+
+
Shares

बैंकिङ क्षेत्रले नाफासँगै सामाजिक र वातावरणीय प्रभाव पनि हेर्नुपर्छ : उपेन्द्र पौडेल

‘सबैभन्दा छिटो वृद्धि गर्ने बैंक नै सधैँ बलियो हुँदैनन् । राम्रो र कठिन दुवै समयमा टिकिरहने बैंक नै बलिया हुन्छन्,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १२ गते १७:५९

१२ मंसिर, काठमाडौं । नेपालको बैंकिङ क्षेत्रलाई दीर्घकालीन रूपमा बलियो बनाउन वृद्धि र सावधानीबीच सन्तुलन कायम गर्नुपर्नेमा पूर्वबैंकर उपेन्द्र पौडेलले जोड दिएका छन् ।

बैंकहरूले नाफा र व्यवसाय विस्तारमा मात्रै ध्यान नदिई सामाजिक तथा वातावरणीय प्रभावलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

नेपाल बैंकर्स संघको लाइफटाइम एचिभमेन्ट अवार्ड ग्रहण गर्दै उनले बैंकिङ क्षेत्रको दीर्घकालीन सफलता तीव्र वृद्धि मात्र नभई अनुशासन, सुशासन, जोखिम व्यवस्थापन र दीर्घकालीन सोचमा निर्भर रहने बताए ।

‘सबैभन्दा छिटो वृद्धि गर्ने बैंक नै सधैँ बलियो हुँदैनन् । राम्रो र कठिन दुवै समयमा टिकिरहने बैंक नै बलिया हुन्छन्,’ उनले भने ।

करिब चार दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय उनले नेपालको आधुनिक बैंकिङ प्रणाली निर्माणमा आफ्नो पुस्ताले महत्वपूर्ण योगदान गरेको बताए । वित्तीय क्षेत्र उदारीकरणपछि बैंकिङ क्षेत्रमा प्रवेश गरेको पुस्ताले व्यावसायिकता, आधुनिक बैंकिङ प्रणाली, प्रविधि, सुशासन र जोखिम व्यवस्थापनका अभ्यास विकास गर्न सहयोग गरेको उनको भनाइ छ ।

आफ्नो बैंकिङ यात्रामा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा १४ वर्ष, एनएमबी बैंकमा १७ वर्ष र नबिल बैंकको सञ्चालक समितिमा आठ वर्ष काम गरेको उनले बताए ।

एनएमबी बैंकमा प्रमुख कार्यकारी अधिकृत र नबिल बैंकमा अध्यक्षका रूपमा काम गरेका उनले संस्थागत विकासमा सहकर्मी, सञ्चालक समिति, ग्राहक र सेयरधनीको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।

‘मलाई सबैभन्दा बढी सन्तुष्टि आफूले सम्हालेका पद वा संस्थाबाट होइन, मानिसबाट मिल्छ,’ उनले भने, ‘आज बैंक तथा वित्तीय संस्थाको नेतृत्व गरिरहेका धेरै व्यक्तिलाई हामीले भर्ती गर्ने, मार्गदर्शन गर्ने र प्रशिक्षित गर्ने अवसर पाएका थियौँ ।’

उनले बैंकिङ क्षेत्रमा आफ्नो पुस्ताले संस्थागत विकास, उद्यमशीलता प्रवर्द्धन, वित्तीय पहुँच विस्तार, बचत परिचालन तथा आर्थिक वृद्धिमा योगदान गरेको बताए ।

तर, आर्थिक विकास र नाफामा केन्द्रित हुँदा समुदाय, वातावरण तथा समग्र सामाजिक कल्याणमा बैंकहरूले पुर्‍याएको प्रभाव मापन गर्न अझ बढी काम गर्न सकिने उनको भनाइ छ ।

उनले आगामी पुस्ताका बैंकर, सञ्चालक तथा लगानीकर्तालाई संस्थाको दीर्घकालीन स्वास्थ्य, बैंकिङ प्रणालीको स्थायित्व र नेपालको अर्थतन्त्रको हितलाई निर्णयको केन्द्रमा राख्न आग्रह गरे ।

‘नवीनता अपनाउनुहोस्, तर मूल्य र मान्यतामा सम्झौता नगर्नुहोस् । वृद्धि खोज्नुहोस्, तर त्यसलाई समावेशी र दिगो बनाउनुहोस्,’ उनले भने ।

बैंकिङ क्षेत्र अहिले निष्क्रिय कर्जा बढ्ने, आर्थिक गतिविधि सुस्त हुने, व्यवसायीको विश्वास कमजोर हुने तथा राजनीतिक र नीतिगत अनिश्चितताजस्ता चुनौतीबाट गुज्रिरहेको उनले बताए । यस्तो अवस्थामा बैंकहरूले वृद्धि र सावधानीबीच उचित सन्तुलन कायम गर्नुपर्ने उनको भनाइ छ ।

बैंकिङ क्षेत्रको इतिहासमा आफूहरूको पुस्तालाई पदका आधारमा नभई निर्माण गरेका संस्था, कायम राखेका मूल्य र विकास गरेका मानिसका आधारमा सम्झिनुपर्ने उनले बताए ।

आगामी पुस्ताले आफूहरूले प्राप्त गरेकोभन्दा बलियो, जिम्मेवार र विश्वासिलो बैंकिङ प्रणाली निर्माण गर्न सके आफ्नो पुस्ताको योगदान सार्थक हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?