Comments Add Comment

छापामा आज : अमेरिकी राजदूत एकाएक किन भए सक्रिय ?

१० असोज, काठमाडौं । मन्त्री र सचिवलाई प्रधानमन्त्रीले नतिजा निकाल्ने गरी काम गर्न दिएको निर्देशन आजका अधिकांश दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । त्यस्तै, अमेरिकी राजदूतको पछिल्लो सक्रियता, द्वन्द्वका गल्तीको जिम्मा लिने प्रचण्डको अभिव्यक्ति र अपराधलगायतका विषयलाई पनि आजका पत्रपत्रिकाहरूले प्राथमिकतापूर्वक ‘कभरेज’ गरेका छन् ।

अमेरिकी राजदूत र्‍यान्डी बेरीको सक्रियताबारे अन्नपूर्णले मुख्य समाचार बनाएको छ । समाचार अनुसार नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भाइचारा बनेसँगै बेरी राजनीतिक भेटघाटमा सक्रिय बनेका छन् । उनले बिहीबार प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारूढ नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेट गरेका छन् । त्यस क्रममा राजदूत बेरीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको समाचारमा उल्लेख छ ।

देउवासँगको भेटमा राजदूत बेरीले नेपाल र चीनका कम्युनिस्ट पार्टीबीच बढ्दो सहकार्यबारे प्रतिपक्ष कत्तिको जानकार छ भनेर बुझेको आकलन विज्ञहरूको छ । त्यस्तै , एमसीसीअन्तर्गत कम्प्याक्ट सहयोग र इन्डो प्यासिफिक रणनीतिका विषयमा छलफल भएको समाचारमा लेखिएकाे छ ।

नेकपा अध्यक्ष प्रचण्डले द्वन्द्वका गल्तीको जिम्मा लिने भनेर व्यक्त गरेको भनाइलाई पनि आज अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ । समाचार अनुसार उनले कहीँ न कहीँ गल्ती भएको महसुस भएको बताउँदै शान्ति प्रक्रिया टुंगोमा पुर्याउन भएको ढिलाइप्रति क्षमा मागेका छन् ।

नेपाल वायु सेवा निगमका ग्राउण्डेड जहाजको पार्किङ शुल्क करोडौं पुगेको अर्को खबर पनि अन्नपूर्णमा छ । अन्नपूर्णका अनुसार निगमका १४ मध्ये ८ जहाज ग्राउण्डेड छन् र तिनको दैनिक पार्किङ शुल्क मात्रै २ लाख छ ।

कान्तिपुरले ‘रातको अर्कै काठमाडौं’ शीर्षकमा काठमाडौंका सडक बालबालिकाबारे समाचार बनाएको छ । रिपोर्टअनुसार राजधानीमा करिब ३ सयको हाराहारीमा सडक बालबालिका छन् र यीमध्ये झन्डै आधा संख्या बालिकाको छ ।

द्वन्द्वकालीन मुद्दा टुंगोमा पुर्याउन नसकेको भन्दै प्रचण्डले गरेको क्षमायाचनालाई पनि कान्तिपुरले महत्त्वका साथ छापेको छ ।

राजधानी र नागरिकले विभिन्न मन्त्रालयका प्रगतिबारे प्रधानमन्त्रीले गरेको छलफलका विषयमा मुख्य समाचार बनाएका छन् । समाचार अनुसार अधिकांश मन्त्री र सचिवको कामप्रति प्रधानमन्त्री असन्तुष्ट छन् र उनले पहिलोपटक काम नगर्ने मन्त्री फेर्ने चेतावनी दिएका छन् ।

कारोबारले मलेसिया रोजगारी खुलेसँगै करिब १ लाखले रोजगारी पाउने लेखेको छ भने गोरखापत्रमा देशलाई नै खुला दिसामुक्त घोषणा गर्न लागिएकोलगायत समाचार छन् ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment