Comments Add Comment

प्लास्टिकको चामल भेटिएको भन्दै दुई दर्जन उजुरी

विभाग भन्छ–प्लास्टिकको चामल भ्रम मात्रै

८ असोज, काठमाडौं । सोमबार बिहान नेपाल प्रहरीको आपत्कालीन हेल्पलाइन १०० मा फोन गरेर एक व्यक्तिले रेष्टुरेन्टमा खाएको खानामा ‘प्लास्टिकको चामल भेटिएको’ दावी गरे । काठमाडौं पेप्सीकोलाबाट आएको फोनपछि प्रहरीले घटनास्थल नजिकको आफ्नो प्रभाग काँडाघारीलाई गुनासोबारे जानकारी गरायो ।

सूचना लगत्तै प्रभागका इन्सपेक्टर सुधीर राईको टोली प्रहरीलाई खबर गर्ने युवक भएको ठाउँ काठमाडौं महानगरपालिका-३२ स्थित टाउन प्लानङमिा रहेको क्वालीटी फूड क्याफे रेष्टुरेण्टमा पुग्यो । प्रहरी निरीक्षक राईका अनुसार प्रहरीलाई खबर गर्ने व्यक्ति भक्तपुरको एक नगरपालिकाका मगर थरका वडाअध्यक्ष थिए ।

वडाअध्यक्षले आफूले पहिले पनि नक्कली प्लास्टिकको चामलबारे सुनेको र रेष्टुरेण्टमा खाएको खानामा पनि प्लास्टिकको चामल मिसाइएको प्रहरी टोलीलाई बताए । इन्सपेक्टर राईले वडाअध्यक्ष मगरले खाँदाखाँदै छोडेको थालको भात नियाले ।

‘भात सामान्यभन्दा अलिक फरक देखिन्थ्यो, तर प्लास्टिककै चामलको भात हो भन्ने चै लागेन,’ इन्सपेक्टर राईले अनलाइनखबरसँग भने ।

रेष्टुरेन्टका कामदारले भने उक्त भात लनग्रेन ब्राण्डको चामलको भएको इन्सपेक्टर राईलाई जानकारी दिए । राईले यस विषयमा अनुसन्धान गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहललाई घटनाबारे जानकारी गराए । विभागको टोली घटनास्थल पुग्यो ।

विभागका अधिकारीले थालमा रहेको भात हेरे र छामे । भात स्वभाविक रुपमा अलिकिती चाम्रो थियो, तर भात प्लास्टिकको नभएको मुचुल्का लिएर विभागको टोली फर्कियो ।

प्लास्टिकको चामल भेटिएको दुई दर्जन उजुरी

प्लास्टिकको चामलबारे सोमबारको उजुरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका लागि नौलो भने थिएन । विभागका प्रवक्ता मोहन कृष्ण मर्हजनका अनुसार विभागमा एक वर्षको अवधिमा प्लाष्टिकको चामल खुवाइएको भन्दै २५ भन्दा धेरै उजुरी देशभरीबाट प्राप्त भएको छ ।

विभागको क्षेत्रीय तथा प्रदेश कार्यालयहरु विराटनगर, इनरुवा लगायतमा पनि यस्ता उजुरी परेका छन् । भात चाम्रो भएको अवस्थामा चामलमा प्लास्टिकको नक्कली चामल मिसाइएको भन्दै धेरै उजुरी परेको प्रवक्ता मर्हजन बताउँछन् ।

प्लास्टिकको चामल हुन्छ ?

केही समयदेखि सामाजिक सञ्जालमा प्लास्टिकको चामल भन्दै थरीथरी फोटो तथा भिडियो भाइरल भइरहेका छन् । त्यसको आधिकारिकता भने कतै पनि पुष्टि भएको छैन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार कसैले खेलौनाका लागि बनाएको अवस्थामा बाहेक संसारभर प्लास्टिकको चामल बनाइएको कुनै वैज्ञानिक प्रमाण छैन । प्लास्टिकलाई चामल जस्तो देखिने बनाउन लाग्ने खर्चभन्दा धानको चामल उत्पादन गर्नु कयौं गुणा सस्तो पर्ने भएकाले कसैले यस्तो मुर्खता गर्नै नसक्ने विभागका प्रवक्ता एवं वरिष्ठ खाद्य अनुसन्धान अधिकृत महर्जन बताउँछन् ।

देशभरबाट आएको सबै उजुरीमा विभागले गरेको ल्याव परिक्षणमा पनि प्लास्टिकको चामल भएको कुनै आधार नभेटिएको उनले जानकारी दिए ।

‘कुनै-कुनै चामलको उत्पादन तथा भण्डारण प्रक्रियामा भएको कमजोरीका कारण चामल बिग्रन सक्छ र पकाइएको खाना अस्वभाविक देखिन सक्छ, त्यो प्लाष्टिकको चामल होइन,’ उनले भने ।

चामल, अण्डा र पिठो प्लाष्टिकको हुँदैन

देशैभरबाट उजुरी र गुनासोहरु आउन थालेपछि बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक सूचना नै जारी गरेर चामल, अण्डा र पिठो प्लाष्टिकको नहुने स्पष्ट पारेको छ । विभागले अहिलेसम्म गरेको परीक्षणमा यस्तो कुनै प्रकारको प्रमाण नभेटिएको हुनेले यो सबै तथ्यविहीन भ्रम भएको जनाएको छ ।

केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्लाष्टिकको चामल, अण्डा र पिठो भेटिएको भन्दै प्रकाशित समाचार तथा प्रचार तथ्यहिन भएको भन्दै विभागले हल्लाको पछि नलाग्न सर्वसाधरण उपभोक्तालाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment