+
+
Shares

गेटा मेडिकल कलेजको ८० प्रतिशत काम सकियो

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १० गते ७:१०

१० असोज, धनगढी । सुदूरपश्चिम क्षेत्रकै ‘ड्रिम प्रोजेक्ट’ का रुपमा लिइएको धनगढीमा निर्माणाधीन गेटा मेडिकल कलेजको काम ८० प्रतिशत सकिएको कलेज पूर्वाधार निर्माण विकास समितिले जनाएको छ । ६ सय शैयाको उक्त मेडिकल कलेज बनेपछि सुदुरपश्चिमका जनता लाभान्वित हुनेछन् ।

नेपाल सरकारले आर्थिक वर्ष २०६६/०६७ मा मेडिकल कलेज निर्माणको घोषणा गरे पनि निर्माण कार्य ढिलो सुरु भएको थियो । हरेक वर्ष सय जना डाक्टर उत्पादन गर्ने लक्ष्य लिएर निर्माण गरिएको उक्त कलेज सरकारको महत्वाकांक्षीं योजनाअन्तर्गत पर्छ ।

मेडिकल कलेजमा साना–ठूला गरी २७ वटा भवन निर्माण भइरहेको छन् । उक्त कलेज तयार पार्न सात अर्ब रुपैयाँ खर्च हुनेछ । चालू आर्थिक वर्षमा एक अर्ब २५ करोड रुपैयाँ बजेट संघीय सरकारले उक्त मेडिकल कलेजलाई उपलब्ध गराएको छ ।

कुल ५१.८ हेक्टर क्षेत्रफल जमीनमा निर्माण भइरहेको मेडिकल कलेजको परामर्शदाताको जिम्मा बिल्डिङ डिजाइन अथोरेटीले (बीडीए) लिएको छ ।

बीडीएका अनुसार गेटा मेडिकल कलेज राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्डअनुसार निर्माण भइरहेको छ । बीडीएले यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि ’कन्सल्ट्यान्ट’का रुपमा काम गरेको थियो । बीडीएले विशेष गरी हाउजिङ तथा वाटर सप्लाई क्षेत्रमा काम गर्दै आइरहेको कन्सल्ट्यान्ट हो ।

बीडीएका हस्पिटल प्लानर महेन्द्रराज भुसालका अनुसार गेटा मेडिकल कलेजमा विद्यार्थीको अभ्यासका लागि व्यक्तिगत रुम डिजाइन गरिएको छ । जहाँ विद्यार्थीहरुले छुट्टै अभ्यास गर्न पाउँछन् । पछिल्लो समय धेरै अस्पतालहरुमा नभएको संरचना उक्त मेडिकल कलेजमा भएको भुसालको दाबी छ । उनी भन्छन्, ‘लगभग ८० प्रतिशत बेडहरुमा इमर्जेन्सी उपचार गर्न सकिने गरी अक्सिजन पाइप जडान गरिएका छन् ।’

बीडीएका म्यानेजिङ डाइरेक्टर खेम डल्लाकोटी मेडिकल कलेजको काम केही ढिलाइ भएको बताउँछन् । वातावरण मूल्यांकन प्रतिवेदनका कारण काम सुरु हुन नै डेढ वर्ष ढिलो भएकाले समस्या निम्तिएको उनले सुनाए । चार वर्षमा तयार हुने लक्ष्य लिएर अघि बढेको बताउँदै उनी भन्छन्, ‘अहिले ढिलो भएको काम हामी केही महिनामा कभर गर्छौँ ।’

डल्लाकोटीका अनुसार त्यहाँ अहिले होस्टेल, क्याण्टिङ अस्पताल भवन क्लासरुम पार्किङ लगायतका भवन निर्माण गर्न ७ वटा कन्ट्रयाक्टरले काम गर्दै आएका छन् । सातवटा कन्ट्रयाक्टरको सुपरीवेक्षण बीडीएले गर्दै आएको छ ।

कलेज पूर्वाधार निर्माण विकास समितिका अनुसार तीन प्याकेजमा गरेर निर्माण भइरहेको कलेज भवनको बाह्य काममात्रै बाँकी छ ।

कहिलेबाट पठन पाठन सुरु हुन्छ ?

कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदका अनुसार मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माणको काम समयमै सम्पन्न गर्न कामलाई थप तीव्रता दिइएको छ । मेडिकल कलेजको भौतिक संरचना निर्माण सकिनासाथ शैक्षिक सत्र सुरु गर्ने लक्ष्य छ ।

आर्थिक वर्ष २०८०/०८१ सम्म गेटा मेडिकल कलेजको आवश्यक सम्पूर्ण पूर्वाधार तयार हुने गुरुयोजनामा उल्लेख छ ।  ‘हालसम्म मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पर्ने न्यूनतम पूर्वाधार मात्रै निर्माण भइरहेको छ’ साउदले भने, ‘आवश्यकता अनुरुपका थप पूर्वाधार क्रमिकरुपमा निर्माण हुँदै जानेछ ।’

उनका अनुसार शैक्षिक वर्ष ०७६/७७ बाट पठन पाठन सुरु गर्ने लक्ष्य थियो । तर, पूर्वाधार र कानुनी कुराहरु तयार नभएकाले ढिलो भएको हो । अबको १ वर्षमा पठन पाठन सुरु गर्ने गरी काम भइरहेको उनी बताउँछन् ।

कलेज सञ्चालनका लागि शिक्षा मन्त्रालयले कानुनी प्रक्रिया अघि बढाइसकेको उनले जानकारी दिए । साउदले भने, ‘शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले कलेज सञ्चालनका लागि ढाँचा बनाएर संघीय सदनमा विधेयक पेश गरिसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?