Comments Add Comment

चिनिया राष्ट्रपतिको विरोध गर्ने आशंकामा समाजवादी पार्टीकी नेतृ पक्राउ

२४ असोज, सप्तरी । यसअघि चीनका विदेशमन्त्री नेपाल आउँदा बिरोध प्रदर्शनमा सहभागी भएकी सत्तारुढ समाजवादी पार्टीकी एक नेतृ सप्तरीबाट पक्राउ परेकी छन् ।

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा प्रदर्शन गर्न सक्ने भन्दै प्रहरीले समाजवादी पार्टीकी नेतृ सुनीता साहलाई सप्तरी सदरमुकाम राजविराजबाट नियन्त्रणमा लिएको हो ।

अन्तरपार्टी महिला सञ्जाल सप्तरीकी अध्यक्ष समेत रहेकी साहलाई शुक्रबार राजविराज ६ स्थित उनको घरबाटै पक्राउ गरिएको छ । सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइँले महानगरीय प्रहरी वृत्त कमलपोखरीले गरेको पत्राचारको आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकी साहलाई काठमाडौं पठाइने उनले बताए ।

चीनका विदेशमन्त्री वाङ यी भदौको तेस्रो साता नेपाल आउँदा काठमाडौंस्थित चीनको दूतावास अगाडि भएको प्रदर्शनमा साह पनि सहभागी थिइन् । २३ भदौमा चीनका विदेश मन्त्री आउँदा विवाह गर्ने बहानामा नेपाली महिलालाई चीन लगेर दुव्र्यबहार गरिरहेको भन्दै प्रदर्शन गरिएको थियो ।

उक्त प्रदर्शनमा सहभागी साहसहित १० जनाबिरुद्व अभद्र व्यहारको मुद्दा चलाइएको थियो । सोही घटनालाई लिएर उनलाई पक्राउ गरिएको प्रहरीले जनाए पनि चीनका राष्ट्रपतिको भ्रमणको बेला प्रदर्शन गर्न सक्ने आशंकामा उनलाई पक्राउ गरिएको छ ।

पक्राउ परेकी साहले आफ्नो फेसबुकमा चीनका राष्ट्रपति नेपाल आउन लाग्दा नेपाल सरकारले गरिरहेको खर्चको विरोधसमेत गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment