Comments Add Comment

स्थलमार्गबाट नेपाल भित्रिने भारतीयको सर्वेक्षण हुने

१६ असोज, काठमाडौं । सरकारले स्थलमार्गबाट भित्रने भारतीय नागरिकलाई पर्यटकको मान्यता दिँदैन । यस्ता भारतीयको कुनै तथ्यांक पनि सरकारसँग छैन । अब भने पर्यटन बोर्डले स्थलमार्गबाट आउने भारतीय पर्यटकको सर्वेक्षण गर्ने भएको छ ।

भन्सार विभागसँगको समन्वयमा बोर्डले यस्तो सर्भेक्षण गर्न लागेको हो । यसै वर्ष सर्वेक्षण प्रतिवेदन तयार हुने बोर्डले जनाएको छ ।

सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ । भ्रमण वर्षलाई लक्ष्यित गरी सरकारले पर्यटकीय तथ्यांक यकिन गर्ने कामलाई यस वर्ष प्राथमिकता दिएको छ ।

अहिलेसम्म पर्यटन उद्योगमा विदेशबाट आउने पर्यटकको संख्याबाहेक अन्य धेरै तथ्यांक अनुमानको भरमा मात्र बनाइने गरेको छ । खासगरी होटेल, नेपाल राष्ट्र बैंक, अध्यागमन विभागजस्ता सरोकारवाला निकायले दिने फरक फरक तथ्यांकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विश्लेषण मात्र गर्ने काम गरिरहेको छ । यो समस्या हटाउन पर्यटनको आफ्नै स्याटलाइट अकाउन्ट्स निर्माणमा मन्त्रालय जुटेको छ ।

पर्यटन बोर्डका अनुसार चालु आवभित्रै टूरिजम स्याटलाइट अकाउन्ट्स तयार पार्न आवश्यक समन्वयात्मक काम हुने भएको छ । यसका लागि संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनले बोर्डलाई सघाइरहेको छ । केन्दि्रय तथ्यांक विभागले पनि बोर्डलाई यस कार्यमा सहयोग गर्ने भएको छ । अर्कोतर्फ पर्यटकले गर्ने खर्चको यकिन तथ्यांक निर्माणमा समेत बोर्डले नेपाल राष्ट्र बैंकसँग सहकार्यको योजना बनाएको छ ।

टूरिजम स्याटेलाइट एकाउण्ट्समा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका १० तालिका हुनेछन् । त्यसमध्ये यस वर्ष ८ वटा तालिकालाई आवश्यक पर्ने तथ्यांकहरु तयार पार्ने योजना बोर्डको रहेको छ ।

आन्तरिक पर्यटकको सर्वेक्षण हुने

बोर्डले आन्तरिक पर्यटकको समेत सर्वेक्षणको तयारी गरेको छ । चालु आवभित्रै आन्तरिक पर्यटकसम्बन्धी तथ्यांक संकलन र विश्लेषण हुने भएको हो ।

पछिल्लो समय अधिकांश गन्तब्य आन्तरिक पर्यटकका कारण चलायमान भए पनि आन्तरिक पर्यटकको योगदानबारे तथ्यांक उपलब्ध छैन ।

आन्तरिक पर्यटक सर्वेक्षणका लागि मात्र पर्यटन बोर्डले ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तो सर्वेक्षण पहिलो पटक हुन लागेको हो ।

यो पनि पढ्नुहोस पहिलोपटक आन्तरिक पर्यटक सर्वेक्षणको तयारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment