Comments Add Comment

‘त्यो नग्न तस्वीरले मेरो करिअरमा असर गरेन’

खतरा फिल्म बनाउँछु भन्दै मलाई झुक्याइयो- राजेश हमाल

१० असोज काठमाडौं । राजेश हमालत्योबेला चलचित्र क्षेत्रमा प्रवेश गरे, जुन समय नेपाली चलचित्र क्षेत्रको अवस्था निकै नाजुक थियो । चलचित्र क्षेत्रमा काम गरेर जीवन चलाउन सक्ने कुरामा शंका नै थियो । एउटा चलचित्र बन्यो भने अर्को चलचित्र बन्नको लागि कति समय कुर्नु पर्ने हो त्यसको उत्तर कसैसँग थिएन ।

तर, रहर न हो । राजेशलाई चलचित्र क्षेत्रमा काम गर्ने खुबै रहर जाग्यो । राजेशले पनि चलचित्र क्षेत्रमा आफ्नो भविष्य देखेका थिएनन् । तर, प्रयास गरौं न, भइहाल्छ कि भन्ने मनसायले उनले चलचित्रमा काम गर्ने निधो गरे ।

राजेशको यो कुरा परिवारलाई भने पाच्य थिएन । पढाइमा निकै राम्रो भएका कारण परिवारले उनलाई चलचित्र क्षेत्रमा बरालिन दिन चाहेको थिएन । ‘मेरो उमेर पनि धेरै भएको थिएन’, राजेश भन्छन्, ‘केही वर्ष प्रयास गर्छु, भएन भने परिवारको इच्छा पूरा गर्न लाग्छु भनेर चलचित्रमा लागेँ ।’

कृष्टिसँगको प्रेम चर्चाले पहिलो चलचित्रबाट आउट

राजेशले पाएको पहिलो चलचित्रमा कृष्टि मैनाली नायिका पक्का भइन् । तर, केही दिन छायांकन भएपछि राजेश र कृष्टि दुबैलाई चलचित्रबाट निकालियो ।

उनीहरुमाथि प्रेममा परेको आरोप थियो । ‘उहाँहरुले हामीलाई आफैँ गर्न सक्दिनँ भनेर छाडुन् भन्ने मनसायले क्लोजअप खिच्दा पनि धेरै लाइट दिने गर्नुहुन्थ्यो’, राजेश भन्छन्, ‘मेरो आँखाबाट आशु आउँथ्यो । अनि राजेशले गर्न सक्दैन भनेर निकाल्दिनुभयो ।’

पहिलो चलचित्रबाट निकालिए पनि राजेशको काम गर्ने इच्छा भने मरेको थिएन । त्यसपछि उनले आˆनै मामा दीपक रायमाझीको निर्देशनमा बन्न लागेको चलचित्र ‘युगदेखि युगसम्म’मा अवसर पाए । त्यसमा पनि राजेशले कृष्टि मैनालीसँग नै स्कृन सेयर गरेका थिए ।

चलचित्र रिलिज भएपछि राजेशको कपाल, लुक्स, एक्सन, डाइलग बोल्ने तरिका सबैको चर्चा भयो । कतिपयले त उनलाई बलिउड स्टारहरुसँग तुलना गरे । नभन्दै, उनले दोस्रो चलचित्र पाइहाले- ‘अधिकार’ । प्रकाश थापाको निर्देशनमा बनेको यस चलचित्रबाट राजेशको चर्चा चुलियो । त्यसपछि उनी स्टार बने अनि चलचित्रमा निरन्तर भए ।

राजेश हमाललाई चलचित्र छनोट गर्न नजानेको आरोप लाग्ने गरेको छ । तर, उनी आफूलाई झुक्याइने गरेको बताउँछन् । हमाल भन्छन्- जोसुकै निर्माता-निर्देशकले खत्रा फिल्म बनाउँछु भन्नुहुन्थ्यो, कथा पनि सुन्दा राम्रै लाग्थ्यो, बनाउन सुरु भएपछि चाहिँ अर्कै बन्थ्यो

राजेशले चलचित्र ‘कसम, भाउजू, देउकी देउता’ सम्म आइपुग्दा आफ्नो स्टारडमलाई निकै बलियो बनाइसकेका थिए । उनले चलचित्रमा गाउले भूमिका, गरिवको भूमिका र दुःखीलाई सहयोग गर्ने भूमिका गर्ने भएकाले पनि राजेशलाई धेरैले मन पराए । उनी भन्छन्, ‘मैले चलचित्रमा प्रायः दुःख परेको भूमिका निर्वाह गर्छु । त्यसैले पनि मलाई दर्शकले माया गर्नुहुन्थ्यो ।’

स्टारडमको सदुपयोग भएन

कुनै समय राजेश हमालको टाउको बिक्थ्यो । पोस्टरमा राजेश भएपछि चलचित्र हिट हुन्थ्यो । त्यसैले निर्माता, निर्देशकहरु राजेशलाई आफ्नो चलचित्रमा अभिनय गराउन महिनौ कुर्न तयार हुन्थे । सकेसम्म हिरोमा लिने, नभए अथिती भूमिकामा भए पनि राजेशलाई खेलाउनुपर्ने वाध्यतामा हुन्थे, उनीहरु ।

तर, राजेशले आफ्नो स्टारडमको सही प्रयोग गर्न सकेनन् । एकछत्र प्रभुत्व जमाइरहेको समयमा उनले चलचित्र क्षेत्रलाई नयाँ मोड दिन सक्थे । तर, उनी जे चलिरहेको छ त्यसैमा रुमलिरहे । यसमा उनको आफ्नै तर्क छ । ‘मैले यो भएन, त्यो भएन, यसो गरौँ, उसो गरौँ भनेर अडान लिएको अहिले चलचित्र क्षेत्र यो अस्थामा आइपुग्दैन थियो होला’, राजेश भन्छन्, ‘किनभने, त्यो बेला चलचित्र बन्नु नै ठूलो कुरा थियो । चलचित्रहरु बनेर उद्योग टिक्यो भने स्तर आफैँ बढ्छ भनेरै निरन्तर काम गरेको हुँ ।’

आफूले चलचित्र साइन गर्दा धेरै जनाले काम गर्ने अवसर पाएको राजेश बताउँछन् । उनले भने, ‘मैले चलचित्र गर्छु भन्दा त्यहाँ टिम जुट्छ । बेरोजगार भएर बसेका छायाँकारदेखि स्पोर्टम्यानसम्मले काम पाउथे । त्यसैले पनि चलचित्र छान्नतिर लागिनँ ।’

त्यो समयको मूल्यांकन अहिलेको सन्दर्भमा गर्न नमिल्ने राजेशको भनाइ छ । हुन पनि, उनको समयमा एउटा चलचित्र बनिसकेपछि अर्को बन्न कति समय कुर्नुपर्ने हो थाहा हुँदैनथ्यो । ‘मैले एकपछि अर्को चलचित्रमा साइन गर्दा त्यो अवस्थामा परिवर्तन भयो’, उनी भन्छन्, ‘घरमा चुपचाप बसेका अरु कलाकारले पनि काम पाए, चलचित्र क्षेत्र चलायमान भयो । त्यसैले मैले गरेको काममा मलाई पछुतो छैन ।’

हिट भन्दा फ्लप बढी

राजेशले आफ्नो करिअरमा दुई सय भन्दा बढी चलचित्रमा काम गरे । त्यसमा फ्लपको संख्या बढी छ । तर, राजेश यो कुरा मान्दैनन् । हिट नभएको भए आफू यति लामो समय चलचित्र क्षेत्रमा टिक्नै नसक्ने उनको तर्क छ । उनले भने, ‘केही चलचित्र असफल भए होलान, तर सफलको संख्या धेरै छ’, राजेश भन्छन्, ‘सफल भएको भए त्यतिका निर्माता-निर्देशक राजेश हमालको पछाडि लाग्ने थिएनन् होला !’

राजेश आफ्नो पालामा चलचित्रको लगानी नै कम हुने भएकाले लगानी उठाउन गाह्रो नहुने बताउँछन् । ‘त्यसमाथि वितरकले निर्मातालाई सुरु मै पैसा दिइसकेका हुन्थे’, उनी भन्छन्, ‘त्यसैले निर्माताहरु प्रायः सुरक्षित हुन्थे । १० लाख नाफा कमाउने चलचित्र सुपर हिटको दर्जामा पर्थ्यो ।’

उकालो लागिरहेकै बेला एउटा पत्रिकामा उनको नाङ्गो तस्वीर सार्वजनिक भयो । राजेश भन्छन्- मलाई आश्चार्य लागेन, त्यसले मेरो करिअरमा खासै असर पनि गरेन

राजेश हमाललाई लागेको अर्को आरोप चलचित्रको छनोट हो । उनले चलचित्र छनोट गर्न नजानेको धेरैको भनाइ छ । तर, राजेश आफूलाई झुक्याइने गरेको बताउँछन् । ‘जोसुकै निर्माता-निर्देशक खत्रा फिल्म बनाउछु भन्नुहुन्थ्यो, कथा पनि सुन्दा राम्रै लाग्थ्यो’, उनी भन्छन्, ‘बनाउन सुरु भएपछि चाही अर्कै बन्थ्यो ।’

करिश्मासँगको बोलचाल बन्द

चलचित्रको पर्दामा राजेश हमाल र करिश्मा मानन्धरको जोडीलाई खुबै रुचाइएको हो । उनीहरुको केमेष्ट्री नै मिलेको देखिन्थ्यो । निर्माता-निर्देशकहरु यो जोडीलाई एक साथ देखाउन लागि पर्थे । तर, आपसी मनमुटावका कारण लामो समय राजेश र करिश्माको बोलचाल बन्द भएको थियो ।

तर, बोलचाल बन्द भएको नभइ कम बोलेको राजेश बताउँछन् । ‘काम पर्दामात्र बोल्ने मेरो बानी । बाहिर भेट्दा पनि को-एक्टर भनेर म घुलमिल कमै हुन्छु’, उनले भने, ‘त्यसैले यो गसिप आएको हो । बोलचाल बन्द भएको भने हैन ।’

पत्रिकामा जब नाङ्गो फोटो आयो

राजेश हमालको करिअरको ग्राफ उकालो लागिरहेकै बेला एउटा पत्रिकामा उनको नाङ्गो तस्वीर सार्वजनिक भयो । ‘मेरो शरीरमा गाँठाहरु भएकाले उपचार प्रयोजनका लागि मैले त्यो फोटो आफैं खिचेको थिएँ’, उनी भन्छन्, ‘तर, त्यो कसरी बाहिर आयो, पत्तो भएन ।’

पत्रिकामा छापिनुपूर्व राजेशलाई फोन आएको थियो । उनलाई सोधिएको थियो, ‘यस्तो तस्वीर हात परेको छ, छापौँ ?’ तर, उनले उक्त कुरालाई खासै वास्ता गरेनन् । फोन आएको केही दिनमा पत्रिकामा तस्वीर छापियो । ‘मलाई फोन आइसकेकाले आश्चार्य लागेन’, राजेश भन्छन्, ‘त्यसले मेरो करिअरमा खासै असर पनि गरेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment