Comments Add Comment

नेपाल–चीन व्यापार सहजीकरण गर्न वाणिज्य सचिवस्तरीय संयन्त्र बन्ने

२३ असोज, काठमाडौं । नेपाल र चीनबीच व्यापार सहजीकरण गर्न दुई देशका वाणिज्य सचिवस्तरीय संयन्त्र गठन हुने भएको छ । चिनीयाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा घोषणा हुन लागेको संयन्त्रको मस्यौदा मन्त्रिपरिषदमा पठाउने चरणमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालय स्रोतका अनुसार संयन्त्रको मस्यौदा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि दुई देशबीच हुने औपचारिक बार्तामा पेश गरिने छ । एक महिनाअघि नेपाल आएको चिनियाँ वाणिज्य सचिव नेतृत्वको प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिबीच यस्तो संयन्त्र गठन गर्नेबारे सहमति बनेको वाणिज्य मन्त्रालय स्रोतले बतायो ।

वाणिज्य व्यापारका सम्बन्धमा छलफल गर्न स्थायी संयन्त्र नहुंदा मुद्धाहरु प्रभावित हुने गरेको भन्दै दुवै देशले उच्चस्तरीय स्थायी संयन्त्र गठन गर्न आन्तरिक गृहकार्य थालेका थिए । संयन्त्र गठनपछि नेपाल र चीनबीचको बाणिज्य व्यापारका मुद्धाहरु उच्चस्तरीय एकल बिन्दुबाट हल हुने वाणिज्य मन्त्रालयको भनाइ छ ।

संयन्त्रमा कति सदस्य रहने र कार्यादेश के–के हुने भन्ने गोप्य राखिए पनि नेपालकातर्फबाट वाणिज्य सचिव र उनका चीनीयाँ समकक्षीले संयन्त्र गठनको समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । नेपाल र चीनबीच सचिवस्तरीय संयन्त्र यसअघि अर्थ मन्त्रालयसँग मात्रै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment