरीले समातेका ११ जनामध्ये कोही बैंकका कर्मचारी हुन् वा होइनन् भन्ने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment