Comments Add Comment

रोहिंग्या ट्रेल : म्यानमारदेखि काठमाडौंसम्म

२३ असोज, काठमाडौं । रोहिंग्या आप्रवासीको शिविर खोज्दै हामी काठमाडौंको कपनस्थित बालुवाखानीमा पुग्यौं । ठ्याक्कै शिविर पत्ता लगाउन नसकेपछि बाटो हिँडिरहेका एकजनालाई सोध्यौं, ‘दाइ, म्यानमारबाट आएका रोहिंग्या मुलसमानहरुको शिविर कता होला ?

प्रश्न नसकिँदै उनले प्रतिप्रश्न गरे, ‘म नै हुँ रोहिंग्या । किन होला ?’

जसलाई खोज्दै आएको, उनैलाई बाटोमा भेटेपछि के चाहियो र ! ‘हामी पत्रकार हौं, तपाईहरुसँग कुरा गर्नु छ’ भनेपछि उनले त्यहीँ बाटोमा एकै छिन कुर्न आग्रह गरे ।

नजिकैको पसलमा सामान किनेर फर्किएका उनलाई पछ्याउँदै हामी रोहिंग्या शिविरमा पुग्यौं ।

रोहिंग्या शरणार्थीहरु भिरालो जमीनमा एकैनासको लस्करै जस्ताको टहरो बनाएर बसेका रहेछन् । घाम नलाग्ने भिरालो जमीनमा एउटा टहरो र अर्को टहरो लस्करै जोडिएका थिए । स-साना कोठा, एउटै कोठामा ६ देखि ८ जनाको परिवार ।

म्यानमारबाट नेपाल आएका रोहिंग्या गैरकानुनी आप्रवासीहरु नमाज पढ्ने तयारी गर्दै थिए ।

छेवैमा पुगेर कुरा गर्न मात्र के खोजेका थियौं, त्यहाँ उभिएका मध्ये एकजनाले उल्टै हाम्रो खोजीनिती गर्न थाले । कहाँबाट आएको ? किन आएको ? इत्यादि प्रश्न तेर्साए ।

मिडियाबाट आएको भनेपछि ती व्यक्तिले परिचयपत्र देखाउन आग्रह गरे । उनले कार्ड यसरी हेरे कि मानौं हामी कुनै आतंककारी वा जासुस हौं ।

उनले सोधे, यो कार्डको फोटोकपी गर्न सक्छौं ?

हामी उनको पछिपछि जस्ताले बारेको टहरो छिचोल्दै एउटा कोठामा पुग्यौं । उनले श्रीमतीलाई मोवाइल ल्याउन आह्राए । मोवाइलमा कार्डको फोटो खिचे । त्यसपछि कुरा गर्न राजी भए ।

उनको नाम रहेछ मामत यास । म्यानमारमा जातीय द्वन्द्व सुरु हुन थालेपछि लेखेटिएका अल्पसंख्यक रोहिंग्या मुसलमानहरु कोही भारत गए, कोही नेपाल छिरे, कोही सीमानामा रहेको बगंलादेशतिर छिरे ।

विभिन्न देशमा छिर्ने क्रममा मामत यास पनि आफ्नो र परिवारको ज्यान जोगाउन म्यानमारबाट सन् २०१३ माघमा हिँडे । उनलाई थाहा थिएन, कहाँ पुगिन्छ भनेर । उनी भन्छन, ‘म्यानमारबाट हिँडेको ९ दिनपछि नेपाल आइपुगेको थिएँ । तर, म नेपाल आउँछु भनेर आएको पनि होइन, मलाई नेपालका बारेमा केही थाहा थिएन ।’

यास हिँडेर म्यानमारबाट २ दिनमा बगलादेश आइपुगे । थप अर्को दुई दिनमा भारत आइपुगे ।

उताबाट केही पनि नलिई आएका यासले भारतसम्म आइपुग्दा धेरै छाक मागेर खाएर काम चलाएको बताए । भारतमा कुकुरलाई खुवाउन राखेको भात खाएको उनले सुनाए ।

उनीसँगै परिवार पनि नेपाल र भारतको सीमानामा आइपुगेपछि कता जाने-जाने भयो । उनी भन्छन् ‘आफूलाई कहाँ जाने भनेर आफ्नो आखाँलाई जिम्मा दिएँ, आखाँले कता देखाउँछ, त्यतै हिँड्न थालेपछि नेपाल आइपुगेँ ।’

यासले बोर्डरमा आइपुगेपछि एकजना नेपालीलाई भेटे । ती नेपालीले उनलाई काठमाडौं जान सुझाए । ती नेपालीले काठमाडौंमा शणार्थीहरुलाई खाना बस्न दिने व्यवस्था छ भनेर राजधानी पठाइदिए । र, उनीहरु सपरिवार झापा हुँदै काठमाडौं आइपुगे ।

उनीहरुको यहाँ कोही आफन्त थिएनन् । उनी यहाँ आएपछि केही महिना कोठा भाडा लिएर बसे । पछि उनले यसअघि नै २०१२ मा म्यानमारबाट आएर बसेकाहरुको ठाउँ खोज्दै कपन पुगे ।

म्यानमारमा उनको पसल, घर, जग्गा जमिन सबै त्यहाँको सरकारले आगो लगाइदिएर खरानी बनाइदिएको उनी बताउँछन् । अहिले उनको घरको निसाना पनि छैन । उनी यहाँ आएदेखि आजसम्म फर्किएका छैनन् ।
अहिले मामत यास जस्तै म्यानमारबाट लेखेटिएका अन्य रोहिंग्याहरु काठमाण्डौंको बालुवाखानीमा टहरो हालेर बसिरहेका छन् ।

यासले आफूलाई काम गर्न गाह्रो भएको सुनाए । किन काम गर्न गाह्रो भयो भन्ने प्रश्नमा उनले यहाँका ठेकेदारले काम लगाएर पैसा नदिने गरेको गुनासो पोखे । रोहिंग्याहरु गरैकानुनी रुपमा बसेको भन्दै पैसा नदिई ठेकेदार भागेको उनले गुनासो गरे ।

यासले भने, ‘ठेकदारले काम लगाउँछ, तर पैसा दिने बेलामा भागेर जान्छ । स्थानीय प्रहरीमा उजुरी गर्न जादाँ उल्टै तपाईहरुले काम गर्न पाउनुहुँदैन, किन काम गरेको भन्दै गाली गर्छन् ।’

यास गुनासो गर्छन्, ‘तपाईहरुका नाममा भाँडाकुडाँदेखि रासनसम्म आउँछ भन्ने तर आजसम्म हामीले केही पाएको छैन । हामीलाई बाहिरको संस्थाले अलिअलि सहयोग गरेर चलिरहेको छ, काम गर्छु भन्दा पनि काम गर्न दिँदैनन् । परिवार ठूलो छ, खर्च पुर्‍याउन सकिँदैन ।

यासलाई म्यानमारको सरकारले नक्कली कार्ड दिएको रहेछ । म्यानमारमा मुस्लिम र हिन्दुलाईलाई सक्कली कार्ड कहिल्यै नदिइएको उनले सुनाए । रोहिंग्या मुसलमानलाई म्यानमारको नागरिक नमान्ने गरेकाले पनि उनीहरुलाई नक्कली कार्ड दिएको उनी बताउँछन् ।

यासलाई काठमाडौंमा बस्न मन छैन । उनी म्यानमारमा नेपालजस्तै शान्ति भइदिए आजै म्यानमार फर्किन चाहन्छन । उनी भन्छन् ‘म्यामार पहिलेजस्तै शान्त भए हामी यहाँ बस्दैनांै, छोराछोरी पनि उतै फर्किन चाहन्छन् । तर, फर्किने अवस्था छैन ।’

त्यही कारणले पनि हरेक दिन उनी अल्लाहलाई पुकार्छन् । उनलाई सबैभन्दा पीर आफैं देशमा र्फकन पाउँछु कि पाउदिनँ भन्ने चिन्ताले सताइरहन्छ ।

तर, याससँगै नेपाल आएकी उनकी सासूलाई भने उनको देश फर्किन मन छैन । उनी सम्झन पनि चाहन्नन् उनको देश, जहाँ उनले आफ्नी १३ बर्षकी छोरी गुमाएकी छिन ।

ज्वाइँ यासलाई भने सबै देशले म्यानमारलाई कुरा गरेर राम्रो भयो भने उनी आफ्नै देशमा पहिले जसरी नै बस्न मन छ ।

काठमाडौंमा शरणार्थी भएर बस्दा उनको ८ जनाको परिवारलाई बस्ने ठाउँ पुगेको छैन । उकुस-मुमुस छ । आम्दानी छैन । तर परिवार बढ्दै गएको छ । सानो ठाउँमा कोचिएर बस्न परेको छ । पानी परेपछि टहरोमा पुरै डुबाउँछ ।

यासको जस्तै समस्या छ, कपनमै बस्ने रोहिंग्या शणार्थी रहेद खुसनको पनि । उनी यहाँ बस्न थालेको ५ बर्ष भयो । उनी सन् २०१४ मा काठमाडौं आएका हुन् । रहेद आउँदा चारजनाको परिवार लिएर आएका थिए । यहाँ आएपछि २ बच्चा जन्मिए ।

रहेद पनि म्यानमारबाट भागेर आएदेखि एकचोटि पनि गएका छैनन् आफनो देश । जाने अवस्था पनि छैन । उनलाई म्यानमार सम्भिmयो कि भोक, तीर्खा केही लाग्दैन । त्यहाँ पाएको दुःख सम्झछन् । उनलाई नेपालमै सजिलो लाग्न थालेको छ, कमसेकम काम गरेर खान त पाएको उनी सुनाउँछन् ।

रहेद आधा नेपाली, आधा हिन्दी मिसाएर बोल्छन । उनको परिवारले भने म्यानमारकै भाषा बोल्छन् ।
रहेदले नेपाल आउँदा धेरै दुख पाए । भारतबाट नेपाल छिर्ने बेला त्यहाँका प्रहरीले पैसा मागे । उनीसँग पैसा थिएन । पैसा र पासपोर्ट नहुदाँ परिवारसहित भारतको कोलकाताको जेलमा २ बर्ष बसे ।

त्यसपछि नेपाल आएका उनी चार महिनासम्म कोठाभाडामा लिएर बसे । महंगीले उनलाई कोठामा धेरै टिक्न दिएन । त्यसपछि उनी सबै रोहिंग्या बसेको शिविरमा पुगे । हाल उनी साथीहरुसँगै बस्छन् । शरणार्थीलाई काम गर्ने अधिकार नभए पनि उनी घर बनाउने मिस्त्री काम गर्छन् ।

नेपालमा कहिले छिरे रोहिंग्या ?

म्यानमारमा सन् २०१० देखि जातीय द्वन्द्व सुरु हुन थालेपछि त्यहाँ रहेका अल्पसंख्यक मुस्लिम र हिन्दुहरुलाई लखेटियो । उनीहरु त्यसपछि नेपाल, भारत, बगंलादेश लगायतका देशमा जान थाले ।

नेपालमा भने सन् २०१२ देखि रोहिंग्या गैरकानुनी आप्रवासीहरु आउन थालेको बताइएको छ । गृह मन्त्रालयले भने उनीहरु धेरै पहिलेदेखि नेपाल छिरेको बताए पनि कुन सालमा छिरेको खुलाएको छैन ।

म्यानमारबाट लेखेटिएका रोहिंग्याहरु नेपाल, भारत, बंगलादेश लगायतका देशहरुमा शरण लिएर बसेका छन् ।
हाल बगंलादेशमा मात्रै १७ लाख रोहिंग्या शणार्थी बसिरहेका छन् । तर, नेपाल र भारतमा कति रोहिंग्या छन् भन्ने यकिन तथ्यांक छैन । सन् २०१२ देखि एक/दुई जना मात्र नेपाल आउन थालेको रोहिंग्या शणार्थी हाल काठमाडौंको कपनमा मात्रै करिब ६० परिवारका १६२ जना छन् । १०/१२ जना शणार्थी भने भारत र बगंलादेश फर्केका छन् ।

नेपाल सरकारबाट सहयोग छैन

कपनमा जग्गा भाडामा लिएर टहरो हालेर बसिरहेका रोहिंग्या आप्रवासीहरुले हालसम्म नेपालको सरकारी तहबाट कुनै पनि सहयोग नपाएको बताए । गैरसरकारी संस्थाको सहयोगले अहिलेसम्म जसोतसो गुजारा चलिरहेको उनीहरु बताउँछन् ।

हाल रोहिंग्या बसिरहेको टहरा सन् २०१५ मा २ बर्षको ४ लाख ८० हजार बुझाउने सर्तमा लिइएको हो । उनीहरुसँग अन्य कुनै कागजपत्र छैन ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी नेपालमा खुल्ला सीमानाका कारण सजिलै शरणार्थीहरु आउने गरेको बताउँछन् । रोहिंग्याहरु शणार्थी नभएर रोहिंग्या गैरकानुनी आप्रवासी भएको बताउँदै सुवेदी भन्छन्, ‘रोहिंग्याहरुलाई शणार्थी भन्न मिल्दैन । नेपाल सरकारले शणार्थीलाई कार्ड बनाउने गरेको छ । तर, रोहिंग्याहरु गैरकानुनी रुपमा नेपाल छिरेका हुन् ।

सुवेदीका अनुसार गैरकानुनीरुपमा बसोबास गर्नेलाई नेपाल सरकारले सहयोग गर्न सक्दैन । उनीहरुलाई अन्य मुलुकमा फर्काउन सरकारबाट पहल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment