Comments Add Comment

पेप्सी कम्पनीका मजदुर आन्दोलित, राजनीतिक दलको समर्थन

Photo Credit : File Photo

१२ असोज, पश्चिम नवलपरासी । पेप्सी कम्पनी भनेर चिनिने वरुण वेभरिज प्रालिका मजदुरहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । कम्पनीको व्यवस्थापन पक्षले मजदुरहरुले राखेका माग सम्बोधनको निर्णय कार्यान्वयन नगरेको भन्दै चरणबद्ध आन्दोलन थालेका हुन् ।

श्रमिकहरुले अन्तिम पटकका लागि भन्दै यही असोज १४ गतेसम्मको समयसीमा दिएका छन् । तर पनि माग सम्बोधनमा चासो नदेखाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको मजदुर अगुवा रमेश गौतमले बताए ।

सामूहिक सौदाबाजी समितिका संयोजकसमेत रहेका गौतमका अनुसार श्रम ऐन कार्यान्वयन, निष्काशन गरिएका श्रमिकको पुनः बहालीलगायतको माग मजदुरहरुले राखेका छन् । यस विषयमा कम्पनीको व्यवस्थापन पक्षसँग पटक-पटक सहमति भए पनि कार्यान्वयनमा चासो नदेखाइएको गौतमको भनाइ छ ।

‘विगत पाँच महिनादेखि नै हामी श्रमिक आन्दोलित हुँदै आएका छौँ, कम्पनीले माग सुनुवाइमा चासो दिएको छैन, आन्दोलन गरेको भन्दै कम्पनीले उल्टै ५० श्रमिकलाई निष्काशन गरेको छ,’ उनले भने ।

पेप्सी कम्पनीमा कर्मचारी र कामदार गरी ५२० जना कार्यरत छन् । आन्दोलनमा उत्रने नेपाली श्रमिकलाई निष्काशन गर्दै कम्पनीले हाल भारतबाट कामदार ल्याएर काममा लगाएको राससले जनाएको छ । सबै श्रमिकलाई कम्पनीले सप्लायर कम्पनीमार्फत दैनिक ज्यालादारीका रूपमा राखेर काम गराउँदै आएको छ ।

आन्दोलनरत श्रमिकहरुले निष्काशन गरिएकालाई तत्काल पुनःबहाली गर्नुपर्ने, श्रम ऐनले तोकेबमोजिमको पारिश्रमिक उपलब्ध गराउनुपर्ने, कम्पनीले सीधै नियुक्ति दिनुपर्ने, ठेकेदारीप्रथा अन्त्य गर्नुपर्नेलगायतका माग राखेका छन् ।

कम्पनीको व्यवस्थापन पक्षले श्रमिकका माग सम्बोधनमा आलटाल गरेपछि विभिन्न समयमा राजनीतिक दल, सांंसद, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघको पहलमा पटक-पटक माग सम्बोधनका लागि श्रमिक र कम्पनीबीच सहमति भएको थियो । तर सहमति कार्यान्वयन नभएपछि श्रमिकहरुको आन्दोलनमा राजनीतिक दलका स्थानीय नेताहरुले पनि समर्थन जनाएका छन् ।

कम्पनीले सहमति कार्यान्वयनमा चासो नदेखाएकाले श्रमिकको आन्दोलनमा ऐक्यबद्धता जनाएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी -नेकपा)का बुद्धन अलीले बताए ।

यसैगरी नेपाली कांग्रेसका जिल्ला सचिव विक्रम यादवले श्रमिकले गर्ने चरणबद्ध आन्दोलनमा साथ दिँदै यही असोज १४ गते परासीमा विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र सुनुवाइ नभए असोज १७ गते कम्पनीमै अनिश्चितकालका लागि तालाबन्दी गर्ने चेतावनी दिए ।

राजपाका जिल्ला संयोजक मुकुरजी गिरी र समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष अमिरुल्लाह मियाँले श्रमिकहरुको आन्दोलनमा आफूहरुको समर्थन रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment