Comments Add Comment

रूपन्देहीको दशैं सुरक्षा : जंगलमा गस्ती, भारतीय मोटरसाइकलमाथि निगरानी

१७ असोज, बुटवल । ठूला चाडहरु दशैं र तिहारलाई लक्षित गरी रुपन्देही प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ । चाडपर्वका बेलामा राजमार्गमा चल्ने लामो दूरीका रात्रिबस र अन्य सवारी साधनलाई पनि सुरक्षित बनाउन हतियारसहित सुरक्षाकर्मी परिचालन गर्न थालिएको छ ।

जंगल र सुनसान क्षेत्रमा हतियारसहित प्रहरीको गस्ती सञ्चालन गरिएको रूपन्देही प्रहरीले जनाएको छ । हतियारसहितका सुरक्षाकर्मी एउटा बसबाट यात्रा गर्दै अर्को स्थानमा पुग्ने र अर्को बसबाट फिर्ता आउनेछन् । रातभरि यो प्रक्रिया दोहोरिइरहने छ ।

यस्तै प्रहरीले भारतीय मोटरसाइकलप्रति पनि सुरक्षा निगरानी बढाएको छ । रूपन्देहीमा चाडपर्वका लागि ७ सय ९१ जना नेपाल प्रहरीतर्फका सुरक्षाकर्मीको परिचालन गरिएको छ । दसैंको बढ्दो चहलपहलसँगै ठाउँठाउँमा सुरक्षाकर्मीले गस्ती बढाएका छन् ।

भारतसँगको खुला सिमाना र बेलहिया नाकामा सुरक्षा सजगता बढी अपनाइएको छ । नेपाल आएका प्रत्येक भारतीय नम्बरका सवारीसाधनको चालकसहितको लगत अलग्गै राख्न प्रहरीले सुरु गरेको छ । खुला सीमानाको फाइदा उठाउँदै भारतीय नम्बरका सवारीसाधनबाट हुन सक्ने अपराधप्रति सजगता अपनाउन यस्तो प्रयास थालिएको रुपन्देही प्रहरीको भनाइ छ । सीमानाका बेलहियाका अतिरिक्त धकधई, लुम्बिनी र मर्चवार क्षेत्रबाट नेपाल आउने गरेका भारतीय सवारी साधनको लगत राख्न थालिएको हो ।

भन्सार सुविधा बनाएपछि २४ घण्टासम्मका लागि नेपाल नजिकका बजारसम्म भारतीय सवारीसाधन आउन पाउने प्रावधानले नेपालतर्फ सुरक्षा चुनौती बढ्न थालेको छ । आपराधिक घटनामा भारतीय मोटरसाइकलको प्रयोग बढ्दो छ । भारतीय सवारी साधनको लगत राख्न थालिएपछि बेलहिया नाका हुँदै नेपाल आउने भारतीय मोटरसाइकलमा कमी आउन थालेको प्रहरीको दाबी छ । दैनिक पाँच हजारभन्दा धेरैको संख्यामा भारतीय मोटरसाइकल बेलहिया नाकाबाट नेपालतर्फ आउने गरेकामा अहिले ६० प्रतिशतले कमी आएको प्रहरी उपरीक्षक थापाले बताए ।

‘नेपाल आएका प्रत्येक भारतीय नम्बरका सवारीसाधनको चालकसहितको लगत अलग्गै राख्न सुरु गरेका छौं, यसले सम्भावित अपराधको जोखिम कम गर्नेछ’, रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेम थापाले बताए । विगतका धेरै आपराधिक घटनामा भारतीय नम्बरका सवारीसाधनको संलग्नता भएको पाइएकाले नेपाल आउने त्यस्ता सवारीसाधनमाथि बढी निगरानी गर्न थालिएको रूपन्देहीका प्रहरी उपरीक्षक थापाले बताए । बैंक र गहना पसल आसपास क्षेत्रमा बसिरहने व्यक्तिको सादा पोसाकमा परिचालित सुरक्षाकर्मीले रेकी गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

रूपन्देहीमा मात्र नभएर प्रदेश पाँचका विभिन्न जिल्लामा चाडपर्वलक्षित विशेष सुरक्षा योजना कार्यक्रम सञ्चालन गरिएको प्रहरीको भनाइ छ । भैरहवास्थित संघीय प्रहरी इकाई कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहन आचार्यले चाडपर्वका बेलामा यात्रुमाथि हुन सक्ने असुरक्षालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा सुरक्षा कार्यक्रम लागू गरिएको बताए । हरेक बसपार्क, भारतसँगको नाका र राजमार्ग क्षेत्रमा यात्रुको सुविधाका लागि हेल्प डेस्क स्थापना गरिएका छन् । चौबीसै घण्टा सुरक्षाकर्मीको तैनाथी रहने डेस्कमा गाडी, रिक्सा, अटोरिक्साले बढी भाडा लिएमा, गाडीमा क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गराएमा, दुव्र्यवहार गरेमा, पकेटमारी, चोरी भएमा उजुरी गर्न सकिने वरिष्ठ उपरीक्षक आचार्यले सुझाए । सर्वसाधारणको उजुरीका आधारमा ठगी गर्नेमाथि तत्कालै कारबाही गरिने आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment