Comments Add Comment

घोर्ले खसीदेखि सुनसम्म खरिद गर्नुअघि ध्यान राखौं

आफ्नै आँगनमा घोर्ले खसी नढालेसम्म दशैं आएजस्तो हुँदैन । कुनै न कुनै धनमाल नभित्र्याएसम्म दशैंको शोभा आउँदैन । त्यसैले त दशैंमा घोर्ले खसी किन्ने गरिन्छ, सुन वा गर-गहना जोड्ने गरिन्छ ।

घोर्ले खसी पनि खरिद गरियो, सुन वा गरगहना पनि जोडियो । अब दशैं कसरी मनाउने त ? वर्षदिनको चार्डपर्व रमाइलो ढंगले मनाउनै पर्‍यो । साथीभाइ, इष्टमित्रसँग रमझम गर्नैपर्‍यो । आगन्तुकलाई स्वागत गर्नैपर्‍यो । आफू पनि पाहुना लाग्नै पर्‍यो । सबैको घरमा पुग्नैपर्‍यो । दिएको सगुन वा परिकार चाख्नैपर्‍यो । तर, दशैंका थरीथरीका परिकारले स्वाद फेर्दा वा अरुको मन राख्दा, आफ्नो स्वास्थ्यको भने ख्याल राख्नुपर्छ ।

अर्को महत्वपूर्ण कुरा त के पनि भने, चाडपर्वको रमझममा रमाइरहँदा घरमा चोरी, डकैती पनि हुनसक्छ । कतिपय आफू बसोबास गर्ने घर छाडेर मूलघर पुग्ने गर्छन् । यसरी घर छाडेर जाने बेला पनि घरको रेखदेख कसलाई गराउने वा कसरी गर्ने भन्ने कुरामा हेक्का राख्नुपर्छ ।

अतः यहाँ दशैंमा घोर्ले खसी खरिद गर्दा के कुरामा ध्यान दिने, गरगहना जोड्दा कस्तो कुरामा सावधान रहने, मीठो मसिनो खाइरहँदा स्वास्थ्यको ख्याल कसरी गर्ने भन्ने जानकारी दिइएको छ ।

गहना खरिद गरिरहँदा

सुनको गहना खरिद गर्दा ध्यानदिनुपर्ने मुख्य कुरा भनेको त्यसको शुद्धतामा हो । सुनको शुद्धतामा शंका लागेमा अर्को गहना पसलमा गएर भाउ बुझ्न सकिन्छ ।

 

जब सुन खरिद गर्नुहुन्छ, त्यसबेला बिल त लिइन्छ नै । यद्यपि बिल प्यान वा भ्याटमा अनिवार्य दर्ता भएको हुनुपर्छ । यो कुरामा पनि बिचार पुर्‍याउनुहोस् है । बिलमा सो दिनको सुनको दर, गहना बनाउँदा लाग्ने पारिश्रमिक स्पष्ट लेखिएको हुनुपर्छ ।

तपाईंलाई भनिरहनु नपर्ला, सुन खरिद गर्नुअघि त्यसको बजारभाउ बुझ्नुपर्छ । पत्रपत्रिका वा कुनै माध्यमबाट त्यसदिनको सुनको बजार मूल्य बुझ्न सकिन्छ । गहना खरिद गरेर लगेपछि विक्री गर्नुपरेमा ‘बाइ ब्याक ग्यारेन्टी’ कति छ ? हेर्नुपर्छ । आफूलाई विश्वासिलो लाग्ने पसलमा मात्र सुनको कारोवार गर्नु उपयुक्त हुन्छ । पसलबाट गहना खरिद गरेर घर र्फकँदा सुरक्षामा पनि ध्यान दिनुपर्छ । त्यसैले सकेसम्म घरपायक पसलमा गएर सुन खरिद गर्नु बढी सुरक्षित हुन्छ ।

खसीबोका कसरी छनोट गर्ने ?

हामी सधैजसो खसीबोका खरिद गरिरहेका हुँदैनौं । त्यसैले कस्तो खसीबोका खरिद गर्नु उपयुक्त भन्ने कुुरामा हामी त्यती अभ्यस्त पनि हुँदैनौं ।

खसीबोका खरिद गर्नुअघि केही कुरामा ध्यान दिनुपर्छ । झट्ट हेर्दा तन्दुरुस्त, फुर्तिलो खसीबोका किन्नुपर्छ । मुखबाट र्‍याल, सिँगान निकाल्ने वा आँखामा कचेरा भएको हेर्दै रोगी जस्तो खसीबोका खरिद गर्नुहुँदैन ।

खसीबोका बध गर्नुअघि थोरै सादा पानी दिएपुग्छ । यसले गर्दा अन्न र घाँसपात पाचन प्रक्रियामा जाँदा उत्पन्न हुने विषाक्त पनि त्यसको शरीरबाट बाहिरिन्छ । बध गर्ने स्थान पनि सफा र किटाणुरहित हुनुपर्छ ।

खानामा सावधानी

दशैं भनेकै मीठो मसिनो खाने चार्ड हो । अझ मासु खाने चार्ड पनि हो । तर, अर्को कुरा पनि हेक्का राख्नुपर्छ कि, मान्छेहरु खान नपाएर होइन, खान नजानेर रोगी हुन्छन् । दशैंको खानपानमा भने यो कुरा मनन गरौं । दशैंको रमझमले आफूलाई रोगी बनाउने पो हो कि ? ध्यान राखौं ।

चाडपर्वमा धेरै थरीका परिकार सेवन गर्दा शरीरमा नुन र चिल्लोको मात्रा बढ्न सक्छ । यसले पाचन प्रक्रियामा पनि हानी गर्छ । रमाइलो गर्ने बाहानामा धेरै समय एकै स्थानमा बसेर वा मध्यरातसम्म खादै बस्नाले स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउँछ । चार्डपर्वमा एकैचोटी धेरै किसिमका परिकार खाने गरिन्छ, जुन ठीक होइन । कतिपय खानेकुरा आपसमा मिल्दैन र त्यो विषाक्त हुनपुग्छ ।

कस्तो मासु राम्रो ?

रातो मासुभन्दा सेतो मासु स्वस्थ्यका दृष्टिले राम्रो मानिन्छ । जस्तो, कुखुरा र माछाको मासु । कोलेस्ट्रोल तथा मुटुको समस्या भएकाहरुलाई पनि सेतो मासु त्यति हानिकारक हुँदैन । रातो मासुले कोलेस्ट्रोल, फ्याट, युरिक एसिड बढाउने, पेट, ठूलो आन्द्रा, छातीको क्यान्सर हुने सम्भावनालाई बढाउँछ ।

रातो मासु सेवन गर्नै नहुने चाहिँ होइन, यद्यपि स्वस्थ्यका दृष्टिले तुलनात्मक रुपमा सेतो मासु बढी स्वस्थ्यकर हुन्छ ।  मासुको सतह चिपचिपे हुनु, स्वभाविक रंगको साटो फिक्का वा कालो-निलो हुने, ग्याँस उत्पादन हुने र बोसो पग्लेर जाने मासु बिग्रेको हो ।

मासुमा सावधानी

धेरै दिनसम्म फ्रिजमा राखेको मासु स्वस्थ्यकर हुँदैन । पोलेको मासु तथा छोयला, सुकुटी लगायतका परिकारले पेटको क्यान्सर जस्ता खतरा बढाउँछ ।

स्वस्थ खसीबोका वा राँगा, कुखुरा लगायतको मासु प्रेसर कुकरमा झोलिलो बनाएर राम्ररी पकाएर खानु उपयुक्त हुन्छ । भुटेर वा सुकुटी बनाएर राखेको मासु पनि संक्रमित हुने जोखिम हुन्छ । बोसोयुक्त मासुको अत्यधिक सेवनले पित्त थैलीको संक्रमण हुने खतरा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment