Comments Add Comment

यस्तो विश्वविद्यालय हामीलाई चाहिँदैन

‘विश्वविद्यालय भागवण्डा गर्ने बिर्ता होइन’

केही समय अगाडि पाटन क्याम्पसको लाइब्रेरीमा गएको थिएँ । हाम्रो मुटु ऐना भइदिएको भए तपाईंले देख्नुहुन्थ्यो होला मेरो मुटु चरक–चरक चिरिएको । त्यहाँको लाइबेरी देख्दा बाफ्रे बाफ ! त्यो पनि लाइबेरी हो र ? तल पानी आइरहेको छ, माथि धमिराले खाइरहेको छ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर पनि पुगेको थिएँ । जहाँ म हेड अफ डिपार्ट थिएँ, क्याम्पस चिफ थिएँ । चौरमा लामो–लामो घाँस देखेँ । बिद्यार्थी र प्राध्यापक साथीहरुलाई भनेँ– तपाईहरुमध्ये कसले रिफर गर्न सक्नुहुन्छ, कोही विदेशी साथी आउँदा मैले पढाएको क्याम्पस अथवा मैले पढेको क्याम्पस घुम्न जाउँ भनेर ? त्यस्तो पनि क्याम्पस हुन्छ ?

बिहान एउटा पत्रिका हेरेको थिएँ, जहाँ विश्व विद्यालयमा भागवण्डाको विषयमा लेखिएको रहेछ । एउटा वाक्य रहेछ, केदारभक्त माथेमा नेपाली कांग्रेसको कोटाबाट आएको । तुरुन्तै सम्पादकलाई लेखेर पठाएँ– म कोटाबाट आएको होइन, कोटामा कहीँ पनि जान्न । त्यसबेला कांग्रेसका प्रधानमन्त्री थिए । उहाँले अनुरोध गरेपछि जागिर खाइरहेको मान्छे त्यहाँ गएको हुँ ।

त्यसबेला मन्त्रीज्यूले नै पनि तपाईले निवेदन दिनुपर्‍यो भन्नुभएको थियो । मन्त्रीसँग मेरो भयानक लडाइ नै पर्‍यो यस विषयमा । बरु मैले प्रधनमन्त्रीसँग विश्वविद्यालयमा राजनीतिकरणलाई अन्त्य गर्न सोच छ कि छैन भनेर मन्त्रीसँग संवाद गरेको थिएँ । यसमा उहाँले केही प्रतिवद्धता जनाएपछि मात्रै गएको हुँ ।

मभन्दा अगाडि विश्वविद्यालयमा भागवण्डा थियो । ०४६ सालको आन्दोलनपछि बाममोर्चा र कांग्रेस मिलेर भागवण्डा गरेर विश्वविद्यालयका पदाधिकारीहरु नियुक्त गरे । त्यसलाई भागवण्डा भन्न सकिन्छ । तर, म आएपछि मैले भनेँ– नो भागबण्डा ।

प्रजातान्त्रिक प्रध्यापक संघका साथीहरुलाई तपाईहरुमध्ये कसैलाई पनि छनोट गर्दिनँ भनेँ र गरिनँ पनि । वाममोर्चाका साथीहरु पनि आउनुभयो, जो मेरा बीए पढ्दाका साथीहरु थिए । उहाँहरुलाई पनि नो भागवण्डा भनेर पठाइदिएँ । पछि भागवण्डा नपाएको भनेर उहाँहरुले राजीनामा दिनुभयो । त्यसमा पदाधिकारी पूर्ति गर्दा मैले आफ्नो ढङ्गले छनोट गरेँ । राजनीतिक भागवण्डामा हुन दिइनँ ।

भागवण्डा भयो भने राजनीतिकरुपमा विश्वविद्यालय विभाजित हुन्छ भन्ने मेरो मान्यता हो । बहसमा भने राजनीतिक विवादलाई हामी स्वागत गर्छौं । त्यो हुनैपर्छ । तर, जुनियरहरुलाई माथि लैजाने गरी गरिने, नेतृत्व नै गर्न नसक्ने व्यक्तिलाई राजनीतिक आस्थाका आधारमा जिम्मेवारी दिन हुन्न भन्ने मेरो मान्यता हो ।

उदाहरणका लागि वेलायतकी महारानीले राम्रो मोटर उपहार दिइन् । तर, तपाईंसँग लाइसेन्स छैन भने कसरी चलाउनुहुन्छ ? लाइसेन्स हुने साथीलाई पनि तपाई दिनुहुन्न, किनभने त्यो महङ्गो मोटर हो नि त ।

यो पनि पढ्नुहोस ‘हामी एसएलसी टपर हैनौं, स्कलरले दुनियाँ बदल्दैनन्’

मेरो भनाइको मतलव, जोसँग लाइसेन्स छ, उसलाई मोटर दिने हो । त्यसो गरिएन भने मोटर पाएपछि चलायो भने पनि यता ठोक्काउला, उता ठोक्काउला । यो दृष्ट्रिले हेर्दा हाम्रा विश्वविद्यालयहरु हेरिनसक्नु छन् । विश्वविद्यालयहरु भागवण्डाका आधारमा मनपरि गर्ने कसैको बिर्ता हो र ! होइन नि ।

नेपाल राष्ट्रलाई कुनै विषयमा सल्लाह लिनुपर्‍‍यो भने कहाँ धाउने ? विश्वविद्यालय धाउनुपर्छ । जापानमा नेपाललाई ‘डब्लुटियो’को सदस्यता लिन आउ भनियो । म पनि गएको थिएँ, त्यसबेला एकजना जापानीले मलाई भनेका थिए– तपाईहरुले ‘डब्लुटियो’को सदस्य हुँदा कति फाइदा हुन्छ भनेर छलफल गर्नुभएको होला नि ।

एकपटक अमेरिकनहरु इजिप्टमा भल्ब रेडियो बेच्न गए । इजिप्टको सरकारले विश्वविद्यालयका प्रोफेसरहरुलाई सोधे– हामीले भल्ब रेडियो खरिद गर्दा ठीक हुन्छ कि हुँदैन ? प्रोफेसरहरुले किने हुन्छ हजुर भनिदिए । इजिप्टले भल्बवाला रेडियो किन्यो । तर, एक/डेढ बर्षपछि भल्बवाला रेडियो खत्तम भयो र अर्को प्रविधिको आयो । प्रोफेसरहरुको सल्लाह कति महत्वपूर्ण हुन्छ भन्ने यो पनि एउटा उदाहरण हो ।

खाली बिद्यार्थीलाई पढाउने मात्रै काम प्रोफेसरहरुको होइन । राज्यलाई सही सुझाव र निर्देश गर्ने पनि हो ।

विश्वविद्यालयका तीन चुनौती

१. उत्कृष्ट विश्वविद्यालय भनेको के हो ? उत्कृष्ट विश्वविद्यालय हुनलाई उत्कृष्ट प्रोफेसर चाहिन्छ । कसरी उत्कृष्ट प्रोफेसरहरुलाई आफ्नो विश्वविद्यालयमा आर्कषण गर्ने ? सबैभन्दा तीखो बुद्धि भएकालाई कसरी ल्याउने भन्ने नै पहिलो चुनौती हो ।

अमेरिकामा एकपटक प्रोफेसरहरुको बोलावट भयो । फिजिक्सका एकजना प्रोफेसरलाई हार्वर्ड विश्व विद्यालयले बोलायो । प्रिस्टेन विश्वविद्यालयले पनि बोलायो । हार्वर्डले भन्दा बढी प्रिस्टेनले पैसा दिन्छृु भन्यो । प्राध्यापकहरुलाई पनि अलि बढी पैसा चाहिन्छ नि त ।

ती प्रोफेसर प्रिस्टेन जान खोजे । त्यसपछि प्रिस्टेनले भन्दा बढी हार्वर्डले दिन्छु भन्यो । फेरि, प्रिस्टेनले मेरोमा आएर काम गर्छौ भने प्रोफेसर अलवर्ट आइन्सटाइन बसेको घरमा तिमीलाई बस्न दिन्छु भन्यो । ती प्रोफेसरले प्रिस्टेन नै गएर काम गरे ।

२. काम गर्न थालेपछि प्रोफेसरहरुलाई कसरी आफ्नोमै टिकाइराख्ने ? विश्वविद्यालयको यो दोस्रो चुनौती हो । काम गरिरहेको विश्वविद्यालयभन्दा बाहिर राम्रो अवसर र सुविधा पाइरहेका हुन्छन् । बाहिर नभागोस् भनेर ख्याल गर्नुपर्छ ।

३. एउटा प्रोफेसर रिटायर्ड भएपछि त्यस्तै वा त्यो भन्दा राम्रो अर्को प्रोफेसर कसरी ल्याउने ? मध्यमस्तरको प्रोफेसरले पढाएको विद्यार्थी मध्यमस्तरकै हुन्छ । ट्यालेण्टले पढाएको ट्यालेण्ट नै हुन्छ ।

सेवा आयोगको नेतृत्वको विषयमा दुई महिनाअघिको एउटा भेटमा नेकपाका निकै माथिका नेतासँग कुरा भएको थियो । मैले उहाँलाई भनेँ– तपाँईहरुले चुनावमा उठाएको व्यक्तिलाई सेवा आयोगको अध्यक्ष बनाउने ? यसमा त स्वतन्त्र पो हुनुपर्छ । केही समयपछि काण्ड भयो । मोटर त्रिशुलीबाट खस्यो ।

राम्रो नेतृत्व ल्याउनुभएन भने संस्था ध्वस्त हुन्छ । नराम्रो नेतृत्व आएलगत्तै विश्वविद्यालय मर्ने होइन । अयोग्य मान्छेहरु ल्याएपछि विस्तारै विश्वविद्यालय ध्वस्त हुँदै जान्छ ।
अहिले नेपालमा राम्रा–राम्रा विश्वविद्यालयबाट पढेर आएका प्रोफेसरहरु पनि छन् । जापानबाट, अमेरिकाबाट, अष्ट्रेलियाबाट पढेर आएका । उनीहरुलाई त्रिभुवन विश्वविद्यालयले आर्कषण गर्न सक्नुपर्छ ।

पोखरीमा फ्रेस वाटर चाहिन्छ । पोखरीमा फ्रेस वाटर आउन रोकियो भने के हुन्छ ? पोखरीमा किरा पर्छ । झारपातहरु उम्रन्छन । काम लाग्दैन त्यो । विश्वविद्यालय भनेको पनि पोखरी जस्तै हो । फ्रेस वाटर आइरहनुपर्छ ।

अर्कोतर्फ, त्रिभुवन विश्वविद्यालय भन्दा बाहिर बिद्यार्थीको संख्या ठूलो छ । ७६ प्रतिशत विद्यार्थी निजी कलेजहरुमा गइरहेका छन् । यस्तो अवस्थाले नेपाललाई समाजवादतिर लैजान्छ र ? लैजादैन ।

निष्कर्षमा, विश्वविद्यालयमा राजनीतिकरण हुनुहुँदैन भन्ने हो । तर, राजनीतिक विषयमा छलफल/बहस र विवाद हुनु आवश्यक छ । छलफल र बहसको स्पेस नै विश्वविद्यालयमा हुने हो । हाम्रोमा सार्वजनिक विषयमा ठूला–ठूला बहस हुन्छन् । तर, विश्वविद्यालयबाट एउटा पनि विचार आउँदैन । सम्पदाको विषयमा कुरा उठ्छ, तर, त्रिविको डिपार्टमेण्ट अफ कल्चरलबाट एउटा आवाज आउँदैन । यो कस्तोखालको विश्वविद्यालय ? यस्तो विश्वविद्यालय हामीलाई चाहिँदैन ।

जागिर मात्रै खाएर कहाँ हुन्छ ? जागिर मात्रै खाएको भए डा.बाबुराम भट्टराई, बाबुराम भट्टराई हुने थिएनन् । सूर्यराज आचार्य, सूर्यराज आचार्य हुने थिएनन् । विश्वविद्यालयका विद्यार्थीले गाग्रो बोकेका हुन्छन् । अरु देशका विद्यार्थीले बोकेका गाग्रा ज्ञानले छछल्किएको हुन्छ । हाम्रा विद्यार्थीले पनि गाग्रोका पिँधमा मात्रै भिजेका छन् । जुन पाउनुपर्ने खुराक विद्यार्थीले पाउन सकेका छैनन् ।

५/६ बर्ष अगाडि एउटा अष्ट्रेलियन संस्थाले श्रीलंका, बंगलादेश र नेपालको विश्वविद्यालयहरुको अध्ययन गरेको थियो । उनीहरुले हामीलाई विश्वविद्यालयमा राजनीतिकरण नगर है भनेका थिए । यस विषयमा सबै राजनीतिक दलहरुका बीचमा छलफल गरौं र भनौं– विश्व विद्यालयमा राजनीतिकरण गर्नुसम्म गर्‍यौं । अब बन्द गरौं ।

(समाजवादी विद्यार्थी युनियनले राजधानीमा आयोजना गरेको ‘विश्वविद्यालयमा हुने दलीय भागवण्डा र शिक्षा क्षेत्रमा पार्ने प्रभाव’ विषयक अन्तरक्रियामा त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले व्यक्त गरेको विचारको सम्पादित अंश )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment