Comments Add Comment

खाद्यान्न–फलफुल किन्दा होसियार ! यसरी गरिन्छ मिसावट

१९ असोज, काठमाडौं । दशैंका लागि किनमेलको चटारोमा हुनुहुन्छ होला । लत्ता–कपडादेखि मरमसलासम्मको जोहो गर्नुपर्ने भएकाले खासगरी गृहणी यतिबेला तनावमै हुन्छन् ।

धेरै परिवारमा यतिबेलासम्म लत्ता कपडाको त जोहो भइसक्यो । अहिले चाहिँ खानपिनका लागि आवश्यक सामग्रीहरु खरिद गर्ने चटारो बेसी हुन्छ । यति नै बेला हो, व्यापारीहरुले कालोबजारी गरेर उपभोक्ता ठग्ने ।

पसलहरुमा भिडभाड बढि हुने, माग धेरै हुने भएकाले व्यापारीले दशैंलाई कमाउने अवसरका रुपमा लिन्छन् । वर्षाको सयममा घटेको ब्यापारको पूर्ति दशैंले नै गर्छ ।

नागरिकको आयस्तर बढ्दै जाँदा ठगी पनि त्यस्तै रुपमा बढेको छ । उपभोक्तालाई बजारमा ठगीबाट जोगिएर किनमेल गर्न मुस्किल पर्छ । यदि दशैंका खाद्यवस्तु किनमेल गर्न जाँदै हुनुहुन्छ भने केही महत्वपूर्ण कुरामा ध्यान पुर्‍याउनुपर्छ । विशेषगरी मूल्य बढी लिने, मिसावटयुक्त र कम गुणस्तरका सामान बेच्ने, अस्वस्थ खाद्यान्न बेचेर ठगी गर्ने क्रम यो समयमा बढ्छ ।

यस्तो बेला उद्योगी व्यापारीहरुले खाद्यवस्तुमा मिसावट गर्ने प्रवृत्ति धेरै हुन्छ । जस्तो कि चामलको बोरामा मिल तथा उद्योगहरुले ढुंगा तथा काठलाई मेसिनमा काटेर चामल जस्तै रंग पोलिस गरी मिसाउने गरेका छन् । उपभोग्य म्याद सकिएको चामल पुनः हालेर पोलिस लगाई बिक्री गर्ने गरेको पाइन्छ ।

ब्यापारीले दूधमा पानी हाल्ने र नफाटोस् भन्नका लागि सोडा मिसावट गर्ने क्रम पनि दशैंमा बढ्छ । दूध उत्पादन गर्ने डेरी उद्योगले सरसफाईमा ध्यान नदिँदा कोलिर्फमका जिवाणुदेखि केमिकलसमेत मिसावट हुन्छ ।

दालमा पनि दालजस्तै अखाद्य वस्तु मिसावट हुन्छ । बेसारमा विभिन्न प्रकारका अन्नको पिठो मिसावट गरेको पाइन्छ । त्यस्तै खुर्सानीको धुलोमा इँटाको मसिनो कणहरु मिसावट गरिन्छ ।

दशैंका लागि केरा पनि कार्बाइड हालेर पकाइएको हो कि भन्ने विचार पुर्‍याउनुपर्छ । केरामा गरिने कार्बाइड प्रयोगबारे उपभोक्ता खासै सचेत छैनन्

मसलाको धुलोमा काठ चिर्दा निस्केको मसिना धुलो मिसाइन्छ । चियापत्तिमा पनि एकपटक प्रयोग गरिसकेको चियापत्ती पुनः सुकाएर प्रयोग गरिरहेको फेला पर्ने गरेको छ । तेलमा समेत मिसावट हुन्छ । तोरी तथा सनफ्लावरको तेलमा सस्तो भटमास र पामको तेलको मिसावट हुने गरेको छ ।

प्रायजसो खाद्य बस्तुमा अखाद्य वस्तु मिसावट भए नभएको थाहा पाउन उपभोक्ता नै सचेत हुुनुपर्छ । यस्तो मिसावट उपभोक्ताले हत्तपपत्ति थाहा पाउन मुस्किल पर्छ ।

आफूले नियमित किनमेल गर्ने स्थानमा गएर किन्दा मिसावटयुक्त सामग्री पर्ने सम्भावना कम हुन्छ । यदि मिसावट भएको पाइए फिर्ता गर्न पनि सजिलो हुन्छ । तर, बजारमा गएर विल्कुलै नयाँ पसलमा सामान किन्दा ठगिएमा पैसा मात्रै खेर जान्छ ।

दशैंमा कोसेलीका फलफूलको प्रयोग अनिवार्य नै हुन्छ । त्यसमा पनि स्याउ र केरा यो समयमा बढी किनमेल हुन्छ । तर, यी फलफूल किन्दा होस पुर्‍याइएन भने भने शरीरलाई नकारात्मक असर गर्न सक्छ । हेर्दा चम्किलो र खाउँ–खाउँ लाग्ने स्याउ किन्नुअघि केही कुरामा ध्यान दिनैपर्ने हुन्छ ।

चाडबाडका बेलामा बजारमा माग बढ्दा उपभोक्ताको स्वास्थ्य प्रतिकूल हुने विभिन्न किसिमका स्याउ बजारमा आएका हुन्छन् । दशैंमा भारतीय बजारबाट आएका चकलेटी र कास्मिरी स्याउ किन्दा अझ ध्यान दिनुपर्ने सुझाव छ विज्ञहरुको । त्यसमा अत्यधिक मात्रामा स्याकरिन मिसाइएको हुन सक्ने विज्ञहरु बताउँछन् ।

राष्ट्रिय उपभोक्ता मञ्च, नेपालका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार अत्यधिक मात्रामा स्याकरिन मिसाइएको स्याउ अस्वाभाविक रातो हुन्छ । विशेषगरी चकलेटी र काश्मिरी स्याउमा यस्तो गरिन्छ । नेपालमा उत्पादन गरिएका स्याउमा भने स्याकरिन प्रायः गरिँदैन । यस्तो स्याउ हेर्दा चम्किलो पनि हुन्छ । तर, यसलाई काट्दा गाढा रातो झोल पदार्थ निस्कन्छ । यस्तो स्याउ काट्नासाथ भित्री सेतो भागमा हल्का रातो रंग देखिन्छ । साथै यसमा अन्यमा भन्दा बढी रस (पानी) आउँछ । यो देख्दा आकर्षक मात्र हुँदैन, खाँदा उत्तिकै स्वादिलो र गुलियो पनि हुन्छ ।

स्याकरिन गरिएको स्याउ स्वभाविकभन्दा फरक प्रकृतिको हुन्छ । किन्ने समयमा काटेर हेर्दा नै यसलाई चिन्न सकिन्छ । त्यसैले चकलेटी स्याउ किन्दा एकपटक स्याउ काटेर हेरेर मात्रै किन्न सुझाव दिन्छन् उपभोक्ता अधिकारकर्मी महर्जन ।

बजारमा ‘वाक्स्ड’ स्याउहरु पनि भेटिन्छन् । विशेषगरी स्याउलाई चम्किलो देखाउन मैन लगायतका पदार्थ प्रयोग गर्ने गरिएको छ । चम्किलो स्याउमा सबैैको आँखा तुरुन्तै जाने भएकाले यो प्रकारको प्रविधि अपनाउने गरेको पाइन्छ ।

चम्किलो बनाउन मैन तथा मैनजन्य पदार्थको झोलमा स्याउलाई डुबाएर निकाली बजारमा पठाइन्छ । उपभोक्ता त्यसलाई देखेर आकर्षित हुन्छन् । तर, त्यसको अत्यधिक प्रयोगले प्रयोगकर्तालाई बेफाइदा गर्छ । ज्यादा चम्किलो स्याउ सकेसम्म किन्दै नकिन्नु बुद्धिमानी हुन्छ । स्याऊ किनेर घर लगेपछि हलुका तातोपानीमा डुबाउँदा मैन पग्लिएर छुटिन्छ । त्यसपछि भने स्याउ खानयोग्य हुन्छ । त्यसैले दशैंमा उपभोक्ताले स्याकरिन गरिएका वा वेक्स्ड गरिएका स्याउलाई पसलमै जाँच्न सक्छन् ।

खाद्यवस्तु किनमेल गर्दा उत्पादन मिति तथा उपभोग्य मिति हेर्न नबिर्सिनुस् । सेल, छुट सहितका अफरहरुको मौका छोप्नुस् । तर, सस्तो भेटियो भनेर कम गुणस्तरका सामान चाहिँ नकिन्नुस्

दशैंका लागि केरा पनि कार्बाइड हालेर पकाइएको हो कि भन्ने विचार पुर्‍याउनुपर्छ । केरामा गरिने कार्बाइड प्रयोगबारे उपभोक्ता खासै सचेत छैनन् । खासगरी धातुजन्य उद्योगहरुमा कार्बाइडको प्रयोग गरिन्छ । तर, यसको गलत प्रयोगले मानव स्वास्थ्य जोखिममा परेको छ ।

धातुजन्य वस्तु बिक्री गर्ने हार्डवेयर पसलहरुमा यो सहजै पाइन्छ । औद्योगिक सामग्रीका लागि भनेर आयात गरिएको काबाईड कतिपय फलफूल व्यापारीले केरा पकाउन प्रयोग गर्ने गरेका छन् । त्यसैले उपभोक्ता सचेत हुनुपर्ने अवस्था छ ।

मुसामा गरिएको एक अनुसन्धानले कार्वाइडको सेवनले फोक्सो र मिर्गौलामा धेरै नकारात्मक असर पर्छ । यसैले केरा छान्दा होस पु‍र्‍याउनुपर्ने हुन्छ । अहिले बजारमा पाइने केरामध्ये कुन विषादीयुक्त छ र स्वाभाविक तरीकाले पाकेको हो भनेर जान्न निकै आवश्यक छ ।

कालो–कालो दाग लागेको केरा नकिनेको खण्डमा मात्र पनि विषादीयुक्त केराबाट बच्न सकिन्छ । प्राकृतिक रुपमै पाकेको केरा सबैतिर एकनासको हुन्छ । रसायनरहित केरा भेट्नोबाट पाक्दै अर्थात् पहेलो हुँदै जान्छ । यस्ता केरा थिच्नासाथ लचिलो हुन्छ र एकनासले दबिन्छ ।

जबकी रसायन तथा विषाक्तयुक्त केरामा जताततै कालो–कालो थोप्ला देखिन्छ । यस्ता केरा कतै पुरै पाकेको तथा कतै काँचै रहन्छ । हरियो भए पनि सबैतिर हरियो रहँदैन । पहेँलो भएको ठाउँ थिच्नासाथ पिचिक्कै जान्छ । कुनै–कुनै केरा त एकातिर हरियो हुन्छ भने अर्को छेउ कुहिनै लागिसकेको हुन्छ ।

अझ अधिक मात्रामा औषधि प्रयोग गरिएको केरा हरियो हुँदै किन्दा समेत किनेको एक–दुई दिनभित्रै कुहिन सुरु गर्छ । यस्ता केराको बासना पनि कडा हुन्छ । कसै कसैलाई यसको कडा गन्धले वाकवाकी नै लाग्छ । केरा वा त्यसको भेट्नोमा अप्राकृतिक कालो दाग छ भने त्यसले कार्बाइड हालेको संकेत दिन्छ ।

हेर्दा पहेलो, खाउँ–खाउँ लाग्ने भएपनि विषधियुक्त केरा पनि छाम्दा अस्वभाविक र कम बासनादार हुन्छन् । त्यस्तो हुनुको कारण कार्बाइड हो कि भने शंका गर्नुपर्छ ।

खाद्यवस्तु किनमेल गर्दा उत्पादन मिति तथा उपभोग्य मिति हेर्न नबिर्सिनुस् । सेल, छुट सहितका अफरहरुको मौका छोप्नुस् । तर, सस्तो भेटियो भनेर कम गुणस्तरका सामान चाहिँ नकिन्नुस्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment