Comments Add Comment

सार्कलाई गति दिन सबै तयार छन् : परराष्ट्रमन्त्री

Photo Credit : आफ्नो भ्रमणबारे विमानस्थलमा सञ्चारकर्मीलाई जानकारी गराउँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ।

१६ असोज, काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सार्कलाई गति दिन यसका सदस्य राष्ट्र तयार रहेको बताएका छन् ।

सार्क आबद्ध केही राष्ट्रबीचको मनमुटावले पछिल्लो समय सार्क गतिहीन देखिएको छ । यसको नियमित गतिविधिसमेत केही समयदेखि प्रभावित हुँदै आएको छ । तर, संयुक्त राष्ट्रसंघको ७४ औं महासभा बैठकमा सहभागी भएर स्वदेश फर्किएका परराष्ट्र मन्त्री ज्ञवालीले यसका सबै राष्ट्र गति दिन तयार भएको बताएका छन् । मन्त्री ज्ञवालीका अनुसार, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अनौपचारिक मन्त्रिरिषद् बैठकमा सबैले सार्कलाई सक्रिय पार्न भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएका छन् ।

फरक प्रसंगमा मन्त्री ज्ञवालीले चिनियाँ राष्ट्रपति सी जिनपिङकाे  नेपाल भ्रमणकाे  मिति तय भइनसकेकाे बताए ।

‘चीनका राष्ट्रपतिले निकट भविष्यमा नेपालको भ्रमण गर्ने सम्भावना छ’, संयुक्त राष्ट्रसंघको ७४ औं महासभा बैठकमा सहभागी भएर बुधबार स्वदेश फर्किएका ज्ञवालीले सञ्चारकर्मीसँग भने, ‘भ्रमण गर्ने सम्भावना रहे पनि मिति निर्धारण भइसकेको छैन ।’

ज्ञवाली संयुक्त राष्ट्रस‍‌ंघकाे ७४औं महासभा बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका थिए ।

बैठकका क्रममा ज्ञवालीले जलवायु शिखर सम्मेलन, दिगो विकासका लक्ष्य, शिखर सम्मेलन, सबैका लागि स्वास्थ्य र विकासका लागि आर्थिक स्रोतको व्यवस्था विषयक बेग्लाबेग्लै बैठकमा भाग लिएका थिए ।

विश्वका १२३ भन्दा बढी राष्ट्र र सरकार प्रमुखहरु र अन्य देशबाट उपराष्ट्रपति, उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमेत गरी १९२ देशबाट प्रतिनिधित्व भएको थियो ।

राससको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment