Comments Add Comment

पेरुका राष्ट्रपतिद्वारा संसद विघटन

१४ असोज, काठमाडौं । राजनीतिक संकट गहिरिएपछि पेरुको संसद बिघटन भएको छ । राष्ट्रपति मार्टिन भिजकाराले संसद विघटन गरी ताजा निर्वाचनका लागि आहृवान गरेका छन् ।

त्यसअघि संसदले ‘नैतिक अक्षमता’ रहेको भन्दै राष्ट्रपति भिजकारालाई हटाएर उपराष्ट्रपति मर्सिडेज आराओजलाई कार्यवाहक राष्ट्रप्रमुख बनाउने घोषणा गरेको थियो ।सभामुख पेड्रो ओलेचाले संसदको बैठक शुक्रबारका लागि डाकिएको र त्यसले राष्ट्रपति भिजकारालाई पदबाट हटाउने जानकारी दिए ।

राष्ट्रपतिमा निर्वाचित भएदेखि नै भिजकाराले संसदसँग पटक-पटक संघर्ष गर्नु परिरहेको छ । संसदमा केइकी फुजिमोरी नेतृत्वको पपुलर फोर्स पार्टी बहुमतमा छ । तर, फुजिमोरी आफैं पनि भ्रष्टाचारको आरोपमा जेलमा छिन् । केइकी पूर्वराष्ट्रपति अलबर्टो फुजीमोरीकी छोरी हुन् ।

राष्ट्रपति भिजकाराले संसदले भ्रष्टाचार रोक्न ल्याइएका सुधारका कार्यमा अवरोध गरेको तथा सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीशको छनौटको विधि परिवर्तन गर्न नचाहेको भन्दै संसदको आलोचना गर्दै आएका थिए । यी दुई विषयलाई लिएर राष्ट्रपति र संसदबीच लामो समयदेखि विवाद र असमझदारी थियो ।

टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गरेको केहीपछि नै संसदले राष्ट्रपतिलाई नै एक वर्षका लागि निलम्बित गर्ने गरी मतदान गरेको थियो ।

विपक्षी सांसदहरुले आफूहरु सत्ता विद्रोहको अवस्थामा रहेको प्रतिक्रिया दिएका छन् । ‘हामी अहिले सत्ताविद्रोहको अवस्थामा छौं,’ विपक्षी सांसद जोर्ज डेल कास्टिल्लोले भने, ‘मुलुकको सशस्त्र फौज र प्रहरी राजनीतिकर्मीहरुको यस खेलबाट टाढै रहने मेरो विश्वास छ ।’

यो घटना पनि पेरुमा वर्षौंदेखि जारी राजनीतिक विवादकै एक श्रृंखलाका रुपमा देखिएको विश्लेषकहरुले टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment