Comments Add Comment

जब भारतीय कलाकार फेवा किनारमा उभिए…

८ असोज, पोखरा । अघिल्तिर सुन्दर फेवातालको विशाल आँगनजस्तो फैलावट । वर्षायाम सकिइसकेको भएपनि बादल बर्सिन छाडेको छैन । बुधबार बिहानसम्मै पानी पर्‍यो । त्यसको शीतल हावाको झोंक्का चलिरहेकै थियो । आकाश खुल्ला छ तर मौसम न जाडो न गर्मी ।

भारतको आगरा कलेज, आगराका असिस्टेन्ट प्रोफेसर डा दिनेशकुमार मौर्य यही मौसममा पहिलोपटक नेपाल आएका छन् । नेपाल भारत सीमा पार गरिसकेपछि मंगलबार साँझ सोझै पोखरा टेके । ‘नेपाल कस्तो होला ? त्यसमा पनि पोखरा सुनिरहेको नाम, त्यो झन् कस्तो होला ?’ सुरुमा उनको मनमा अनेक प्रश्न खेलिरहेथ्यो ।

आगरा कलेजमा ‘फाइन आर्टस्’ पढाउँछन्, डा. मौर्य । कुची समातेर क्यानभास रंगाउन थालेको दशौं वर्ष भइसकेको छ तर उनकै शब्दमा भन्ने हो भने उनी ‘उति सारो स्थापित कलाकार’ भने होइनन् । कलाकारिताबाटै केही गरौं भन्ने रहर उनलाई पनि नभएको होइन । तर, बाध्यता र रहरको सूत्र नमिल्दा मास्टरीमै ‘चिन्तित’ दिन बितिरहेको छ, उनको ।

बुधबार तिनै चिन्तित डा मौर्यको अनुहारमा खुसीको नयाँ रङ देखियो । आँखा अगाडि फेवाताल र क्यानभास राखेर चित्र कोर्दै गरेको भेटिए । भने, ‘नेपाल पहिलोपटक आएँ । यो ठाउँमा बसेर चित्र बनाउनुको मजा नै बेग्लै रहेछ । यस्तो ठाउँ कतै पाइँदैन ।’ त्यसपछि उनले फेरि क्यानभासमा औंला दौडाउन थाले । त्यहाँ क्यानभासभित्र अर्को सुन्दर फेवाताल चित्रण हुँदै थियो ।

ललित कलामा स्नातक गरिरहेकी बनारसकी शेली बर्मा पनि पहिलोपटक नेपाल आएकी हुन् । उनी हातभरि सुन्तले रङ छर्केर क्यानभासमा बुद्धको स्केचलाई रंग्याउँदै थिइन् । पटकपटक उनको नजर फेवातालमाथि रहेको विश्व शान्ति स्तूपतिर गइरहेको प्रष्टै थाहा हुन्थ्यो । ‘यसरी प्राकृतिक सुन्दरताले भरिएको ठाउँमा खुल्ला आँगनमुनि बसेर चित्र कोर्नु कस्तो मजा हुँदोरहेछ,’ उनले भनिन्, ‘भोलि त्यहाँ पुगेर सम्पूर्ण पोखरा नियाल्नु छ । आधा पोखराले पनि यसै मन हरिसक्यो ।’

पोखराको फेवाताल किनारमा २ दिने इन्डो–नेपाल अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी चलिरहेको छ । डा मौर्य र बर्मा त्यही प्रदर्शनीमा भेटिएका हुन् । मंगलबारबाट सुरु भएको प्रदर्शनी भारतको सुनहरी चबिल फाउन्डेसन, राजस्थानले आयोजना गरेको हो । जसमा २० भारतीय र १० नेपाली कलाकार सहभागी छन् । प्रदर्शनीमा दिल्ली, पञ्जाब, राजस्थान, चन्डिगढलगायत ठाउँका कलाकार सहभागी छन् ।

प्रतिष्ठित भारतीय कलेजका प्रोफेसरदेखि भर्खरै कलेज पढिरहेका विद्यार्थीसमेत प्रदर्शनीमा रमाइरहेका छन् । तत्स्थानमै चित्र कोर्ने र प्रदर्शन गर्ने उनीहरुलाई पोखरेली मौसमले राम्रै साथ दिइरहेको छ । ‘अब्स्ट्रयाक्टदेखि रियालिजम्सम्मको चित्र एकै ठाउँमा खाली क्यानभासदेखि चित्र पूरा भएकोसम्म हेर्न पाउँदा छुट्टै मजा आइरहेको छ । फेवाताल र चित्रकला कति राम्रो देखिने !’ चित्रकलामा सहभागी एक सहभागी भन्दै थिए ।

२ देशको कलाकारले संयुक्त रुपमा कला प्रदर्शन गर्दा आफूहरुले पनि सिक्ने धेरै मौका पाएको पोखरेली कलाकार हेमकान्ती गुरुङले बताइन् । उनले भनिन्, ‘कला आआफ्नो हो । तर, त्यसलाई एकआपसमा सेयर गर्दा अझै निखारिने मौका पाउँछ । यसले त्यही प्लेटफर्म प्रदान गरेको छ ।’ गुरुङ नेपालका तर्फबाट स्थानीय संयोजक पनि हुन् ।

फाउन्डेसनका अशोक अग्रवालका अनुसार यो संस्थाको तर्फबाट चौथो कार्यक्रम हो । यसअघि संस्थाले सिमला, राजस्थान, दिल्लीलगायत ठाउँमा कार्यक्रम गरिसकेको उनले जानकारी दिए । ‘संस्था कला र साहित्यप्रेमीको क्षमता उजागरमात्रै होइन । त्यसलाई बाहिर ल्याउन खुलेको हो । हामी त्यही अनुसार कार्यक्रम गर्दै आइरहेका छौं ।’

अग्रवालले एकै ठाउँमा अथवा बन्द कोठाभित्र मात्र सीमित भएर काम गर्दा धेरै नवकलाकारको सीप खेर गइरहेको दृष्टिकोण राख्छन् । ‘हामीले स्थापित कलाकारलाई स्थान दिँदैनौं । उनीहरु त प्रत्येक पल ठाउँ पाइरहेका हुन्छन्,’ उनी भन्छन्, ‘हामीले खोज्ने भनेको स्थापित नभएका तर साँच्चिकै सीप भएका र आर्थिक अवस्था कमजोर भएकालाई हो । जो बाहिर आउन अवसर खोजिरहेका हुन्छन् ।’

७ वर्षअघि खुलेको फाउन्डेसनले आर्थिक अवस्था कमजोर भएका र अवसर नपाएकालाई सहयोग गर्दै देश विदेश डुलाइरहेको अग्रवालको भनाइ छ । ‘एक्जिभिसनमा बिक्री भएका चित्रबाट ७० प्रतिशत हामी कलाकारलाई नै पारिश्रमिक दिन्छौं । ३० प्रतिशत संस्थामा राखेर फेरि अरु कलाकारका लागि. खर्च गर्छौं,’ उनले योजना सुनाए । पोखरा कार्यक्रमपछि संस्था बैंकक उड्ने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment