Comments Add Comment

लेकसाइडको रात्रि जीवन : मेला कि झमेला ?

पोखरा यसै गुल्जार छ । जलाशय र हिमालको अद्भूत संयोजनले यसलाई बिछट्टै रुपवती बनाएको छ । हुन त पोखराको बखान गरिरहनु आवश्यक छैन  बरु, लागौं यहाँको रात्रि जीवनतर्फ ।

पोखरा, लेकसाइड । रातको ११ बजे ।

अघिल्तिर लमतन्न फैलिएको फेवाताल रातको अँध्यारोमा सुस्ताइरहेको झै लाग्छ । दिनको उज्यालोमा मोहक लाग्ने त्यो विशाल जलाशयमा सन्नटा छाएको छ । बरू त्यसकै डिलमा रहेको लेकसाइड रंगबिरंगी बत्तीको उज्यालो र थरीथरीको सांगीतिक धुनमा नाचिरहेको छ ।

अनि लेकसाइड नाच्छ

रात छिप्पिदै जाँदा लेकसाइड भने तंगि्रदै जान्छ । पोखराको यो विशेष मनोरञ्जन-हब हो । घरेलु तन्नेरी र विदेशी आगन्तुक सराबरी थुपि्रने यो भेग रातभर सुत्दैन, जागा बस्छ ।

लेकसाइडका आसपासमा रात कटाउनका लागि अनेक बहाना छन् । यसै बिन्दास मुडमा यायावर भएर हिँडे भयो । मदिराको चुस्की लिँदै मीठो धुनमा भुले भयो, कुनै डिस्को थेकमा पसेर पसिना चुहिनेगरी नाचे भयो ।

धर्तीमा जति-जति रातको कालो पोखिँदै जान्छ, लेकसाइडका रेस्टुरेन्टदेखि डिस्को थेकसम्म रंगीन बन्दै जान्छ । यही रंगीन रातमा विदेशी पर्यटक र तन्नेरीहरुको मेला लाग्छ ।

काठमाडौंको ठमेलकै झल्को दिनेगरी यहाँ रात्रि क्लबहरु चलायमान रहन्छन् । फराकिला र आकर्षक रेस्टुरेन्टहरुले भने ठमेललाई मात दिएको छ । रहरलाग्दो आन्तरिक सज्जा, मधुर सांगीतिक धुनले पैदल हिँडिरहेकाहरुलाई आमन्त्रण गरेझै लाग्छ ।

रातभर जाग्छ लेकसाइड

रात्रि जीवनको आनन्द लिन चाहनेहरुका लागि खास गन्तव्य हो, लेकसाइड । दिनभरी यहाँ जति चहलपहल हुन्छ, त्योभन्दा कम हुन्न मध्यरातमा पनि । अझ रातको समयमा यो क्षेत्र थरीथरीका संगीतले गुञ्जायमान हुन्छ ।

डिस्को, डान्स र मदिरामा रमाउनेहरुका लागि लेकसाइड रातभर जाग्राम बस्छ । यहाँको रात्रि जीवनमा रमाउन पुग्नेहरुले बिना अवरोध रात कटाउन सक्छन् । किनभने लेकसाइडलाई नाइटलाइफका लागि कानुनी बन्देज छैन । मध्यरातदेखि बिहान ४ बजेसम्म यहाँका कतिपय डिस्को थेकहरु चलयमान रहन्छ ।

पश्चिमा संस्कृतिको रंग

लेकसाइड रात्रि जीवनका लागि विशेष भएपनि यसको आफ्नोपन भने छैन । खासगरी विदेशी पर्यटकलाई लक्षित गरेर यहाँका रेस्टुरेन्ट, क्लब सञ्चालन गरिएको छ । त्यसैले रात्रिकालीन रेस्टुरेन्ट, क्लबहरुले विदेशी शैली र धुन पस्किएको छ ।

पोखराको आफ्नो मौलिक परिचय छ । यसको आफ्नै धुन र लय छ । गुरुङ जातिको खास थलो हो यो । तर, यहाँको रात्रि जीवनले उनीहरुको धुनलाई समेट्न सकेको छैन । एक स्थानीय युवा भन्छन्, ‘विदेशीहरुलाई यहाँ उनीहरुकै संस्कृति देखाउने होइन, हाम्रो संस्कृतिमा लोभ्याउने हो ।’ तर, पोखराको रात्रि जीवनमा यहाँको रैथाने संस्कृतिलाई भने समेटिएको छैन ।

रात्रिकालीन मस्ती

पोखराको खास आकर्षण नै यहाँको मोहक भू-बनोट हो । त्यससँगै आसपासका मनोरम क्षेत्रले आगन्तुकको आँखा लोभ्याउँछ । यसर्थ पोखरा भन्नु नै पर्यटकको अस्थायी आश्रयस्थल हो । त्यसैले त देश-विदेशबाट घुमफिर र मनोरञ्जनका लागि पोखरा पुग्ने गर्छन् ।

पर्यटनमै आधारित पोखरामा पर्यटककै खातिर रात्रि जीवनका लागि खुला गरिएको हो । दिनभर पैदल यात्रा जाने, जलबिहार गर्ने, प्याराग्लाइडिङमा उड्ने । अनि साँझ परेपछि मदिरा र म्युजिकमा रमाउने ।

पर्यटकीय थलो भएकै नाताले पोखराको आवश्यकता हो, रात्रि जीवन पनि । घुम्न आएका विदेशी वा स्वदेशी आगन्तुकले पट्यारलाग्दो रात बिताउन नपरोस् भनेर नै रात्रि जीवनका लागि खुला गरिएको बताइन्छ ।

तर, झमेला

पोखराको रात्रि जीवनका केही विकार पनि छन् । रात्रि जीवनका लागि खुला गरिएको लेकसाइड पूर्णतः व्यवसायिक क्षेत्र होइन, आवसीय क्षेत्र पनि हो । त्यसैले यहाँ रात्रिकालीन मनोरञ्जन लिइरहँदा स्थानीय बासिन्दाहरुको रात भने बिथोलिने गरेका छन् । राति बज्ने चर्को संगीत र मदिराको नसामा हुने हो-हल्लाले त्यहाँको रात खलबलिने गरेको छ ।

यही कारण स्थानीयबासी रात्रि जीवनको विपक्षमा छन् । खासगरी स्थानीय आमा समूह, सामुदायिक प्रहरी सेवा केन्द्र र होटल व्यवसायीले रात्रिकालीन डिस्को थेक, क्याबिन, डान्स बार आदि बन्द गराउनुपर्ने माग राख्दै अदालतमा मुद्दा समेत हालिसकेका छन् । मुद्धा विचारधीन अवस्थामा छ । रातभर होहल्ला हुँदा पर्यटकलाई समेत असहज भएको उनीहरुको तर्क छ ।

रात्रि जीवनका लागि आवश्यक पाँच सर्त

दानबहादुर कार्की, प्रहरी उपरीक्षक 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्की पोखराको सुरक्षा चुनौतीमध्ये एक रात्रि जीवनलाई पनि लिने गर्छन् । पोखरा विदेशीहरुको जमघट हुने थलो भएकाले यहाँ आपराधिक गतिविधि पनि उत्तिकै हुने सक्ने सम्भावना छ । लागुऔषध कारोबार र बालयौन दुव्र्यवहारमा विदेशीहरु जोडिने भएकाले रातको समय उनीहरुलाई यस्तो धन्दा गर्न अरु अनुकूल हुनेगर्छ । यसका साथै गुण्डागर्दी, ग्याङफाइट पनि अर्को समस्या हो । यावत सुरक्षा चुनौती हुँदाहुँदै पनि प्रहरी उपरीक्षक कार्की रात्रि जीवनलाई निषेध होइन, व्यवस्थापन गर्नुपर्ने जोड दिन्छन् । यसै सन्दर्भमा उनले लेकसाइडको रात्रि जीवनलाई कसरी व्यवस्थापन गर्ने भन्ने एउटा खाका तयार गरेका छन् । उक्त खाका उनकै शब्दमा :

लेकसाइड क्षेत्रमा आवासीय निवासहरु पनि छ । त्यही भएर राति होहल्ला हुँदा, झै-झगडा हुँदा उहाँहरुलाई प्रत्यक्ष असर पर्छ । सुरक्षाको हिसाबले पनि स्थानीयबासीले यसको विरोध गरेका छन्, जो स्वभाविक हो । अर्कोतिर नियम-कानुन अनुरुप व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने नागरिकको हक हो । संविधानले नै बिना रोकतोक उद्यम-व्यवसाय गर्न पाउने भनेको छ ।

यसैले लेकसाइडको रात्रि जीवनलाई पनि व्यवस्थापन गर्न केही सर्त आवश्यक छ । खासगरी पाँचवटा सर्त उनीहरुले पालना गर्नुपर्छ । पाँचवटा सर्त मेरो आफ्नो निजी अभ्यास हो, तर यसलाई संस्थागत गर्दै लगिएको छ ।

१. साउन्डप्रुफ भित्ता

डिस्को थेकहरु साउन्डप्रुफ हुनुपर्ने । त्यसभित्र नाचगान गर्न पाइयो । चर्को संगीत सुन्न पाइयो । तर, त्यसले बाहिर अरुलाई बाधा पुर्‍याउनु भएन ।

२. सिसिटिभी क्यामेरा अनिवार्य राख्ने

रात्रिकालीन क्लबहरुले सिसिटिभी क्यामेरा अनिवार्य राख्नुपर्नेछ । किनभने भित्र झगडा, दुव्र्यवहार, अपराध हुनसक्छ । त्यसैको निगरानीका लागि सिसिटिभी क्यामेरा राख्ने ।

३. सुरक्षा गार्ड राख्नुपर्ने

पहिले पहिले डिस्को एवं क्लबहरुमा बाउन्सर राख्ने गरिन्थ्यो । पाखुरा बलिया भएका बाउन्सर राखिएपनि उनीहरुमा सुरक्षा सम्बन्धी कतिपय प्राविधिक वा सैद्धान्तिक ज्ञान हुँदैन । त्यही भएर रजिष्टेड सुरक्षा गार्ड राख्नुपर्छ । यसमा पुरुष मात्र होइन, महिला पनि हुनुपर्छ ।

४. चुरोट खान नपाइने

चुरोट सार्वजनिक स्थानमा खान पाइँदैन । चुरोट सेवन गर्दा अरुलाई त्यसले सहजै असर गर्ने भएकाले पनि त्यहाँ खुलेआम चुरोट पिउन दिन हुँदैन । यदि चुरोट सेवन गराउने हो भने बेग्लै स्मोकिङ जोन बनाउनुपर्नेछ । अर्कोकुरा चुरोट नै लागुऔषधको प्रस्थानबिन्दू पनि हो । चुरोट, सुर्ती हुँदै मान्छे लागुऔषधसम्म पुग्ने गर्छन् । सकेसम्म त यसलाई नियन्त्रण गर्नुपर्छ ।

५. पार्किङ व्यवस्था

करोडौंको लगानीमा डिस्को थेक, क्लब खोल्न र सञ्चालन गर्न सक्नेले पार्किङको पनि व्यवस्था गर्नुपर्छ । सम्पूर्ण पार्किङ होइन, उनीकहाँ आउनेमध्ये १५ प्रतिशतका लागि भने पार्किङ व्यवस्था गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment