Comments Add Comment

साम्राज्ञीलाई स्टारडम देखाउने अर्को अवसर, अंकितको भाग्य परिक्षा

झन्डै एक महिना अगाडि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको चलचित्र ‘मारुनी’ रिलिज भएको थियो । यो चलचित्रले व्यवसायिक रुपमा त्यस्तो चमत्कार सुरुवाती दिनमा गरेन । साम्राज्ञीको नाममा इनिसियल व्यापारको अपेक्षा निर्माताले गरेपनि त्यो पुरा भएन । वर्ड अफ माउथ बलियो हुँदा निर्माताको अनुहारमा केही खुशी देखियो ।

‘मारुनी’ रिलिज भएको एक महिनापछि साम्राज्ञीले नै अभिनय गरेको अर्को चलचित्र ‘रातो टिका निधारमा’ भोलीबाट रिलिज हुँदैछ । निर्माता तथा निर्देशक अशोक शर्माको निर्देशनमा तयार भएको चलचित्रबाट साम्राज्ञीलाई फेरि एकपटक स्टारडम देखाउने अवसर प्राप्त भएको छ । अशोकले साम्राज्ञीलाई १६ लाख रुपैयाँ पारिश्रमिक दिनुको एउटा कारण इनिसियल व्यापारमा मद्दत पुग्छ भनेर पनि हो ।

चलचित्रले मल्टिप्लेक्समा निकै राम्रो शोज पाएको छ । ‘मारुनी’मा जस्तो हल नै नपाएको, पाएको शो पनि कटौती भएको जस्तो गुनासो गर्ने ठाउँ यसपटक साम्राज्ञीलाई छैन । यसैले, सुरुवाती २ दिनमा उनको अनुहार पक्कै पनि चल्नुपर्छ ।

यो चलचित्रबाट निर्माता अशोक शर्माका छोरा अंकित शर्माले डेब्यू गर्दैछन् । अशोक, छोराको डेब्यू चलचित्रका लागि पनि उत्साहित छन् । काठमाण्डौमा क्यूएफएक्सले १८ शोज उपलब्ध गराएको छ ।

चलचित्रले इनिसियल व्यापार गर्नुपर्ने अर्को कारण भनेको, असोज १५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘वार’को थ्रेट पनि हो । बुधबारबाट यो चलचित्रसँगै असोज ३ गतेबाट रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले धेरै शोज हिन्दी चलचित्रका लागि छाड्नुपर्नेछ । यसैले, ५ दिनमै ‘रातो टिका निधारमा’को व्यापार सुखद हुन आवश्यक छ ।

तर असोज १८ गतेबाट सुरु हुने फूलापति र त्यसपछिको लामो बिदाले यो चलचित्रलाई फाइदा पुग्न सक्छ । तर, यसका लागि चलचित्रको वर्ड अफ माउथ बलियो हुन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment