
२० असोज, सप्तरी । मुलुक दशैंको रौनकमा डुबिरहेको बेला शनिबार सिन्धुलीको सुनकोसी गाउँपालिका १ स्थित बीपी राजमार्गमा मिनी बस दुर्घटना भयो । सो दुर्घटनामा तीन जनाले ज्यान गुमाए ।
मृत्यू भएका तीन जनामध्ये एक थिइन्, राजविराज ७ निवासी २३ बर्षीया लक्ष्मी देव । दसैंका यात्रु लिएर काठमाडौंबाट सिराहा जाँदै गरेको बा ३ ख २३५९ नम्बरको मिनिबस काभ्रे र सिन्धुलीको सिमानामा दुम्जा नेपालथोक नजिक दुर्घटना भएको थियो । दशैं मनाउन घरतर्फ आइरहेकी लक्ष्मीको दुर्घटनामा ज्यान गएपछि परिवार शोकाकुल छन् ।
लक्ष्मी काठमाडौंमा इन्जिनियरिङ्ग तेस्रो बर्षमा अध्ययनरत थिइन् । देव परिवारले ५ बर्षअघि पनि दशैंमा नै अर्का एक जना सदस्य गुमाएको थियो । २०७२ सालको दशैंमा मृतक लक्ष्मीका दाजु जितेन्द्रनारायण देवको हत्या भएको थियो ।
२०७२ साल असोज ३० गते उनको शव बरहीबीरपुर गाविसको नहर छेउमा फेला परेको थियो । सीएमए पास गरेका देव रोजगारी नपाएपछि पसल चलाएर गुजारा गरिरहेका थिए । उनको २०७२ सालकै वैशाख १७ गते झापाको शिवगञ्ज निवासी विष्णुमाया देवसँग विवाह भएको थियो ।
पतिको वियोगमा बिष्णुमायाको पनि ज्यान गइसकेको छ । ५ बर्ष बित्दा पनि उनको हत्याको कारण खुल्न सकेको छैन भने हत्यारा पनि पक्राउ परेका छैनन् । छोराको मृत्यूको घाउ आलै रहेका बेला छोरीको पनिे दुर्घटनामा परी ज्यान जाँदा बाबुआमाले अर्काे बज्रपात सहनुपरेको छ ।
स्थानीय गणेशलाल भन्छन्, ‘बृद्व आमाबुवाको आँशु अझै थामिएको छैन । उनीहरु कसैसँग बोल्न समेत तयार छैनन् ।’
प्रतिक्रिया 4