१२ मंसिर, काठमाडौं । पोखराको सार्वजनिक यातायात सेवालाई आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउन शाशील मोटर्स प्रालिले पोखरा यातायात प्रालिका सदस्यहरूलाई १६ थान हाइगर विद्युतीय नगर मिनिबस हस्तान्तरण गरेको छ ।
६४.५ किलोवाट आवर क्षमताको बीवाइडी ब्लेड ब्याट्री जडित यी मिनिबसहरू भित्रिएसँगै पोखराको सार्वजनिक यातायातको आधुनिकीकरण र विद्युतीय सवारीको विस्तारमा नयाँ आयाम थपिएको कम्पनीले जनाएको छ ।
हस्तान्तरण कार्यक्रममा शाशील मोटर्सको पोखराका लागि नवनियुक्त आधिकारिक डिलर प्लाटिनियम अटोमोबाइल्सका प्रबन्ध निर्देशक पदमबहादुर केसीले ग्राहकको लगानीको सुरक्षा र दीर्घकालीन व्यावसायिक सम्बन्ध नै आफ्नो प्रमुख प्राथमिकता रहेको बताए ।
उनले पोखरामा हाइगर ब्रान्डको गुणस्तरीय बिक्री तथा बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) र प्राविधिक सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
सोही अवसरमा पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले हाइगर ब्रान्डको निर्माण गुणस्तर (बिल्ड क्वालिटी), सुरक्षा इन्जिनियरिङ र कार्यसम्पादनप्रति उच्च विश्वास व्यक्त गरे ।

यस सहकार्यले व्यवसायीको उत्पादकत्व तथा आम्दानी बढाउनुका साथै यात्रुलाई स्तरीय सेवा दिन मद्दत पुग्ने उनको भनाइ थियो ।
कार्यक्रममा हाइगरका इन्जिनियर मनोज वाग्लेले ४५ जनाभन्दा बढी चालक तथा यातायात व्यवसायीलाई विद्युतीय सवारी सञ्चालन, ब्याट्री र चार्जिङ प्रणाली, सुरक्षा सावधानी तथा नियमित मर्मतसम्भारबारे प्राविधिक अभिमुखीकरण तालिम प्रदान गरेका थिए ।
शाशील मोटर्सका सहायक महाप्रबन्धक प्रधुम्न केसीले पोखरा बजारमा बिक्रीपछिको सेवालाई सहज बनाउन विश्वकर्मा इन्जिनियरिङ वर्कसपसँगको सहकार्यमा अधिकृत सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको जानकारी दिए ।
सवारी बिक्रीमा मात्र सीमित नभई वित्तीय पहुँच, स्पेयर पार्ट्स र मर्मतसम्भारसहितको एकीकृत अटोमोबाइल इकोसिस्टम निर्माण गर्नु कम्पनीको मुख्य लक्ष्य रहेको उनले स्पष्ट पारे ।
प्रतिक्रिया 4