Comments Add Comment

स्थापनाको २१ वर्षमा के-के गर्‍यो यती एअरलाइन्सले ?

१२ असोज, काठमाडौं । नेपालको सबैभन्दा ठूलो एवम् पहिलो कार्वन न्युट्रल हवाई कम्पनी यती एअरलाइन्सले २१ वर्ष पूरा गरेको छ । सेवामुखी हवाई कम्पनीको पहिचान बोकेको यति एअरलाइन्सले सुरक्षित र आरामदायी उडान भर्दै दुई दशक पार गरेको हो ।

निजी क्षेत्रतर्फ सन् १९९८ सेप्टेम्बर २१ देखि सुरु भएको कम्पनीले देशैभर आफ्नो सेवालाई विस्तार गर्दै आएको छ । नेपालमा नियमित रुपमा सञ्चालनमा रहेको ३३ वटा विमानस्थलमध्ये हाल यती एअरलाइन्सले ९ स्थान र भातृ संस्था तारा एयरले १२ गरी २१ विमानस्थलमा दैनिक रुपमा उडान भरेर धेरै उडान भर्ने हवाई कम्पनीको सूचीमा नाम राखेको छ ।

माउण्टेन फ्लाइट सहित यतीले दैनिक नेपालका ठूला शहर मात्र नभई अति दुर्गम कर्णालीसम्म उडान सेवा प्रदान गर्दै आएको छ । नेपालको पहिलो र एकमात्र कार्वन न्युट्रल कम्पनी यती एअरलाइन्सले व्यवसायसँगै विभिन्न किसिमका सामाजिक परिवर्तनका कार्यहरु समानान्तर रुपले गर्दै आइरहेको छ ।

कम्पनी २१ वर्ष पूरा गरी २२ वर्षमा प्रवेश गरेको अवसरमा नयाँ प्रविधि जडित र सुविधायुक्त जहाज थप गरी सेवा विस्तार गर्ने लक्ष्य राखेको प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले बताए । यतीले देशका अधिकांश विमानस्थलमा उडान सेवा सुरु गरेको तर सेवाग्राहीको अभावले पछिल्लो समय रोकिएको र आगामी दिनमा जतिसक्दो सबै विमानस्थलहरुमा सेवा पुर्‍याउने लक्ष्य रहेको योजना राईले बताए ।

रुकुमको सल्ले, चौरजहारी, साँफेबगर, बझाङ, डोटी, रुम्जाटार, खानीडाँडा, लामीडाँडा, भोजपुर, सुकेटार, जोमसोम, काँगेल जस्ता दुर्गम र अत्यावश्यक क्षेत्रमापुनःसेवा सुचारु गर्ने लक्ष्य राखेको पनि राईले जानकारी दिए ।

सगरमाथा सफाई अभियान

स्थानीय सरकार तथा सगरमाथा प्रदूषण नियन्त्रण समितिसँगको सहकार्यमा सगरमाथा सफाई अभियानमा यती र भातृ संस्था तारा एयर निरन्तर लागिरहेको छ ।

पर्यावरण स्वच्छ बनाई पर्यटनलाई प्रवर्द्धन गर्न सगरमाथा लगायत खुम्बु क्षेत्रका फोहोर संकलन गरी काठमाडौं ढुवानी गर्दै आएको छ । यो अभियान सन् २००८ देखि शुरु गरेको हो । सन् २००८ देखि २०१८ सम्म७५ टन फोहोर काठमाडौं ल्याइएको छ भने सन् २०१९ को अन्तिमसम्म थप ३० टन फोहोर संकलन गर्ने लक्ष्य रहेको छ ।

टे्रकिङ्ग लगायत पर्यटन गतिविधिबाट सगरमाथा क्षेत्रमा उत्पादन भएका फोहोरहरुलाई संकलन गरी विमान मार्फत् काठमाडौं ल्याइन्छ र पुनःप्रशोधन गरी आवश्यक उपयोगी सामग्रीको रुपमा बजारमा पुर्‍याउने गरिन्छ ।

कार्वन न्युट्रलमा अग्रणी

यती एअरलाइनस नेपालमा कार्वन न्युट्रल अभियान शुरुवात गर्ने पहिलो र एकमात्र हवाई कम्पनी हो ।

कार्वन उत्सर्जन कम गर्न इन्धन बढी खपत गर्ने विमानलाई विस्थापित गरी कम इन्धनमा चल्ने जहाज खरिद गरी सेवा विस्तार गरेको छ ।

विगत दुई वर्ष भित्रै कम्पनीले ५ वटा एटिआर विमान खरिद गरी देशका मुख्य शहरहरुमा सेवा थप गरेकोछ । त्यस्तै एअरपोर्टमा यात्रुलाई जहाजसम्म ल्याउने/पुर्‍याउने सुविधाका लागि प्रयोग हुने सवारी साधनको सन्दर्भमा पनि विद्युतीय भ्यानको प्रयोग सुरु गरेको छ र डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सबै सवारी साधनहरुलाई बिस्तारै विस्थापित गर्दै विद्युतीय सवारी थप गर्ने तर्फ कम्पनी अघि बढेको छ ।

यतीले प्रयोगमा ल्याइएका जहाज तथा सवारी साधनबाट भएको उत्सर्जित कार्वनको राष्ट्र संघबाट सम्बन्धन प्राप्त संस्थाबाट अडिट गराई क्षतिपूर्ति गर्दै आइरहेको छ ।

साथै यती एअरलाइन्सले विगत १० वर्ष देखि विभिन्न संघसंस्थाहरुको सहकार्यमा कैलाली, कञ्चनपुर, डोटी र सोलुखुम्बु क्षेत्रमा २ लाख ८० हजारभन्दा बढी वृक्षारोपण समेत गरेको छ ।

दीगो विकास लक्ष्य प्राप्तिमा हातेमालो

यती एअरलाइन्सले सहस्राब्दी दीगो विकास लक्ष्य पूरा गर्न संयुक्त राष्ट्र संघ विकास नियोग -युएनडिपि) सँग सहकार्य गरिरहेको छ ।

दीगो विकास लक्ष्यका १७ वटा बुँदामध्ये यतीले बुँदा नम्बर ५ को जेन्डर इक्वालिटी, १३ नम्बर बुँदाको क्लाइमेट एक्सन र १७ को बँुदाको पार्टनरसिप टु अचिभ दि गोल गरी ३ वटा बुँदामा सहकार्य गरी कामहरु अघि बढाएको छ । यतीका प्रत्येक जहाज, सवारीसाधन र प्रचारसामग्रीमा दीगो विकास लक्ष्यको लोगो राख्ने गरिएको छ ।

दुर्गममुखी सेवा
यती र यसको भातृ संस्था तारा एयरले दुर्गम क्षेत्रमा हवाई सेवा प्रदान गरी दुर्गममुखी हवाई सेवा कम्पनीको रुपमा पनि चिनिएको छ ।

सुविधासम्पन्न क्षेत्रमा ५ वटा जेटस्ट्रीम र ५ एटिआरले उडान भर्दै आइरहेको छ भने बाँकी दुर्गम क्षेत्रमा तारा एयरका ४ ट्वीनअटर र २ डोर्नियर जहाजले उडान भर्दै आएको छ ।

अन्य एअरलाइन्सले पर्यटकको चाप बढ्ने सिजनमा सेवा दिने तर अफसिजनमा सेवा बन्द गर्ने गरेको भए तापनि तारा एअरले बाह्रै महिना सबै ठाउँमा सेवा दिने गरेको छ ।

सडक सञ्जाल नपुगेको क्षेत्रमा त्यस क्षेत्रका स्थानीयबासीले बढी दुःख खेप्नुपर्ने बाध्यतालाई कम गर्न तारा एयरले दुर्गमका विमानस्थलमा उडान भर्ने गरेको कम्पनीले बताएको छ ।
लुक्ला, जोमसोम, सिमिकोट, रारा, डोल्पा, जुम्ला, फाप्लु, बाजुरा लगायतका स्थ्ाानहरुमा नियमित उडान गर्दै आएको छ भने तालिका विना पनि आवश्यकतानुसार अन्य स्थानहरुमा समेत उडान गर्दै आएको छ । सडकको पहुँच नपुगेका क्षेत्रमा खाद्यान्न, अत्यावश्यक र निर्माणका सामग्री पुर्‍याई रहेको छभने विरामी, सुत्केरीहरुको समेत उद्दार गरिरहेको छ ।

कणर्ाली क्षेत्रमा खाद्यान्न संकट न्यूनीकरण गर्न खाद्य संस्थान र विश्व खाद्य कार्यक्रमको खाद्यसामग्री ढुवानीमा सहयोग पुर्‍याएको छ ।

खाद्यान्नसँगै बिरामीदेखि निर्माण सामग्री समेत ढुवानीमा सहयोग गर्दै आएको छ । तारा एयरले मात्र यस वर्ष लुक्लामा ५६ हजार ५६, जोमसोममा ३२ हजार ६ सय ४८, सिमिकोटमा १७ हजार ४ सय ७५, रारामा १४ हजार ९ सय ४२, डोल्पामा ११ हजार २ सय ७०, जुम्लामा ६ हजार ६ सय ८४, फाप्लुमा ३ हजार ६ सय २८ र बाजुरामा १ हजार १८ जना गरी एक लाख ४३ हजार ७ सय २१ यात्रुलाई सेवा दिएको थियो ।

पर्यटन प्रवर्द्धन र सहायता

नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुमा नियमित उडान गरेर पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको दावी कम्पीको छ । पोखरा, जोमसोम, मनाङ, खुम्बु, कणर्ाली लगायतका पर्यटन क्षेत्रको पर्यटन प्रवर्द्धनमा तारा एअरले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।

विमानस्थल कालोपत्रे गर्ने क्रममा लुक्ला विमानस्थल बन्द हुँदा अन्य विकल्प थिएन तर तारा एयरले पर्यटक तथा स्थानीयहरुलाई काठमाडौंबाट लामिडाँडा र फाप्लुसम्म जहाजमा पुर्‍याई त्यहाँबाट हेलिकप्टरबाट खुम्बु पुर्‍याइएको थियो ।

यती एअरलाइन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संघसंस्थाहरुलाई आर्थिक सहयोग प्रदान गर्दै आएको छभने दैवी प्रकोपको समयमा समेत प्रभावितहरुलाई आवश्यकतानुसार आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको छ ।

यती तथा तारा एअरले आफ्नो प्रत्येक उडान सेवामा शारीरिक रुपमा अशक्तलाई हवाई भाडामा ५० प्रतिशत तथा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई २५ प्रतिशत छुट दिँदै आइरहेको छ ।

सुरक्षित प्रमाणित

इन्टरनेश्नल एयर ट्रान्सपोर्ट एशोसिएशन (आयटा)ले यती एअरलाइन्सको सुरक्षा सम्बन्धी अडिट गरेरसुरक्षित सेवाका लागि सन् २०१६ र २०१९ मा गरी दुई पटक आयटा स्टान्डर्ड सेफ्टी अडिट प्रमाणपत्रले सम्मान गरेको छ । आयटाद्वारा यो प्रमाणपत्र प्रदान गरिएको नेपालको एकमात्र हवाई कम्पनी यती एअरलाइन्स हो ।

आफ्ना सेवाहरु थप विस्तार गर्ने योजना पनि कम्पनीको छ । साथै समयअनुसारको नयाँ प्रविधि सहितको जहाजहरु थप गर्दै सुरक्षित तथा भरपर्दो हवाई सेवा विस्तार गर्दै लगिने यती एअरलाइन्सको उद्देश्य रहको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment